चिया मजदुर नेताहरु भन्छन् :कामविहीनलाई राहत र काममा जानेलाई खोप देऊ

२३ जेष्ठ २०७८, आईतवार मा प्रकाशित

बिर्तामोड ।

चिया मजदुरहरुको समस्या समाधानमा सरोकारवालाहरु गम्भीर बन्नु पर्नेमा सम्वद्ध मजदुर नेताहरुले जोड दिएका छन् । कोरोना महामारीका बेला धेरै मजदुर कामविहीन भएको, काममा भएकाहरु पनि जीवन जोखिममा राखेर त्रासकाबीच काम गरिरहेको भन्दै मजदुर नेताहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।

सम्वाद समूह झापाको संयोजनमा आइतवार भएको भर्चुअल छलफलमा मजदुर नेताहरुले सरकार चिया मजदृुरको पक्षमा उभिन नसकेको भन्दै गुनासो गरे । चिया बगान र उद्योगमा न्यूनतम् स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुन नसकेको भन्दै उनीहरुले त्यसका लागि व्यवस्थान पक्षको ध्यानाकपर्षण गराएका छन् । चिया बगान तथा उद्योगको तत्काल अनुगमनका लागि उनीहरुले राजनीतिक दल तथा जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् ।

मजदुर नेताहरुले अहिले कामविहीन भएका मजदुरहरुलाई तत्काल राहतको व्यवस्था गर्न र जोखिमपूर्ण अवस्थामा काम गरिरहेका मजदुरलाई तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । कोरोनाका कारण अहिले टोकला, मित्तल र गुप्ता चिया बगानका ११५० बढी मजदुर कामविहीन भएको बताइएको छ । उनीहरुका लागि तत्काल राहतको व्यवस्थ ागर्न माग गरिएको छ ।

त्यस्तै कोरोना संक्रमित मजदुरको निःशुल्क उपचार तथा संक्रमित भई मृत्यु भएका मजदुर परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि आग्रह गरिएको छ । मजदुर नेताहरुले चिया क्षेत्रमा सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा जोड दिएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षामा सबै चिया श्रमिकलाई सुचिकृत गरिए मजदुरका अधिकांश समस्या समाधान हुने उनीहरुको भनाइ छ । श्रम ऐन २०७४ कार्यान्वयनको समेत समस्या देखिएको उनीहरुको भनाइ छ ।

सरोकारवालाबीच सहमति भए बमोजिम श्रमिकको वृद्धि भएको ज्याला तत्काल कार्यान्वयन गर्न मजदुर नेताहरुले आग्रह गरेका छन् । नेपाल चिया उत्पादक संघ सम्वद्ध उद्योगहरुले सहमति कार्यान्वयन गरे पनि अन्य उद्योगले आनाकानी गरेकाले सबै उद्योगलाई उक्त सहमति कार्यान्वयन गर्न आग्रह गरिएको छ । श्रमिक र उत्पादकहरुबीच सहमति भएका विषयहरुलाई राजपत्रमा प्रकाशित गरी ऐन बनाउन मजदुर नेताहरुले सुझाव दिएका छन् ।

आफ्ना अल्पकालीन र दीर्घकालीन मागहरु समाधान नभए संघर्षमा उत्रने उनीहरुले बताएका छन् । छलफलमा अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश नं. १ का अध्यक्ष भूपाल सापकोटा, नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) का प्रदेश नं. १ उपाध्यक्ष सन्त राई, नेपाल टे«ड युनियन कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, टे«ड युनियन महासंघ नेपाल (टुकोन) का प्रदेश नं. १ अध्यक्ष हर्क थुङ्गिमले सरकारले मजदृुरको हितमा काम गर्न नसकेको भन्दै तत्काल आफ्ना समस्या सम्बोधनका लागि आग्रह गरेका छन् ।

नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटा, चिया श्रमिक संगठनका अध्यक्ष कर्ण खातीले चिया मजदुरका समस्या तत्काल सम्बोधन नगरे संघर्षमा उत्रने बताएका छन् । छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here