तुलसीप्रसाद निरौला / विर्तामोड ।

तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदीबहिनी र दाजुभाइको आपसी मायाको चाडका रूपमा लिइन्छ । रक्षाबन्धनका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा कलात्मक राखी बाँधी दिर्घायू र सुस्वास्थ्यको कामना गर्ने गर्दछन् । तर, यसवर्ष विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणका कारण सरकारले लकडाउन गरेपछि धेरै दिदीबहिनीले आफ्ना दाजुभाइ भेट्न जान पाएनन् ।
कोरोना कहरले आफ्ना दाजुभाइ भेट्न जान नपाएपछि इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका दिदीबहिनीले पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाममा रहेको अर्जुनधारा संस्कृत वेदविद्यापिठमा अध्ययनरत् विद्यार्थीलाई दाजुभाइ मान्दै राखी बाँधेर रक्षाबन्धन मनाएका छन् ।
कोरोना कहरले भारत शिलगढीमा रहेका आफ्ना दाजुभाइ भेट्न जान नपाएपछि इनरह्वील क्लव अफ विर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशलले अर्जुनधारा संस्कृत वेदविद्यापिठमा अध्ययनरत् विद्यार्थीलाई दाजुभाइ मान्दै राखी बाँधेर रक्षाबन्धन मनाएको बताइन् । उनले भनिन्– ‘कोरोनाका कारण लकडाउन भएपछि भारत शिलगढीमा रहेका आफ्ना दाजुभाइ भेट्न जान पाएकी थिइन । तर, आज अर्जुनधारा संस्कृत वेदविद्यापिठमा अध्ययनरत् विद्यार्थीलाई नै दाजुभाइ मानेर उनीहरुलाई राखी बाँधिदिएको हूँ ।’
इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशल, चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेल, सेक्रेटरी सम्झना भण्डारी, मेम्वर कमला पौडेल लगायतले अर्जुनधारा संस्कृत वेदविद्यापिठमा अध्ययनरत् विद्यार्थीलाई राखी बाँधिदिएका थिए । उनीहरुले विद्यार्थीलाई मिठाई तथा खानेकुरा समेत खुवाएका थिए ।
भारतको आसाम, नेपालको ताप्लेजुङ, पाँचथर, खोटाङ, मोरङ, झापा लगायतका स्थानबाट अर्जुनधारा संस्कृत वेदविद्यापिठमा गुरुकुलिय शिक्षा अध्ययन गर्न आएका उनीहरु कोरोना कहरले आफ्ना दिदीबहिनी भेट्न नपाएर निराश भएको समयमा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका दिदीबहिनीले राखी बाँधी दिँदा हर्षित भएका थिए ।
अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्नि सिग्देलले दिदीबहिनी र दाजुभाइबीचको प्रेम तथा कुशल जीवनको कामनासँग जोडिएको रक्षाबन्धन दिदीबहिनीको हातबाट दाजुभाइले राखी लगाउने रितीरिवाज सदियौंदेखि नैं चल्दै आएको बताउँदै इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका दिदीबहिनीले अर्जुनधारा संस्कृत वेदविद्यापिठमा अध्ययनरत् विद्यार्थीहरुलाई नै दाजुभाइ मानेर राखी बाँधिदिएर यस पर्वको गरिमा बढाएको बताए ।






























