बुधबारे ।

झापा बुद्धशान्ति १ को त्रिभुवन माविलाई अक्षयकाेष र सिसिक्यामेरा जडानका लागि ३ लाख तथा बुधबारे जेसीजको सचिवालय भवन निर्माणका ५० हजार, बेलडाँगी शिविरमा आगलागी हुँदा ३० हजार, दमकका एक प्यारालाइसिसका बिरामीलाई ५ हजार गरि अमेरिकाबाट ३ लाख ८५ हजार रूपैयाँ सहयाेग प्राप्त भएको छ ।
तेस्रो मुलुक पुनर्बास हुनुभएका नेपालीभाषी भुटानीहरूले संचालन गरेको फेसबुक पेजबाट संचालित बसिबियाँलाे कार्यक्रममा संकलन भएको नगदबाट साे सहयाेग भएकाे हाे ।
बसिबियाँलाे कार्यक्रम गोपाल निरौला र पुरूर्षाेत्तम निरौलाले प्रत्येक शनिवार नेपाली समयानुसार बेलुका ठिक ८ बजेबाट विगत एक बर्षदेखि संचालन गरिरहनु भएको छ।
साे कार्यक्रममा सहयोग गर्नु भएका सहयोगीहरुबाट संकलन भएको रकम प्रदान गरिएको बसिबियाँलाे कार्यक्रम संचालक गोपाल निरौलाले जानकारी दिनुभयो ।
ढेड दशक बढी समय बुद्धशान्तिमा रहेको कर्णाली एजुकेशन फाउन्डेसनमा शिक्षण पेशा गर्नुभएका गोपाल निरौला र उहाँका भाइ पुरूर्षाेत्तम निरौलाले सन्चालन गर्ने सो कार्यक्रममा गायन, कविता, गजल, हाजिरी जवाफ, अन्तर्वार्ता लगायतका सामग्री प्रस्तुत गरिने गरिएकाे छ ।
लामो समय नेपाललाई कर्म थलो बनाउनु भएका उहाँहरुले नेपालीहरूलाई विभिन्न समयमा सहयोग गर्दै आउनु भएको छ । अक्षयकोष र सिसा क्यामेरा जडानका लागि महत्त्वपूर्ण सहयोग गर्नु भएकोमा त्रिभुवन माविका ब्यवस्थापन समिति अध्यक्ष पवन तिम्सिनाले बिद्यालयका तर्फबाट सहयाेगी सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ भने बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले पनि कार्यक्रम संचालक सहित सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।































