अस्पताल डुलाउँदा–डुलाउँदै संक्रमितको मृत्य

३० बैशाख २०७८, बिहीबार मा प्रकाशित

पार्थ मण्डल
झापा, कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै झापामा अक्सिजनको अभावमा देखिन थालेको छ । अक्सिजन अभावकै कारण भद्रपुरमा एक जना कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाउनु परेको छ ।

संक्रमित बिरामीका लागि भद्रपुर नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्समा अक्सिजन नहुँदा भद्रपुर–४ मन्त्री बस्ती निवासी ४८ वर्षीय अनुप राजवंशीले अकालमै ज्यान गुमाउनु परेको छ । उनको मेची कोभिड उपचार केन्द्र भद्रपुरमा मङ्गलवार दिउँसो साढे ४ मृत्यु भएको हो । एक साताअघि संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । मङ्गलवार विहान १० बजे एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि नगरपालिकाद्वारा सञ्चालित मे१च ३८० नम्बरको एम्बुलेन्स बोलाएको उनका भाइ सञ्जीव राजवंशीले बताए ।

नगरपालिकाको एम्बुलेन्स त बोलाइयो, तर एम्बुलेन्समा अक्सिजन सिलिन्डर नै थिएन– उनले भने– त्यही पनि एम्बुलेन्समा राखेर दाजुलाई तत्काल उपचारका लागि वीएण्डसी अस्पताल बिर्तामोड लगियो ।’ उनले भने– ‘बिएण्डसीमा भर्नाका लागि दुई लाख अग्रिम जम्मा गर्नुपर्छ भनेपछि दाजुलाई त्यहाँ भर्ना गर्न सकेनौँ, त्यसपछि पुनः दाजुलाई भद्रपुर फर्काएर मेची अस्पताल लिएर आयौँ ।’ मेची कोभिड उपचार केन्द्रमा भर्ना गरे लगत्तै दाजुको मृत्यु भयो– उनले भने । ‘दाजुलाई श्वासप्रश्वासमा समस्या देखियो, एम्बुलेन्समा अक्सिजन भएको भए दाजु बाँच्नु हुन्थ्यो, तर एम्बुलेन्समा अक्सिजन नहुनु र अस्पतालले तत्काल भर्ना नलिनुले एम्बुलेन्समा डुलाउँदा–डुलाउँदै दाजुलाई गुमाउनु प¥यो’– उनले पूर्वाञ्चलकर्मीलाई पीडा सुनाए ।

नगरपालिकाका मेयर साबले एउटा एम्बुलेन्स सञ्चालन गर्दा समेत अक्सिजन नराख्नु बिडम्बना भएको बताउँदै उनले भने– ‘अक्सिजन बिनाको एम्बुलेन्स चलाउनुभन्दा थन्क्याएर राख्नु उचित हुन्छ, यस्तो समस्या अरू कसैले भोग्नु नपरोस् ।’ नेपाल–भारत मैत्री संघले २०५८ सालमा भद्रपुर नगरपालिकालाई यही मे१च ३८० एम्बुलेन्स सहयोग गरेको थियो । लामो समयसम्म एम्बुलेन्स बिग्रिएर थन्किएपछि नगरपालिकाले त्यो एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी झापा शाखालाई केही वर्षअघि मात्र हस्तान्तरण गरेको थियो । रेडक्रसले पनि केही समय कुदाएर त्यो एम्बुलेन्स त्यत्तिकै थन्क्याएर राखेको थियो । पुनः नगरपालिकाले केही दिनअघि त्यो एम्बुलेन्स झिकाएको र मर्मत सम्भार गरी अहिले प्रयोगमा ल्याएको नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

नगर प्रहरीले परिवारका सदस्यलाई पहिलै भनेका थिए, नगरपालिकाको एम्बुलेन्समा अक्सिजन सिलिन्डर छैन भनेर– मेयर श्रेष्ठले भने– परिवारकै माग बमोजिम एम्बुलेन्स पठाएको र एम्बुलेन्सले वीएण्डसी अस्पताल पु¥यायो । ‘बीएण्डसीमा भर्ना हुन नसक्नु र फेरि भद्रपुर फर्काएर ल्याउनुले बिरामीलाई समस्या भएकै हो– उनले भने । ‘एम्बुलेन्स बनाएर ल्याएपछि अक्सिजन सिलिन्डरका लागि नगरपालिकाको तर्फबाट मैले नै सिडिओसाबसँग पाँच वटा सिलिन्डर माग गरेको थिएँ’– उनले भने– ‘जिल्लामै अक्सिजन सिलिन्डरको खोजी भइरहेकोले केही ढिलासँगै समस्या उत्पन्न भएकै हो, सिडिओसाबको सहकार्यमा आज एउटा अक्सिजन सिलिन्डर मगाएका छौँ, अब त्यो नगरपालिकाकै एम्बुलेन्समा प्रयोग गरिन्छ ।’

संक्रमित बिरामीका ओसारपसारका लागि नगरपालिकासँग एम्बुलेन्स नहुँदा रेडक्रसलाई दिएको एम्बुलेन्स फेरि ल्याएको उनको भनाइ । झापामा आज सात जनाको मृत्यु कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा झापामा सात जनाको मृत्यु भएको छ । पछिल्लोपटक मृत्यु हुनेहरूमा मेचीनगरका तीन, भद्रपुरका दुई, बिर्तामोड र कचनकवलका एक–एक जना रहेका छन् । बिर्तामोड–१की ५३ वर्षीया महिलाको बुधवार बिहान वीएण्डसी हस्पिटलमा मृत्यु भएको हो । उपचारका क्रममा ती महिलाको बिहान २ बजे मृत्यु भएको थियो ।

त्यस्तै मेचीनगर–६का ५६ वर्षीय पुरुषको बुधवार दिउँसो बिर्ता सिटी हस्पिटलमा मृत्यु भएको छ । उनलाई वैशाख २६ गते अस्पतालमा भर्ना गरिएको थियो । मेचीनगरको एउटै वडामा दुई जना स्थानीयको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–१०का ३९ बर्षीया राजवंशी समुदायकी महिला र ६६ वर्षीय पुरुष रहेका छन् । मङ्गलवार बेलुका साढे सात बजे महिलाको मेची अस्पताल भद्रपुरमा र पुरुषको राति ९ बजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारकै क्रममा मृत्यु भएको हो । त्यसैगरी भद्रपुर–९की ८८ वर्षीया वृद्धाको होम आइसोलेसनमा मृत्यु भएको छ । त्यस्तै भद्रपुर–४ बस्ने ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । संक्रमित ती पुरुषको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । त्यस्तै बुधवार बिहान कचनकवल–५का एक कोरोना संक्रमित वृद्धको मेची अस्पतालमा मृत्यु भएको छ ।

राजवंशी समुदायका ७० वर्षीय वृद्धको उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६६ पुगेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here