झापामा कालोबजारी गर्ने व्यापारीलाई ११ हजार जरिवाना

0
610

भद्रपुर,

लकडाउनको समयमा तोकिएको भन्दा बढी मूल्यमा चोकर बिक्री गर्ने व्यापारी कारबाहीमा परेका छन्।

झापा जिल्ला बजार अनुगमन समितिले भद्रपुर नगरपालिका–६ झापाचोकस्थित गङ्गा भण्डारका सञ्चालक राजेन्द्र महतोलाई कारबाही गरेको हो। महतोले बजार मूल्यभन्दा बढीमा कृषकलाई चोकर बिक्री गर्दै आइरहेको भन्दै उजुरी परेपछि घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालय मेचीले किराना पसलका सञ्चालक महतोलाई छुट्टाछुट्टै कारबाही गरेको हो।

कृषक तथा स्थानीय उपभोक्ताबाट पटक पटक उक्त पसलको विषयमा मौखिक उजुरी आउने क्रम नरोकिएपछि झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको नेतृत्वमा गएका टोलीले शुक्रबार पसलको अनुगमन गरेको थियो।

अनुगमन टोलीले पसल सञ्चालक महतोलाई कारबाही गर्दै ११ हजार जरिवाना गरेको छ। महतोले लकडाउनअघि २१ सयदेखि २२ सयमा बिक्री गर्दै आइरहेको चोकर लकडाउनपछि ३०० देखि ४०० रुपैयाँसम्म बढी रकम लिएर बिक्री गर्दै आएको पाइएको छ। अनुगमन टोलीले पसलको आवश्यक कागजात हेर्न खोज्दा नदिएको सहायक प्रजिअ राईले बताए।

पसलले बिलबिजक जारी नगरेको र खरिदबिक्री खाता समेत नराखेको पाइएपछि आन्तरिक राजस्व कार्यालयले ६ हजार जरिवानासहित फेला परेका कागजात लगेको छ भने घरेलु तथा साना उद्योग कार्यालयले उपभोक्ता हित संरक्षण ऐन २०७५ बमोजिम ५ हजार जरिवाना गरेको सहायक प्रमुख जिल्ला अधिकारी राईले जानकारी दिए।

महतोले चोकर मात्र नभएर अन्य खाद्यान्न सामग्रीमा समेत बढी शुल्कमा बिक्री गर्दै आइरहेको छ। चिनी ९० र स्यानिटाइजर २१० मा बिक्री गरेको विषयमा केही दिनअघि भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले पसल सञ्चालक महतोलाई चेतावनी दिएका थिए। तर, सञ्चालकले मेयरको कुरा समेत अटेर गरी बढीमा रकम लिएर सामान बेच्दै आइरहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here