कोभिड हराएको छैन

२८ मंसिर २०७८, मंगलवार मा प्रकाशित

विश्वमा फैलिरहेको कोभिडको नयाँ उत्परिवर्तित स्वरुप नेपालमा पनि देखिसकिएको छ । सर्वप्रथम दुईजनामा पहिचान भएको ओमिक्रोन नाम दिइएको भाइरसलाई अरु फैलिन नदिन सरकारी स्तरबाट सचेतनासँगै खोप कार्यक्रमलाई पनि जोड दिँदै आइएको छ । यद्यपि नयाँ प्रजातिको उक्त भाइरसबाट मृत्यु नै भएको तथ्यांक भने सार्वजनिक भएको छैन । तर, अनुसन्धान नभइसकेका कारण त्यसले पार्ने भौतिक तथा शारीरिक क्षतिबाट जोगिन भने आम मानिसले सावधानी अपनाउनु नै पर्छ । अझ हामी खुल्ला सीमाना भएको, तीनतिरबाट भारतले घेरिएको र आवागमन पनि निर्वाध हुने कारणले संक्रमणको उच्च जोखिममा छौं । त्यसमा पनि भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका बिरामी धेरै भेटिन थालेकोले सरकार र जनस्तरबाट उच्च सतर्कता अपनाउन ढिला गर्नुहुँदैन ।

कोभिडको नयाँ स्वरुप ओमिक्रोनबाट नेपाली जनतालाई सुरक्षित राख्ने दायित्व स्वास्थ्य मन्त्रालय, सरकार तथा स्थानीय पालिकाहरुको हो । त्यही जिम्मेवारीबोध गरेर सरकारले दीर्घरोगी तथा साठी वर्ष उमेर पुगेका जोखिम वर्गका आम नेपालीलाई ‘बुस्टर डोज’का रुपमा खोप दिन शुरु गरेको छ । यसै मेसोमा प्रदेश १ सरकार पनि कोभिड संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्यको पूर्व तयारीमा जुटेको छ । यसअघि नै कोभिड विशेष अस्पताल सञ्चालन गर्दै आवश्यक सतर्कता, सावधानी र उपचार गरिसकेको अनुभवबाट सिक्दै सीमा क्षेत्रमा हेल्थ डेस्क, स्क्रीनिङ तथा एन्टिजेन परीक्षण लगायतका सेवा प्रारम्भ गरिसकेको सामाजिक विकासमन्त्री जयराम यादवले जानकारी दिएका छन् ।

‘रोग लाग्नै नदिनु उत्तम उपाय हो’ भन्ने चिकित्सा विज्ञानको मन्त्रलाई आत्मसात गरियो भने यो र यस्ता भाइरसजन्य विरामीबाट बच्न सकिन्छ । हिउँदको मौसम भएकाले चिसोजन्य रोगहरुको विस्तारका लागि यो समय अनुकूल हुन्छ । उसको अनुकूलता भनेको हाम्रा लागि प्रतिकूलता र जोखिम दुबै हो । ‘मै हुँ’ भन्ने देशलाई समेत कायल पारेको कोभिडको नयाँ स्वरुपले हाम्रो स्वास्थ्य र जीवनमा चुनौति त छदैछ क्षति नगरोस् भन्नका लागि सावधानी मात्रै निर्विकल्प उपाय हो । त्यसका लागि सरसफाईदेखि मास्क लगाउने, भीडभाडमा नजाने र जीवनलाई सहजरुपमा अघि बढाउनेतर्फ हाम्रो गम्भीर ध्यान जानुपर्छ । सरकारले पनि विश्वले सञ्चालन गर्न थालेको बुस्टर मात्रासँगै खोप लगाउन छुटेकाहरुलाई निरन्तर खोप अभियानमा जोड्दै जानुपर्छ । बितेका दुई वर्षका कठोर, नमीठो र पीडादायी भोगाइबाट सिकेर अबको यात्रा सुरक्षित गर्दै लानुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here