[इ.महेन्द्र पराजुली ]
“Man is not made for defeat
A man can be destroyed but not defeated”
हेमिङवेका यी भनाइलाई सापट लिने हो भने मानिस हार्नको लागी जन्मेको होइन । शरीर नष्ट भएर जान्छ तर मानिस हार्दैन । मूल्य–मान्यता र निष्ठाको राजनीति गर्ने महान पुरुषहरुको नश्वर शरीर मृत्युपछि पञ्चतत्वमा विलिन हुन्छ तर आफ्नो सिद्धान्त र निष्ठामा अडिग प्रतिमूर्तिहरुको आस्था र विचार मर्दैन । विडम्बना साधारण मान्छेका त कुरै नगरांै शहीदहरु जितेरपनि आज हारेको जस्तो अवस्था छ । शहीदहरुका सपना– सपनामै सीमित भए, आदर्श–आर्दशै रहे । शहीदहरुले कोरेको बाटोमा राजनेताहरु हिड्दै गए, पाइला पनि मेट्दै गए ।
पिता बिष्णुलाल र माता बिष्णुमायाको कोखबाट साइलो पुत्ररत्नको रुपमा जन्मिएका श्रीप्रसाद पराजुलीको जन्म ताप्लेजुङ्ग जिल्ला खेजेनीममा वि.सं. १९६८ साल असोज १३ गते भएको थियो । उषादेवी ओझासँग १९६८ सालमा विवाह बन्धनमा बाँधिनु भएको थियो । वि.सं. २००६ सालमा धनकुटामा कागज गरेर आएपछि खेजेनिमबाट ताप्लेजुङ्गको सदरमुकाम फुङ्लिङमा बसाई सर्नु भएको थियो । श्रीप्रसाद पराजुली वि.सं २००४ साल देखिनै नेपाली कांग्रेसको राजनीतिमा सकृय हुनुहुन्थ्यो । विभिन्न समयमा ताप्लेजुङ्गमा भएका सत्याग्रह तथा भद्र अवज्ञा आन्दोलनहरुमा उहाँको संलग्नता थियो । वि.सं. २००८ मा जिल्ला सदस्य, २०११ मा उप–सभापति हुँदै वि.सं. २०१५ सालदेखि मृत्युशैयामा हुञ्जेलसम्म नेपाली कांग्रेस ताप्लेजुङ्गको जिल्ला सभापति हुनुहुन्थ्यो । अवान्छित क्रियाकलाप गरेको आरोपमा सरकारले एकाघरका तीन बाबु–छोरा श्रीप्रसाद पराजुली, प्रेमप्रसाद पराजुली र दुर्गाप्रसाद पराजुलीसँगै भगिमान गुरुङ, हर्षप्रसाद मादेन, इन्द्रबहादुर मादेन, दिलबहादुर थापामगर, डम्बरसिंह गुरुङ लगायतलाई वि.सं. २०१७ साल पुस अन्तिम तिर ताप्लेजुङ्गमा गिरफ्तार गरी हतकडीसहित धनकुटा जेल चलान गरी रात–दिन पनि नभनी चारदिन सम्म हिँडाएर धनकुटा पु¥याएको थियो । धनकुटा पु¥याएपछि बडाहाकिम बद्रिबिक्रम थापा, आर्मीको कर्णेल जुठे गुुरुङ र प्रहरीको एसपीको ट्रिबुनलमा पेश गरी बयान लिने काम गरे । बयान सकिएपछि वि.सं. २०१७ साल माघ १८ गते विनापुर्जी जेल पठाए ।
