
संसदीय व्यवस्थाको अन्त्य र जनवादी गणतन्त्रको स्थापनाको मूल नारासहित २०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी)ले जनयुद्धका शंखघोष गरेको थियो । मुलुकको मूलधारबाट अलगथलग पारिएकाहरू, वञ्चितिमा परेकाहरू अल्पसंख्यक, सर्वहारा, गरीब, मजदुर, किसानको पक्षमा उभिने कसम खाँदै अघि बढ्दा माओवादी जनताको मनमनमा बस्न सफल भएको थियो । ग्रामीण इलाका कब्जा गर्दै आधार इलाका निर्माण गर्ने र अन्त्यमा गाउँले शहर घेर्ने चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङको नक्कल गर्दै शुरु गरिएको जनयुद्ध आंशिक सफलतासहित समापन भइसकेको छ । आज सो जनयुद्धको नेतृत्व गर्ने सबैजसो नेताहरूले जनयुद्धको लाइन परित्याग गरेर कोही आफैंले सत्तोसराप गरेको बहुदलीय संसदीय व्यवस्था त कसैले शहरी जनविद्रोहको बाटो अपनाइसकेका छन् । जनयुद्धको नेतृत्व गर्ने पार्टी नेकपा (माओवादी) आज टुक्रा–टुक्रामा विभक्त भएको छ ।
हुन त नेपाली कम्युनिष्टहरुको इतिहासको मुख्य पाटो विभाजनका पानाहरूले भरिएका छन् । कम्युनिष्टका सम्बन्धमा विभाजन र बिग्रहको मात्र समाचार लेखिरहनु, सुनिरहनु र पढिरहनुपर्नेमा त्यसको ठीक उल्टो नेपालमा दुई धारका कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तीन वर्षअघि सहकार्य, कार्यगत एकता हुँदै पार्टी एकता भएको कुरा आज इतिहासको विषय भएको छ । मिलेका विषयमा साझा कार्यक्रम बनाएर विमति र बेमेलका विषयलाई साँगुरो बनाउँदै अन्त्यमा पार्टी एकता गर्ने उद्देश्यका साथ कार्यगत एकता गरिएको थियो । माओवादी केन्द्र, एमाले, माले, नेमकिपासहित सबै कम्युनिष्ट पार्टीहरू समावेश गरेर कम्युनिष्ट केन्द्र निर्माण गर्नुपर्छ भन्ने बहसको क्रममा माओवादी केन्द्र र एमाले मिलेर नेकपाको जन्म भएको थियो ।
सन्दर्भ : जनयुद्ध दिवस
कतिपय बुज्रुकहरू सबै कम्युनिष्ट पार्टीहरू मिल्नुपर्छ भनेर भन्नु आदर्शवादी कुरा हो र यो बुद्धिबिलाश मात्र हो पनि भनिरहेका छन् । नेपालमा सबै कम्युनिष्टहरूको एकता कहल्यिै सम्भव हुँदैन भनेर विश्वास गर्नेको ठूलो संख्या छ नेपालमा । नेकपा माओवादी आज विभक्त भएर प्रचण्ड, मोहन बैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल, गोपाल किराँती, नेत्रविक्रम चन्द, विश्वभक्त दुलाल आहुति लगायतका नेतृत्व छरफस्ट भएका छन् । नेकपा माओवादी केन्द्रको कुरा गर्ने हो भने पुष्पकमल दाहाल प्रचण्डलाई देवत्वकरण गरेर गुटगत र व्यक्तिगत स्वार्थ पुरा गर्ने प्रवृत्ति हुर्कदो छ त्यो पार्टीमा ।

