दश स्थानीय तहका लागि तीन अर्ब बजेट

0
579

खोटाङ,

सङ्घीय सरकारबाट खोटाङका १० स्थानीय तहका लागि रु तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले गर्नुभएको बजेट भाषणअनुसार आर्थिक वर्ष २०७७÷०७८ का लागि समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी रु तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको हो ।

दश स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम बजेट बराहपोखरी गाउँपालिकाले पाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि रु ५८ करोड ८६ लाख, हलेसी तुवाचुङ नगरपालिकाका लागि रु ४१ करोड ३१ लाख, ऐसेलुखर्क गाउँपालिकाका लागि रु २९ करोड १५ लाख, केपिलासगढी गाउँपालिकाका लागि रु २४ करोड ४२ लाख र खोटेहाङ गाउँपालिका लागि रु ३२ करोड एक लाख बजेट प्राप्त भएको छ ।

यस्तै, जन्तेढुङ्गा गाउँपालिकाका लागि रु २५ करोड ९५ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका लागि रु ३१ करोड ९९ लाख, रावाबेँसी गाउँपालिकाका लागि रु २१ करोड ९५ लाख, बराहपोखरी गाउँपालिकाका लागि रु २० करोड दश लाख र साकेला गाउँपालिकाका लागि रु २० करोड २५ लाख अनुदान प्राप्त भएको छ । सङ्घीय सरकारबाट विनियोजित बजेटको सिलिङ रातो किताबमा प्रकाशन गर्ने तयारी भइरहेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी दिनुभयो ।

सांसद भट्टराईका अनुसार दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना, त्रिधार्मिकस्थल हलेसी, धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी, बहानेपोखरी, मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राजमार्गलगायतमा समेत बजेट विनियोजन भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ ।

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गरिने जलविद्युत् आयोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेपछि जिल्लावासी हर्षित भएका छन् । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना सफल पार्न खोटाङका रमेश पौडेलको संयोजकत्वमा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका प्रतिनिधि सम्मिलित सरोकार समाजसमेत गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here