अभाव टार्न बोरिङबाट पानी निकालिँदै

0
397

पर्वत,

हिउँदको समयमा खानेपानीको अभाव हुँदै आएको सदरमुकाम कुश्मा बजारमा बोरिङ गरी निकालिएको पानी आपूर्ति गरिने भएको छ । अहिलेसम्म रहेका तीनवटा स्रोतबाट ल्याइएको पानीले माग धान्न सकेको छैन ।

गर्मीयाम सुरू भएसँगै बजारमा पानीको अभाव हुँदै आएको छ । त्यसको समाधान गर्न बोरिङ गरी पानी निकाल्ने तयारी गरिएको छ । शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रवीकुमार श्रेष्ठका अनुसार कुश्मा नगरपालिका–४ चिलाउने चौतारा नजिकै परीक्षण गर्दा १७० मिटरको गहिराइमा पानी भेटिएको छ ।

अब एक साताभित्र पानी आपूर्ति गर्ने गरी बोरिङ प्रणालीको काम पूरा गर्ने गरी काम भइरहेको श्रेष्ठले बताउनुभयो । पानी निकाल्न करिब रु ३० लाख खर्चको अनुमान छ । “हामीले बोरिङ गरेर पानी निकाल्न निकै प्रयास गर्दै आएका थियौँ, तर पानी निकाल्न सकिएको थिएन, अहिले १७० मिटर गहिराइमा पानी भेटिएको छ, अबको एक हप्तामा काम सकेर त्यहाँको पानी ट्याङ्कीमा ल्याउने लक्ष्य राखेका छौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “बोरिङबाट प्रतिसेकेन्ड कम्तीमा छ लिटर पानी निस्कने भएको छ, यसले हिउँदमा पानीको समस्या खेप्दै आएका कुश्मावासीका लागि ठूलो राहत हुनेछ ।”

गर्मीयाम नै पानीको माग बढी हुने भए पनि सुख्खापनका कारण यही बेलामा पानीका स्रोतमा मात्रा घट्ने गरेको छ । कुश्मा बजारमा अहिले दैनिक करिब ४० लाख लिटर पानीको माग रहे पनि ३२ लाख लिटर मात्रै आपूर्ति भइरहेको छ । गर्मीयाममा आपूर्ति घटेर २५ लाख लिटरसम्म झर्ने गरेको छ ।

खानेपानी संस्थाका कार्यालय प्रमुख ज्योतिन्द्र पौडेलका अनुसार मोदी गाउँपालिकाको पातीखोला, कुश्मा नगरपालिकाको केवादीखोला र डम्डारे खोला गरी तीन ठाउँबाट कुश्मा बजारका लागि पानीको आपूर्ति हुने गरेको छ । गत भदौमा वर्षासँगै आएको पहिराका कारण डम्डारे खोलाको आपूर्ति अवरुद्ध भएको छ । त्यहाँबाट प्रतिसेकेन्ड दुई लिटर पानी आउने गरेको थियो ।

मोदी गाउँपालिकाको पातीखोलाबाट ल्याइएको पाइपमा हिउँद र बर्खा सबै समयमा प्रतिसेकेन्ड १७ लिटर पानीको आपूर्ति हुँदै आएको छ । पानीको मुख्य स्रोतका रूपमा रहेको खुर्कोटको केवादी खोलाबाट प्रतिसेकेन्ड २२ लिटर पानी आउने भए पनि गर्मीयाममा प्रतिसेकेन्ड छ लिटरमा झर्ने गरेको छ ।

मुख्य स्रोतबाट नै प्रतिसेकेन्ड १६ लिटर कम पानी आउँदा बजारमा अभाव हुने गरेको छ । बोरिङ गरेर पानी निकालिए पनि मागअनुसार पर्याप्त भने हुने छैन । सामान्य अवस्थामा प्रतिसेकेन्ड ४१ लिटर पानीको आपूर्ति हुने गरेको कुश्मामा गर्मीयाममा प्रतिसेकेन्ड २५ लिटर मात्रै पानी आउने गरेको छ । कुश्माबजारमा झण्डै दुई हजार धारा वितरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here