लक्ष्मी उप्रेती /मेचीनगर ।

सरकारले विश्वमा आतंककारुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न निर्देशन गरेको लकडाउनयता इलाका प्रहरी कार्यालय काँकरभिट्टामा रहेका १४ जना थुनुवा कारागार चलान भएका छन् ।
विभिन्न कसुरमा प्रहरीले पक्राउ परी अनुन्धान पश्चात झापा जिल्ला अदालतमा पेश गरेका उनीहरु झापा जिल्ला अदालतको आदेशमा कारागार चलान भएको कार्यालयको मुद्घा शाखाले जनाएको छ ।
कारागार चलान भएकामध्ये अधिकाँश लागुऔषधमा संलग्न रहेको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार १४ जना मध्ये एकजना ठगी मुद्घाका आरोपी हुन भने वाकी १३ जना लागुऔषधका कारोवारी हुन् । प्रहरी नायव उपरीक्षक पोखरेलका अनुसार ठगी मुद्घाका आरोपी भद्रपुर नगरपालिका वडा नम्बर १० मिलन चौक घर बताउने राजकुमार राउतसँग झापा जिल्ला अदालतले ६२ लाख ५० हजार धरौटी माग गरेको थियो ।
राउतले अदालतले माग गरेको धरौटी वापतको रकम बुझाउन नसक्दा झापा जिल्ला कारागार चलान भएका हुन् । जिल्ला सप्तरी साविक दौलतपुर गाविस १४ घर भई झापा बसाई सरी आएका र आफुलाई प्रदिप कार्की, राजन काफ्ले, दुर्गा कार्की, रामकुमार राउत नाम बताउने वर्ष ४६ का राजकुमार राउतलाई चैत ६ गते काँकरभिट्टा प्रहरीले मेचीनगरको काँकरभिट्टाबाट पक्राउ गरेको थियो ।
राउतले मेचीनगरका डाकबहादुर राईलगायत धुलावारी, विर्तामोड र भद्रपुरका विभिन्न १० जनालाई ५७ लाख ८६ हजार ठगी गरेको भनि जाहेरी दरखास्त इलाका प्रहरी कार्यालयमा परे पाि प्रहरी राउतलाई पक्राउ गरी अनुसन्धान पश्चात झापा जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले ५ बैशाखमा ६२ लाख ५० हजार धरौटी माग गर्दा उक्त रकम बुझाउन नसकेका कारण जेल चलान भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार राउत उपर मोरङ, सुनसरी, उदयपुरलगायतका विभिन्न जिल्लाहरुमा समेत मुद्घा दर्ता भएको हुँदा त्यसतर्फ पठाउने पहल भइरहेको कार्यालयले जनाएको छ ।
यसैगरी अनुसन्धान पश्चात लागुऔषध मुद्घाका १३ जनामध्ये १२ जना पुर्पक्षको लागि कारागार चलान बाकी १ जनाले झापा जिल्ला अदालतको आदेशले धरौटी खुले पनि बुझाउन नसक्दा थुनामा गएको कार्यालयले जनाएको छ । अहिले काँकरभिट्टाको प्रहरी हिरासतमा १२ जना थुनुवा रहेको र सवै लागुऔषध सम्बन्धिका रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो । सरकारले लकडाउन घोषणा गरेपछि अहिले विभिन्न ठाउँबाट लागुऔषध खरीद गर्न सीमानाका काँकरभिट्टामा आउने गरेको भएपनि अधिकाँश सेवनकर्ता पक्राउ पर्ने गरेको कार्यालयको मुद्घा शाखाले जनाएको छ ।
लागुऔषध एैन २०३३ मा लागुऔषध उत्पादन, भण्डार, बेचबिखन तथा ओसारपसारमा संलग्नलाई दुईबर्षदेखि १५ बर्षसम्म कैद वा दुईलाख रुपैयासम्म जरिवना तथा प्रयोगकर्तालाई एकमहिनाको कैद तथा दुईहजार रुपैया जरिवानाहुने वा सुधार केन्द्र पठाउन सकिने कानुनी व्यबस्था रहेको एक अनुसन्धान अधिकृतको भनाई छ ।































