भोजनका लागि भजन सन्ध्याबाट रकम सङ्कलन

२५ पुष २०७८, आईतवार मा प्रकाशित

गण्डकी,

पोखराको छोरेपाटनस्थित मानवसेवा आश्रमका लागि रु पाँच लाख ५० हजार सहयोग प्राप्त भएको छ । आकाशलाई छानो र धर्तीलाई विछ्याउना बनाउन बाध्य सडक मानवलाई उद्धार गर्ने लक्ष्यका साथ आश्रम निर्माण गरिएको थियो । आश्रममा आश्रितको भोजनका लागि भजन सन्ध्या कार्यक्रमबाट रु पाँच लाख ५० हजार सङ्कलन गरिएकोे हो ।
कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रमा आवद्ध ३० जनाले खानाका लागि उक्त रकम दिएका थिए । तीमध्ये पूर्वमन्त्री हरि पाण्डेलले रु एक लाख ४२ हजार, सिका शेरचन र विष्णु गुरुङले जनही रु एक लाख ११ हजार १११, गोरख जैसवालले रु ३५ हजार पाँचसय, सोनिया गुरुङले भवन निर्माणका लागि रु पचास हजार सहयोग गर्नुभएको थियो ।

विसं २०७४ चैत १७ मा तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारी, आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र पोखरा आश्रमका संरक्षक डा गोविन्द टण्डनले सहरका विभिन्न स्थानमा कष्टकरजीवन बिताउन बाध्य २३ जनालाई प्रवेश गराएर सेवा सञ्चालन गरिएको आश्रममा हाल १५० जना छन् ।आश्रममा आश्रितकोे एक छाक खानाका लागि रु १५ हजार ५००, विशेष खानाका लागि रु २२ हजार ५०० र एक दिनको खानाका लागि रु ३५ हजार ५०० जम्मा गर्नुपर्ने व्यवस्था गरिएको आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।

भजन सन्ध्या शुभारम्भ गर्नुभएका गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सडकमा कष्टकर जीवन बिताउन बाध्य मानवको सेवामा समर्पित यस आश्रमले राज्यले गर्नुपर्ने दायित्व निर्वाह गरेको बताउनुभयो । संविधानले व्यवस्था गरेको जनताका मौलिक अधिकार रक्षाका लागि राज्यले नै पहल गर्नुपर्नेमा जोड दिँदै उहाँले विकास निर्माणसँगै नागरिकका आधारभूत आवश्यकता पूरा गर्न तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङले यो प्रदेश सडक मानवमुक्त प्रदेश घोषणा भइसकेकाले अब यसको निरन्तरताका लागि सबैको साथ र सहयोग आवश्यकपर्ने बताउनुभयो ।उहाँले आश्रममा आश्रित १५० जनाको स्वास्थ्य बीमा प्रदेश सरकारले गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

विजयपुरस्थित नेपाली सेना मध्यकमाण्डका सेनापति बाबुराम श्रेष्ठले जन्मदाता र जन्मभूमिको कर्तव्यप्रति जिम्मेवार हुने खालको नैतिक शिक्षा आवश्यक भएको बताउनुभयो । गण्डकी विश्वविद्यालयका सल्लाहाकार प्रा डा मेधिनिप्रसाद भण्डारीले मानवसेवाजस्तो धर्म अरु कुनै नहुने बताउँदै राष्ट्र निर्माणमा यस आश्रमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

आश्रमका परिकल्पनाकार रामजी अधिकारीले एक दशकको अवधिमा संस्थाले छ हजार ३७२ जनालाई सेवा प्रदान गरेकामा दुई हजार ४५९जनाको पारिवारिक पुनःमिलन भएको, एक हजार ७१७ उपचारपछि स्वेच्छाले घर फर्केको, ३६२लाई पुनरस्थापन गरिएको, १७२ जनालाई पुनःउद्धार गरेर ल्याइएको र ६४८ जनाको निधन भएको र हाल आश्रित एक हजार ५६७ जना रहेको जानकारी दिनुभयो ।

विसं २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त राष्ट्रघोषण गर्ने अभियान संस्थाले लिएको बताउँदै अध्यक्ष अधिकारीले पोखरा–२५स्थित हेमजामा लगभग रु २० करोडको लागतमा सुविधा सम्पन्न आश्रम निर्माण गर्न लागिएको र यसका लागि सहयोग गर्न सबैसँग अनुरोध गर्नुभयो ।मुलुकका सतै प्रदेशअन्तर्गत १७ कार्यालय र २४ शाखामार्पmत उद्धारको कार्य भइरहेको बताउँदै उहाँले यस संस्थाले दातृराष्ट्रको कुनै पनि सहयोग नलिइ आन्तरिक रुपमै समस्या समाधान गर्दै आएको बताउनुभयो ।

बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवलाई उद्धार गरी उपचार पश्चात आश्रममा राख्ने र आयआर्जनमा समेत लगाउने गर्दै आइएको छ ।गण्डकी प्रदेशसभा सचिव हरिराम पोखरेल, संस्थाका उषा गोशली, आश्रमका प्रमुख होमनाथ तिमिल्सिना, राजन सापकोटालगायतले संस्थाले निर्वाह गरेको खेलेको भूमिका बारे चर्चा गर्नुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here