युवाशक्ति र म्यानपावर

0
1065

नेपालमा वैदेशिक रोजगारीको प्रारम्भ ब्रिटिस–इण्डिया कम्पनीसँगको सुगौली सन्धिपछि भएको मानिन्छ । सो सन्धिपछि युद्धमा नेपाली सेनाले देखाएको सौर्य, साहस र वीरताबाट प्रभावित भई ब्रिटिस सेनामा भर्ती थालेदेखि नेपाली विदेशी भूमिमा जान थालेको क्रम आज नेपाली युवा शक्तिको एकमात्र गन्तव्य वैदेशिक रोजगारी बन्न थालेको छ । त्यसयता भारतीय सेना र सुरक्षागार्डमा जान थालेका नेपाली युवा आजका दिनसम्म आइपुग्दा कूल संख्याको छप्पन्न प्रतिशत विदेशी भूमिमा पसिना र रगत बगाइरहेका छन् । पछिल्लो समय एसिया, युरोप मात्र होइन मानव जाति रहेको सबै महादेशहरुमा नेपाली पुगिसकेका छन् । निर्वाहदेखि भौतिक सुखको आवश्यकताले दैनिक सत्र सय युवा वैध बाटोबाट विदेश गइरहेका छन् भने भारत हुँदै अवैध ढंगले विदेश जानेहरुको कुनै तथ्यांक नै छैन ।

आर्थिक अभाव, वेरोजगारी, राजनीतिक अस्थिरता, शिक्षित जनसंख्याको उचित व्यवस्थापन नहुनु, विदेश मोह र भूमण्डलीकरण जस्ता कारणले युवाहरुलाई विदेश जानुपर्ने बाध्यता प¥यो । सक्रिय र ऊर्जाशील शक्ति विदेश पलायन हुँदा सरकारलाई रोजगारी वृद्धि गर्न पूर्वाधार निर्माण गर्नुभन्दा विदेश यात्राको बाटो सहज गर्नु सुविधाजनक लागेका कारणले यसले जन्माएका समस्या आज विकराल बन्दै गएका छन् । माओवादीको दश वर्षे सशस्त्र द्वन्द्वले वैदेशिक रोजगारीको क्रम झनै बढेर गयो र परिणाम ग्रामीण क्षेत्रहरुमा निस्क्रिय जनसंख्या मात्र रहन पुगे । यद्यपि वैदेशिक रोजगारीबाट सिप र प्रविधि स्वदेश भित्रिएको छ ।

यसलाई अवसरका रुपमा लिएर म्यानपावर कम्पनीहरुले अवैध ढंगले कार्यालय स्थापना गरी ठगी गरिरहेको घटना पनि सार्वजनिक भइरहेका छन् । राजधानीमा मुख्य कार्यालय रहेको भन्दै जिल्ला र शहरहरुमा खोलिएका शाखा कार्यालयहरुबाट युवाहरु ठगिएको भन्दै वैदेशिक रोजगार विभागको टोलीले समय–समयमा अनुगमन पनि गर्दैछ । यसैक्रममा विभागले बिर्तामोडमा बुधबार अनुगमन गरेर अनधिकृत रुपमा सञ्चालित म्यानपावर कार्यालयमा छापा मार्दै सिल गरेको छ । विभागले अनुमगन गर्न थालेको सुइँको पाएका त्यस्ता कार्यालयहरुले कार्यालय बन्दी गरेर भागेको बताइएको छ । यति मात्रले वैदेशिक रोजगारीको नाममा भइरहेको ठगीको दीर्घकालीन समाधान हुँदैन । बरु त्यसका लागि देशमै रोजगारी सृजना गर्ने वातावरण मिलाउनु पर्छ । हामीसँग भएका सम्भावनाहरुको पहिचान, पूर्वाधार निर्माण गर्दै सिकेको सिप र प्रविधिको उपयोग गर्ने वातावरण बनाइनु पर्दछ । वैदेशिक रोजगारीले आज परिवार विखण्डित हुँदैछ, अज्ञानतावस ज्यान गुमाउनु पर्दैछ भन्ने हेक्का राखेर परनिर्भरता घटाउने र सक्रिय जनशक्तिलाई स्वदेशमै व्यवस्थापन गराउने कार्यक्रम ल्याउन जरुरी छ । यसले मात्र खाद्यमै परनिर्भर नेपाली जीवनलाई लयमा फर्काउन सकिन्छ र मुलुकको समृद्धिमा सहयोगी बन्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here