विद्यालयलाई बुझाउनुपर्ने रकम नबुझाए अब जग्गा छाड्नुपर्ने: नगरभित्रका सार्वजनिक सम्पतिको संरक्षण नगरपालिकाले गर्नुपर्नेमा जोड

३ असार २०७८, बिहीबार मा प्रकाशित

मेचीनगर,

मेचीनगर नगरपालिकाक्षेत्रभित्र रहेका विभिन्न विद्यालयको जग्गा भोगचलन गरिरहेका व्यक्तिहरुले तत्काल सम्बन्धित विद्यालयलाई बुझाउनुपर्ने रकम बुझाउन तथा रकम नबुझाए ती व्यक्तिलाई भोगचलन गर्न नदिने र ती व्यक्तिले विनाशर्त जग्गा छाड्नुपर्ने मेचीनगरमा विहीबार आयोजित सर्वपक्षिय भेलाले निर्णय गरेको छ । भेलाले नगरभित्रका सार्वजनिक सम्पतिको संरक्षण नगरपालिकाले गर्नुपर्नेमा जोड दिइएको छ ।

मेचीनगर—८ मा रहेको आदर्श माध्यमिक विद्यालय र मेची विद्योदय प्राथमिक विद्यालयको नाममा दर्ता कायम रहेको जग्गा धेरै वर्षअघिदेखि विभिन्न किसानले भोगचलन गरिरहेको भएपनि उनीहरुले विद्यालयलाई बुझाउनुपर्ने रकम नबुझाएको गुनासो सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले छलफलमा राखेपछि भेलाले यस्तो निर्णय गरेको हो ।

नगरभित्र रहेका विभिन्न विद्यालयको नाममा दर्ता कायम रहेका जोतभोग गरिरहेका किसानहरुलाई सम्बन्धित विद्यालयको भोगचलन गरेको जग्गाको तत्काल कुत बुझाउनु पर्ने र विद्यालयलाई बुझाउनुपर्ने कुत नबुझाएसम्म हाल भोग चलन गरीरहेको जग्गा तत्कालै भोग चलन गर्न नदिने निर्णय भएको छलफलमा सहभागी नेपाली काँग्रेसका मेचीनगर उपसभापति सुरेन्द्र बुडाथोकीले जानकारी दिनुभयो ।

मेचीनगर—८ मा रहेको आदर्श माध्यमिक विद्यालयको ६ विगाह जग्गामा प्रारम्भिक अवस्थामा बायोप्लान्ट निर्माणको लागि योजना सञ्चालन गर्ने क्रममा निर्माण व्यवसायी नियुक्त भई निर्माण कार्य प्रारम्भ गर्दा विद्यालयको जग्गा भोगचलन गरिरहेका किसानहरुबाट निर्माण कार्यमा अवरोध सिर्जना भएको र विभिन्न समयमा पटक पटक छलफल भएपनि अन्तिम टुङ्गोमा पुग्न सकेको थिएन् ।

मेचीनगर नगरप्रमुख विमल आचार्यको संयोजकत्वमा सम्पन्न भएको छलफलमा सहभागीहरुले समस्याको दीर्घकालिनरुपमा टुङ्गोमा पुग्ने निष्कर्श निकाल्नुपर्ने बताएका थिए । आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन पोखरेल र मेची विद्योदय प्राथमिक विद्यालयका शिक्षक टंकप्रसाद अधिकारीले विद्यालयको संयौ जग्गा किसानहरुले भोगचलन गरे पनि विद्यालयसँग गरेको सम्झौता अनुसारको रकम नबुझाएको गुनासो गरे पछि छलफल उनीहरुले तत्काल विद्यालयलाई शर्त अनुसार रकम बुझाउनुपर्ने नभए जग्गा छाड्नुपर्ने निष्कर्शमा पुगेको बताइएको छ ।

‘विद्यालयको जग्गा अहिलेसम्म धेरै किसानले जोतभोग गरिरहनु भएको छ ’ आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले भन्नुभयो—‘उहाँहरुले न अहिलेसम्म विद्यालयलाई बुझाउनुपर्ने रकम बुझाउनु भएको छ, न विद्यालयले छलफलका लागि पत्रचार गर्दा नै आउनुहुन्छ ।’ विद्यालयको जग्गालाई आफ्नै जस्तो गरी धेरै वर्षअघिदेखि किसानले भोगचलन गरे पनि रकम भने नबुझाएको मेची विद्योदय प्राथमिक विद्यालयका शिक्षक टंकप्रसाद अधिकारीको भनाई छ ।

आदर्श माविको ६ विगाह र मेची विद्योदय प्राथमिक विद्यालयको ११ विगाह जग्गाको व्यवस्थापन गरेर भोगचलन गरिरहेका व्यक्तिहरुको समस्या समाधान गर्ने र योजना स्थलका लागि ३ विगाह जग्गा योजना सञ्चालनका लागि भेलाले एनु भटट्राईको संयोजकत्वमा ११ सदस्यीय जग्गा व्यस्थापन समिति निर्माण गरेको छ ।

समितिको सहसंयोजकमा मेचीनगर नगरकार्यपालिका सदस्य एवम् पूर्वाधार विकास समिति संयोजक कृष्ण कनाल तथा सदस्यहरुमा विष्णुलाल गिरी, रविन्सन थापा,अर्जुन पोखरेल, पवन मेचे, शेरबहादुर बुडाथोकी, उत्तम गिरी, अग्निमाया मेचे, महेन्द्र लावती र दीपक थापा रहनु भएको छ । मेचीनगर वडानम्बर ३ का वडाध्यक्ष हर्क बस्नेत संयोजक र वडानम्बर ८ का वडाध्यक्ष विकेन्द्र धिमाल सहसंयोजक रहेको ७ सदस्यीय सल्लाहकार समित समेत भेलाले गठन गरेको छ ।

समितिको सदस्यहरुमा नेकपा एमालेका विष्णु भटट्राई, नेपाली काँग्रेसका गिरीराज धमला, नेकपा माओवादी केन्द्रका इन्द्र सुब्बा, जनता समाजवादी पार्टीका लोकबहादुर लिम्बु र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द ओली रहनुभएको छ । जग्गा व्यवस्थापन समितिले असार ६ गतेभित्रमा सम्पूर्ण जग्गाको व्यवस्थापन गरी योजना सञ्चालनाक लाष् िसहज वातावरण तयार गर्नुपर्ने निष्कर्श भेलाले गरेको छ ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले भेलामा सहभागीहरुलाई बायोग्यासका बारेमा जानकारी गराउनुभएको थियो । भेलामा नेपाली काँग्रेस मेचीनगर उपसभापति सुरेन्द्र बुडाथोकी, नेकपा एमालेका ८ नम्बर वडा अध्यक्ष विष्णु भट्टराई, नेकपा माओवादी केन्द्रका राजु दाहाल, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील आचार्य, विभिन्न वडाका वडाध्यक्ष, विभिन्न विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका अध्यक्ष, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक सुनिल दाहाललगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here