पार्र्टीभित्रका गलत संस्कार र संस्कृतिका विरुद्धमा आफ्नै टाउकोमा आगो झोस्न पुष्पकमल दाहाल तयार हुन सक्छन् भनेर पूर्णरुपमा विश्वास गर्न सकिँदैन । नेतृत्वले अवसरवाद र जनघाती बाटो त्यागेर स्वच्छ छवि र जनतामा भिजेर काम गर्न सक्नेमा आशा र विश्वास गर्न त्यति सहज छैन । यसको मूल कारण प्रचण्डलाई ‘विश्वका महान नेता’ भनेर भजनगान गर्ने र युग अनुरूप विचार सिद्धान्तको विकास गर्न मेहनत गर्नुभन्दा सम्पूर्ण जिममेवारी प्रचण्डको काँधमा हालिदिने प्रवृत्तिले माओवादी केन्द्रलाई उन्नतितर्फ र विकासतिर होइन, अवरुद्धतातर्फ धकेल्छ । नेकपा निर्माण गर्दा पनि विचार तथा सिद्धान्त मिले मात्र एकता सम्भव हुने स्पष्ट धारणा रहेकोमा छिटो–छिटो पूरा तयार नगरिकन पार्टी एकता गर्ने काम भयो र आज त्यो एकता भंग भएको छ ।
मोहन बैद्य र विप्लवको कुरा गर्दा क्रान्तिको रक्षाको नाममा क्रान्तिका लोभलाग्दा नाराहरु लिएर अघि बढेको मान्दैमा क्रान्ति सफल हुँदैन । शहरी विद्रोह कि जनयुद्ध, बहुदलीय व्यवस्था कि एकदलीय व्यवस्था त्यति स्पष्ट छैन । पार्टीको चिन्तन र कार्यशैली पनि जनयुद्धको ह्याङ्ओभरबाट मुक्त छैन र सबैमा पद प्रतिष्ठाप्रतिको मोहले ग्रस्त बनाएको छ । दर्जनौं तर्कहरु र सैद्धान्तिक अडानले मात्र मुलुक सही दिशामा अघि बढ्न सक्दैन । क्रान्तिको रक्षा गर्ने पवित्र उद्देश्यको नाममा अबका दिनमा उग्र गतिविधिहरु सञ्चालन गर्ने कुराले अन्ततः जनयुद्धको पुनरावृत्तितर्फ इंगित गर्दछ । जनयुद्ध र जनान्दोलनका शहीद र उनीहरुका परिवारको लागि केही गर्न नसकिरहेको अवस्थामा क्रान्तिका नाममा बन्दूक पड्काएर फेरि एउटा लामो शहीदको सूची बनाउनु क्रान्ति होइन । आफैंले सञ्चालन गरेका पेचिला संघर्ष र युद्धबाट प्राप्त उपलब्धीलाई नजरअन्दाज गरेर देश र जनताको विनाशको बाटोमा लाग्नु फेरि अर्को भुल हुन्छ ।
एक्काइसौं शताब्दीको आवश्यकता अनुरुप भावी कार्यक्रम बनाउन सकियो भने मात्र मुलुकले सही दिशा पाउने हो । रक्तमुच्छेल दश वर्षे जनयुद्धको उपलब्धीको लेखाजोखा हुन गर्न नसकी वा गर्न नचाहेकै कारणले आजको अप्ठेरो परिस्थिति आएको हो माओवादीहरुका लागि । पन्ध्रौं हजार शहीदहरुको बलिदान, हजारौंको बेपत्ता स्थिति र गोलीका छर्रा बोकेका घाइते अपाङ्ग र लाखौं नेपालीहरुको त्याग तपस्याबाट प्राप्त आजको उपलब्धीलाई बुझ्न नसक्दा र सोही अनुरूप आफ्ना कृयाकलाप सञ्चालन गर्न नसक्दा उनीहरु राष्ट्रिय राजनीतिमा कमजोर स्थितिमा पुगेका हुन् ।
