बिर्तामोड ।
नारी कल्याण समाज झापाको आयोजना तथा गुड नेवर्स ईन्टरनेश्नल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कचनकवल गाउँपालिकाको १० वटा विद्यालयहरुमा ‘रेजिलेन्ट स्कुल फर इम्प्रुभ्ड लर्निङ’ परियोजना सञ्चालन भइरहेको छ ।

‘रेजिलेन्ट स्कुल फर इम्प्रुभ्ड लर्निङ’ परियोजना अन्तर्गत कचनकवल –५ को जानकी आधारभूत बिद्यालयमा अत्याधुनिक भवन र सेनिटरी प्याड सहितको महिला तथा अपाङ्गमैत्री शौचालय , कचनकवल –४ को महेन्द्ररत्न माविमा सेनिटरी प्याड सहितको महिला तथा अपाङ्गमैत्री शौचालय, कचनकवल – १ को बुद्ध माविमा सेनिटरी प्याड सहितको महिला तथा अपाङ्गमैत्री शौचालय निर्माण भइरहेको नारी कल्याण समाज झापाकी अध्यक्ष प्रेमा भट्टराईले जानकारी दिइन् ।
त्यस्तै शिव मावि, मोती मावि, लक्ष्मी मावि, जनता मावि, र सरस्वती आधारभूत बिद्यालयमा शौचालय मर्मत तथा स्वच्छ खानेपानीको व्यवस्थापन , जानकी मावि र लक्ष्मीप्रसाद देवकोटा माविमा स्वच्छ खानेपानी व्यवस्थापनको काम समेत भइरहेको उनले जानकारी दिइन् ।
उक्त परियोजना सञ्चालनका लागि एक करोड ३९ लाख रुपैयाँको लागतमा १० वटै बिद्यालयमा स्वच्छ खानेपानी सहित भौतिक संरचना निर्माण भइरहेको उनले जानकारी दिइन् ।
यसैबीच ‘रेजिलेन्ट स्कुल फर इम्प्रुभ्ड लर्निङ’ परियोजना सञ्चालन भइरहेका १० वटा बिद्यालयका प्रधानाध्यापक , शिक्षक , विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र बिद्यार्थीका लागि ६ दिने क्षमता अभिबृद्धि तालिम आइतबारबाट शुरु भएको छ ।
नारी कल्याण समाज झापाकी संस्थापक अध्यक्ष कमला उप्रेतीको अध्यक्षता तथा प्रदेश सांसद बशन्त बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नारी कल्याण समाजका कार्यक्रम अधिकृत बाबुराम पौडेलले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद बानियाँले प्रदेश सरकारका तर्पmबाट संस्थाले गरेको कार्यमा सहयोग गर्ने बताए ।
कार्यक्रममा कचनकवल –६ का वडाध्यक्ष कुलबहादुर कार्की, कचनकवल – ४ कि वडासदस्य मुस्तक कोमा खातुन , सामाजिक व्यक्तित्व नवराज खरेल महेन्द्ररत्न माविका मोहनप्रसाद सिंह राजवंशी लगायतले नारी कल्याण समाज झापाले गरेको कार्यको प्रशंसा गरेका थिए ।
आगामी फागुन १३ गतेसम्म सञ्चालन हुने तालिमको सहजीकरण कचनकवल गाउँपालिका स्वास्थ्य शाखाका महेश नेपाल, स्मृति पाण्डेलगायतले गरिरहेका छन् ।
कार्यक्रमको सञ्चालन नारी कल्याण समाज झापाकी अध्यक्ष प्रेमा भट्टराईले गरेकी थिइन् ।






























