पूर्व प्रअ बरालको स्मृतिमा बाटिका निर्माण तथा पुष्प रोपण

0
992

झापा ।

पशुपति मावि पूर्व विद्यार्थी समाजले पूर्व प्रधानाध्यापक स्वं. टेकबहादुर बरालको ९औँ पुण्य स्मृतिमा फूलबारी निर्माण तथा पुष्प रोपण कार्यक्रम सम्पन्न गरेको छ ।

मेचीनगर नगरपालिका वडा नं ४ स्थित पशुपति माविका पूर्व विद्यार्थीहरुले आइतबार विद्यालयमा स्व.बरालको पुण्य स्मृति तथा विद्यालयको स्थापना दिवसको अवसर पारेर उक्त कार्यक्रम गरेको हो । हरेक वर्ष पूर्व विद्यार्थी समाजले माघ २५ कै दिन विविध कार्यक्रम गरी पूर्व प्रधानाध्यपकलाई सम्झिने गर्दै आएको छ । ९ वर्ष अघि स्वं टेकबहादुर बरालको सडक दुर्घटनामा परी निधन भएको थियो । आफ्नो कार्यकालमा पूर्व प्रअकै कारण विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार तथा अतिरिक्त क्रियाकलाप आदिमा राम्रो अवस्था रही विभिन्न क्षेत्रबाट विद्यालय पुरस्कृत समेत भएको थियो ।

शिक्षा कर्ममा मात्र नभई सामाजिक कार्यमा समेत बरालको भुमिका महत्वका साथ हेरिने गरिएको छ । सोही स्वभावका आफ्ना प्रअ गुमाएको कालो दिनको रुपमा पूर्व विद्यार्थीहरुले हरेक माघ २५ गते विभिन्न गतिविधि गर्ने गरेको पाइएको छ । पूर्व विद्यार्थी समाजले अघिल्लो वर्ष विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति, पुरस्कार साथै सम्मानको कार्यक्रम गर्ने गरेको भएपनि यसपाली कोभिड १९ का कारण त्यस्तो नगरिएको पूर्व विद्यार्थी समाजकी अध्यक्ष तथा कार्यक्रमकी सभापति स्वस्तिका आचार्यले बताईन । पूर्व प्रअ विद्यालयको शैक्षिक गुणस्तरको साथसाथै सँधै फूलबारीमा व्यस्त रही सुन्दर बँगैचा निमार्णमा खटिरहने भएका कारण पनि यस वर्ष स्व. बरालको सम्झनामा फूलबारी निर्माण गरिएको आचार्यले बताइन ।

औपचारिक रुपमा कार्यक्रम गर्दै आगामी दिनमा स्व. शिक्षकको शालिक निर्माण गर्ने घोषणा समेत पूर्व विद्यार्थी समाजले गरेको छ । विद्यालयको शैक्षिक गुणस्तरमा आँफूहरुको चासो भएको बताउदै पूर्व विद्यार्थीहरुले आउदाँ दिनहरुमा त्यसतर्फ समेत कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पूर्व विद्यार्थी तथा सोही वडाका अध्यक्ष नविन बरालको प्रमूख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सगरमाथा टिन्स क्लबका अध्यक्ष शुदेश राई, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तथा पूर्व शिक्षिक एवम् स्व. बरालकी श्रीमती मेनुका बराल, प्रधानाध्यपक लक्ष्मण प्रधान लगायतले मन्तव्य राखेका थिए । पूर्व विद्याथी समाजका उपाध्यक्ष समिर राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सहसचिव शिशिर चम्लागाईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here