संसारमा कम्युनिष्टप्रतिको विश्वास उड्दै गएको आजको परिवेश हो । यस्तो अवस्थामा जनताबाट अलग्गिएर पार्टी संगठन बनाउने हो र जनताका दैनिक दुःखकष्टलाई बेवास्ता गर्ने हो भने जनताले सो पार्टीलाई कसरी विश्वास गर्न सक्छन् र ! जनताका माझमा स्थापित हुन जनशैली चाहिन्छ । समाज बद्लिएको छ, तर माओवादी लगायतका कम्युनिष्ट पार्टीका आधारभूत कार्यक्रम, शैली र ढाँचा उही छन् । मध्यम तथा निम्न वर्गीय जनताहरु समस्याका कहर काटिरहेका छन् । उनीहरुका लागि पृथ्वीको भू–स्वर्ग मानिने यही मुलुक नरक भएको छ, पीडा र आँशुमा उनीहरु बाँचिरहेका छन् । सैद्धान्तिक शुद्धतामा पूरा विश्वास गर्ने, पार्टीभित्रको फरक मतलाई नसहने र पुरानै ढाँचा र ढर्राबाट क्रान्ति सम्पन्न गर्ने कार्यदिशा पक्डेर अघि बढ्न मुश्किल छ नेपालका कम्युनिष्टका लागि । आफ्ना कमीकम्जोरीलाई आत्मसात गरी जनताका बीचमा गई काम नगर्ने हो भने वर्षौंवर्षसम्म क्रान्तिकारी कम्युनिष्टहरुले नेपालमा धक्का खान्छन् ।
नेपालका पार्टीहरूमा एकता, सहकार्य र सहमतिभन्दा पनि बेमेल र अनेकता बढी प्रबल रूपमा पाइन्छ । नेपालका कम्युनिष्टहरूमा यथार्थवादी हुनुभन्दा कोरा आदर्शवादी हुने, नक्कली राष्ट्रवादी हुने, पाखण्डी जनवादी हुने प्रवृत्ति हावी छ । व्यक्तिगत स्वार्थ र गुटगत संकीर्णता नेपाली कम्युनिष्टहरूको मूल रोग हो । जडसूत्रमा रमाउने र जनताको जीवनमा परिवर्तन ल्याउने व्यावहारिक कार्यनीति, कार्ययोजना र कार्यक्रम बनाउने र इमान्दारीसँग ती नीति तथा कार्यक्रमलाई लागू गर्ने कुरामा नेपाली कम्युनिष्टहरू हिच्किचाहट देखाउने मूल समस्या हो । नेपालका कम्युनिष्टहरूमा बोल्ने एउटा र गर्ने अर्कै प्रवृत्ति छ । एकताको हल्ला फिँजाएर एकताको पक्षमा रहेका कार्यकर्ता र जनतालाई भ्रमित पार्ने कुरा पटक–पटक दोहारिरहन्छ । विचार र कार्यदिशाको एजेण्डामाथि छलफल गरी एकताबद्धरुपमा समयको मागलाई समेत मध्यनजर गर्दै पार्टी एकता नगरेर भावनामा बगेर, पूर्ण तयारी नगरी एकता गर्ने र फुट्ने कुरा पटक पटक दोहोरिरहेका छन् । एकता स्वार्थकेन्द्रित हुने भएकाले स्वार्थको एकता भंग हुनु स्वभाविक मान्न सकिन्छ ।
क्रान्तिका सपना बाँडेर क्रान्ति पूरा हुँदैन । बन्दूक पड्काउँदैमा र हतियार उठाउँदैमा दाम्रिएको पेट भरिँदैन र चाउरिएको गालामा क्रान्तिका लाली चढ्दैन । जनताबाट टाढिदै जाँदा जनता विकल्पविहीन बनेर माओवादीको विरुद्धमा उभिएको यथार्थलाई बुझेर नेपाली जनताका आशा र अपेक्षाहरुलाई सम्बोधन गर्न क्रान्तिका पक्षधर सबै शक्तिलाई समेटेर अगाडि जान सक्ने हो भने माओवादीहरुले नेपालमा अझै केही गर्न सक्छन् । वीरतापूर्ण सशस्त्र संघर्षको तुफानी ज्वारभाटाबाट गुज्रेका माओवादीहरुले मुलुकका सामु उभिएका विराट चुनौति र महान् सम्भावनाको बारेमा घोत्लिने हो भने आफ्नो अस्तित्व रक्षाका लागि एकताको प्रक्रियामा उनीहरु जानैपर्छ किनभने उनीहरु बाह्य र आन्तरिक दुवै तर्फबाट चुनौतिको चौघेरामा थुनिएका छन् ।
