बढ्दो अपराध

२५ भाद्र २०७८, शुक्रबार मा प्रकाशित
  • 586
  •  
  •  
  •  
  •  
  •  
    586
    Shares

यही भदौ २१ गते संखुवासभाको मादी नगरपालिकामा भएको सामुहिक नरसंहारको घटना क्रुरताको पराकाष्ठा हो । नेपाली पनि यतिसम्म क्रुर हुन सक्दा रहेछन् यो हत्याले प्रमाणित गरेको छ । सात वर्षीया बालिकादेखि चौरासी वर्षीया वृद्धासम्मको विभत्स नरसंहारले अपराध मनोवृत्ति बढेको भन्न असजिलो पनि भएन । त्यसो त प्रत्येक दिन अपराधका सूचना र समाचार अखबार र बिद्युतीय सञ्चारमाध्यममा प्रकाशन र प्रशारण भइरहेकै हुन्छन् । तर, एकै परिवारको यस्तो सामुहिक हत्या भने बुद्धको देश र शान्तिप्रिय जातिका लागि भने लज्जाको विषय हो । राजनीतिको बर्को ओढाएर विगतमा व्यक्ति हत्याका घटना भएका छन् । इतिहासको कालखण्डमा भएका झापा काण्ड होस् वा जनयुद्धका नाममा हजारौं निहत्था मानिसको हत्या भएका घटना सबै अमानवीय र अपराधिक हुन् । जीवन त्यत्ति सस्तो छैन जो कसैको सनक वा स्वार्थमा खोस्न पाइन्छ । त्यही कारण नियम, कानून र संविधान निर्माण गरिन्छ र जसले मानिसको बाँच्न पाउने अधिकारको सम्मान गर्दै रक्षा गर्ने प्रतिबद्धता जनाउँछ ।

हिंसा र हत्याले कसैको क्रुर मानसिकताको तुष्टि होला । तर, एकदिन अपराधको घैंटो फुट्छ नै । संखुवासभाको चौरासी वर्षीया वृद्धा पार्वता कार्की, उनका छोरा तेजबहादुर, बुहारी कमला, नातिनी बुहारी रञ्जना, पनाति एघार वर्षीय दीपेन र पनातिनी सात वर्षीया गोमाको जसरी हत्या भएको छ त्यसले नेपालको कानूनमा मृत्युदण्डको आवश्यकताप्रति सोच्न बाध्य तुल्याएको छ शायद । यही व्यवस्था नभएकैले होला अपराधिक घटनाको सृंखला उकालो लाग्दैछ । राणा शासन उदयकालको कोतपर्वलाई समेत बिर्साउने यो हत्याकाण्डको अनुसन्धान गर्न प्रहरीले सम्पूर्ण विधि, प्रविधि र शक्ति प्रयोग गरेको छ । तर, कारण र हत्याराको पहिचान गर्न सकिरहेको छैन । यद्यपि अनुसन्धान जारी छ र वास्तविकता ढीलोचाँडो सार्वजनिक हुन्छ । मुटु हल्लाउने यो अपराधको अनुसन्धानमा स्थानीय प्रहरीका अतिरिक्त संघीय प्रहरी इकाई कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) समेतको संलग्नता रहेको छ ।

खेतीकिसानी गरेर जीविकोपार्जन गर्ने सामान्य अवस्थाका कार्की परिवारमा भएको हृदयविदारक यो हत्याकाण्डको कारण खुलेको छैन । मृतक सबैको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि अन्त्येष्टि पनि भइसकेको छ । अहिलेसम्म हत्याकाण्डका पछि आर्थिक कारोबार वा व्यक्तिगत रिसइबी पनि प्रमाणित हुन सकेको छैन । त्यसैले अत्यन्त संदीग्ध रहेको मादी नरसंहारको वास्तविकता नेपाल प्रहरीका लागि चुनौति बनिएको छ । ‘चोर पल्किन्छ कि’ प्रहरीको सतर्कता खोजेको छ यो घटनाले । सँगसँगै शान्तिका पुजारी भनिने नेपालीको मनलाई यति कठोर, रक्तपिपासु र निर्मम कसले र किन बनायो अनुसन्धान गर्ने विषय भएको छ । हत्याराले कतिबेला, कुन अपराधका लागि ती अबोध बालकहरूको ज्यान लिए यो झन् धेरै मर्मान्त र खोजीको विषय बनिएको छ । व्यक्ति हत्या जस्तो जघन्य अपराधका दोषी तत्काल पक्राउ पर्नु पर्छ । हत्यारा प्रमाणित भएका सबै अपराधी हुन् र ती सबैलाई कुनै नाममा संरक्षण दिइनु हुन्न । अझ मादी घटनाका अभियुक्तलाई तत्काल मृत्युदण्ड नै दिएर जनतामा जीवन रक्षाको प्रत्याभूति दिलाउनु पर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here