झापा ।

जिल्ला प्रशासन कार्यालय झापाले गरेको अनुगमनका क्रममा बेकरी उद्योग तथा मिठाई पसलमा सरसफाइमा ध्यान दिनुपर्ने देखिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको संयोजकत्वमा गरिएको अनुगमनको क्रममा सरसफाईमा ध्यान दिनुपर्ने, आफूले उत्पादन गरेका वस्तुमा लेबलिङ गर्नुपर्ने, खाद्यमा दर्ता भएको नम्बर राखिनुपर्ने र लेबलिङ गर्दा नम्बरसहितको स्टीकर भित्रबाट राखिनुपर्ने व्यवसायीहरुलाई सुझाव समेत दिइएको छ ।
केही खाद्य पसलमा डिजिटल काँटाको नवीकरण नगरिएको र प्याकेजिङका लागि उद्योगमा दर्ता गर्नुपर्ने सुझाव दिँदै अनुगमन टोली फर्किएको छ । बुधबार अनुगमन टोलीले बिर्तामोडस्थित गणपति बेकरी, राधा ट्रेडिङ, किनमेल डिपार्टमेन्ट स्टोर्स र संगम स्वीटस्को अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा गणपति बेकरीमा सबै चिज राम्रो भेटिए पनि सरसफाइमा अझ बढी ध्यान दिनुपर्ने सुझाव दिइएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । उनले भने– गणपतिमा सबै राम्रो भेटियो तर त्यहाँ उत्पादित वस्तुमा लेबलिङ गरिए पनि बाहिरबाट नभई भित्रबाट खाद्यमा दर्ता भएको नम्बरसहितको स्टिकर राख्नुपर्ने सुझाव दिएका छौं ।
राधा ट्रेडिङमा स्टकका रुपमा रहेका पेय पदार्थ र बिस्कुटलाई पुरानो म्यादको आधारमा सेल गर्न भनेका छौं– सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले भने । किनमेलमा काँटालाई नवीकरण गर्नुपर्ने र प्याकेजिङका लागि उद्योगमा दर्ता गरिनुपर्ने सुझाव दिइएको छ । त्यस्तै संगम स्वीटस्लाई किचनको सरसफाईमा ध्यान दिन आग्रह गरिएको र काँटा नवीकरण गर्न सुझाव दिइएको न्योपानेले बताए ।
अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेसहित घरेलु कार्यालयका विनोद न्यौपाने, आन्तरिक राजश्व कार्यालयका टंक पोखरेल, गुणस्तर नापतौल कार्यालयका अमित कर्ण, बिर्तामोड नगरपालिकाका पदमराज घिमिरे, राष्ट्रिय उपभोक्ता हित मञ्चबाट मदनगोपाल सुब्बा, बिर्तामोड उद्योग वाणिज्य संघबाट जीवनकुमार खड्कालगायत सहभागी थिए ।