परिवर्तन वा क्रान्तिको लागि उभिने काम अप्ठ्यारो छ र प्रतिक्रान्तिको भेलमा मिसिने काम सजिलो छ उनीहरुका लागि । अहंकारले अरुको होइन आफ्नै सर्वनाश गर्छ भन्ने सच्चाइलाई हृदयङ्गम गरेर जनतासँग घुलमिल हुन जरुरी छ माओवादीहरूले । कम्युनिष्टहरू जनतासँग एकाकार हुँदैनन् भने जनताका लागि क्रान्ति कसरी हुन्छ ? सबै प्रकारका पक्षपात त्यागेर आलोचना र आत्मालोचनाको लोकतान्त्रिक विधि अवलम्बन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक लगायतका नेपाली समाजमा रहेका विभेदलाई सदाका लागि अन्त्य गर्न माओवादीहरूले जडसूत्रवादलाई त्यागेर माक्र्सवादको सारतत्वलाई नेपाली माटोमा सृजनात्मक रुपमा ग्रहण गर्दै युगसापेक्ष लोकतान्त्रिक संविधान बनाउन भूमिका खेल्न आवश्यक छ ।
शान्ति र स्थायित्वतर्फ लम्किरहेको मुलुकमा अहिले प्रगतिशील सारतत्वसहितको जनमुखी व्यवस्था स्थापनाका लागि माओवादीहरूले आफूलाई बदल्न जरुरी छ । जनता क्रान्ति चाहन्छन् र उनीहरु शान्ति चाहन्छन् । उनीहरू स्थायित्व र समृद्धि चाहन्छन् भनेर माओवादीले बुझ्न आवश्यक छ । सो अनुरूप आफ्ना नीति र कार्यक्रम बनाउन र सोही अनुरूप गतिविधि सञ्चालन गर्न आवश्यक छ । माओवादीहरूको पुनर्जागरण त्यति सहज छैन । जनताको बीचमा गएर सामन्तवादका अवशेषका विरुद्ध संघर्ष गर्न आवश्यक छ । सामन्तवादी अवशेषहरू माओवादी पार्टीमै छ भने पनि कठोर संघर्ष गर्न सक्नुपर्दछ । विचार, राजनीति, कार्यदिशा र कार्यभार जनपक्षीय हुनुपर्दछ । धनसम्पत्तिप्रतिको लालसा, पदप्रतिको आसक्ति र दलहरुका बीचमा गलत ढंगबाट अन्तरविरोधमा खेल्ने अत्यन्तै अविश्वसनीय गतिविधिका कारण प्रचण्ड नेतृत्वको माओवादी पार्टी आज जनताबाट अलगथलग हुन लागेको हो र बाटो सच्याएर अघि बढ्न आफैंविरुद्ध कठोर संघर्ष गर्न जरुरी छ । जननीति छोडेपछि सबै कुरा छोडिन्छन् भन्ने माओत्सेतुङको भनाइ थियो ।
माओवादीको पुनर्जागरणको मुख्य शर्त माओवादीले आफूलाई पुनर्मूल्यांकन गर्न जरुरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनताको महान संघर्षबाट प्राप्त परिवर्तनको महसुस हरेक गाउँबस्ती र झुपडीहरुसम्म पु¥याउन माओवादीहरूले नसकेकै हुन् । कमजोर अवस्थामा मिल्ने र अलिकति अवस्था सुध्रिने बित्तिकै विभाजनतिर लाग्ने नेपाली कम्युनिष्टहरूको रोग हो । भ्यागुताको धार्नी पु¥याउन सकिँदैन भन्ने नेपाली उखान झैं नेपालमा कम्युनिष्ट पार्टीहरू बीचको एकता टिकाउ हुन सकेको छैन । क्रान्तिका रंगीन र मीठा सपना साँचेर आशैआशमा बाँचिरहेका नेपाली जनतालाई जीवनका वास्तविक सुनौला विपनाहरु भोग्न माओवादीहरूले कस्ता कार्यक्रम ल्याउन जरुरी छ भनी चिन्तनमनन कहिले गर्ने हो ? जनता त सदैव आशालु नजरले हेरिरहेका छन् ।


























