बिर्तामोड , झापा बिर्तामोड–२ चारपानेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीको दोस्रो लहरमा सदस्यहरुलाई स्वास्थ्यकर्मीको परामर्शसहित पोषणयुक्त सामाग्री वितरण गर्ने अभियान शुरु गरेको छ ।
संस्थाले प्रदेश नं. १ का ६ जिल्ला तथा संस्थाको कार्यक्षेत्र रहेका स्थानमा कोरोना संक्रमित सदस्यहरुका लागि अभियान शुरु गरेको संस्थाका स्वास्थ्य युनिट प्रमुख भक्त खड्काले जानकारी दिए । जेठ ४ गतेदेखि शुरु गरेको अभियानले ७ गतेसम्ममा ३ सय ७ जना कोरोना संक्रमित विरामीको घर–घरमा गएर स्वास्थ्य मनोवैज्ञानिक परामर्श र पोषणयुक्त सामाग्री प्रदान गरेको उनले बताए । त्यसैगरी सहारा नेपाल साकोस लक्ष्मीपुर सेवा केन्द्र अन्र्तगत ७ जनाको घर–घरमै स्वास्थ्यकर्मीसहित गएर स्वास्थ्य परामर्श तथा पोषणयुक्त सामाग्री प्रदान गरेको सेवा केन्द्र प्रमुख उमेश भारतीले बताए । ‘डाक्टरको सल्लाह अनुसार स्वास्थ्यकर्मीले विरामीको घर–घरमा गएर स्वास्थ्य मनोवैज्ञानिक परामर्श दिदै छन्’ सेवा केन्द्र प्रमुख भारतीले भने ‘साथै पोषणयुक्त सामाग्री दिइरहेका छौ ।’
पोषणयुक्त सामाग्री अन्र्तगत औषधिको प्याकेज, आयुर्वेदिक जडीबुटीका प्याकेज, घरेलु वनस्पति तथा मसलाहरु, मह, काजु, किसमिस, ओखर, खजुर, च्याउको मिक्स सुपलगायतका ३ हजार रुपैयाँ वरावरको सामाग्री वितरण गरिएको प्रमुख भारतीले बताए । कोरोना भाइरस महामारी रहुञ्जेल अभियानलाई निरन्तरता दिने उनले बताए । स्वास्थ्यका मापदण्ड पूरा गर्दै परामर्श र सामाग्री वितरण गरिएको थियो ।






