जेलमा भएको अवस्थामानै श्रीप्रसादको आँखामा समस्या आयो । आँखा दुख्ने विमारले आँखा पूर्णरुपले देख्न नसक्ने अवस्था भएपछि औषधि–उपचारको लागि रिहा गरिदिन बडाहाकिम समक्ष मौखिक र लिखितै विनम्र अनुरोध गर्दा, कवोलियत नामामा सहि छाप गरे छोडिदिने भन्ने बडाहाकिमको भनाइलाई प्रतिबाद गर्दै जेल बस्न तयार छु तर कबोलियतनामा गर्दिन भनेर अस्वीकार गर्नुभयो । बडाहाकिम बद्रिविक्रम थापा सहृदयी भएको कारण खोजेको बेलामा उपस्थित हुने व्यहोराको ठाडो कागजमा सहि गराई विद्यार्थी साइलो छोरा समेतलाई रिहा गरिदिए । धरानमा आँखाको उपचारगराई चैत्र १७ गते मुक्तिसेनाले ताप्लेजुङ्ग कव्जा गरेको करिव एकहप्ता अगाडि मात्र श्रीप्रसाद ताप्लेजुङ्ग आइपुग्नु भएको थियो ।
दामोदर शमसेर राणाको दौडाहाले ताप्लेजुङ्गमा राज्य आतंक मच्चाई मानबहादुर लिवाङको अध्यक्षतामा चन्द्रबहादुर पालुंवा, बिष्णु मादेन सदस्य र गंगाप्रसाद दाहाल सदस्य सचिव भएको अराष्ट्रिय तत्व निर्मूल समिति गठन गरेका थिए । त्यस्तै गरेर गंगाप्रसाद दाहालको अध्यक्षतामा बिष्णु मादेन, चन्द्रबहादुर पालुंवा, भीमबहादुर श्रेष्ठ र पोष्टबहादुर कार्की सदस्य रहेको एक छानविन समिति समेत गठन गरेका थिए । दामोदर समशेर राणाको टोलीमा भगवान थापा, (धरान) उमेशजंग शाह (विराटनगर), डिल्लीराम ढकाल (धरान), लालित्य शमसेर, ध्रुबविक्रम, बिपिन ढुङ्गेल र सुव्वा विरबहादुर मास्के संलग्न थिए ।
कोठेबारीका आफ्नै घरमा विहान धोती लगाएर दोलाई मात्र ओढेको अवस्थामा लुगा र जुत्तासमेत लगाउन नदिई नेपाली कांग्रेसले वि.सं. २०१९ सालमा संचालन गरेको सशस्त्र आन्दोलनलाई सहयोग गरेको आरोपमा घरबाटै गिरफ्तार गरी बन्दी बनाई कारागारसमेत चलान नगरी प्रहरी हिरासतमा नै कुटी–कुटी तड्पाउदै तानाशाही सरकारले वि.सं. २०१९ साल बैशाख १९ गते श्रीप्रसाद पराजुलीको नृशंस हत्यागरको थियो । नेपाली कांग्रेसको इतिहासमा नेपाली कांग्रेसका नेता (कार्यकर्तामध्ये प्रजातन्त्र प्राप्तिको लडाँईको कठोर यात्राको क्रममा उच्च ओहोदामा मारिने सायद उहाँमात्र हुनुहुन्छ । शहीद श्रीप्रसाद पराजुलीको हत्यामा विशेष गरेर गंगाप्रसाद दाहालको संलग्नता रहेको कुरा वि.सं. २०५४ सालमा प्रकाशित शहीद श्रीप्रसाद स्मारिकामा त्यसबेलाका प्रत्यक्षदर्शीहरुले उल्लेख गरेका छन् ।
कुटाइको पीडाले बेला–खरो भयो भन्ने, यहाँबाट रिहा भएपछि न्यायको लडाँइ लड्न साँहिली छोरी तुलसा र जम्ल्याहा छोराहरु महेन्द्र र मेघेन्द्रलाई साथैलिएर काठमाडौ जान्छु । गोरु आँखेले गर्नुसम्म ग¥यो, यहाँबाट छुटे भने त्यसको प्रतिशोध अवश्य लिनेछु भनेर बुबाले आमालाई भन्नुहुन्थ्यो अरे । तोरीको तेलले बुबाको शरीरमा आमाले मालिस गरिदिनुहुन्थ्यो अरे । मृत्यृवरण गर्ने दिन पानी बाहेक बुवाले अरुकेही पनि खानुभएको थिएन अरे । बुबाको मृत्युपश्चात आफ्नै कालगतीले मरेको भन्ने व्यहोराको कागजमा जबरजस्ती ११ र ९ बर्षका छोरा यज्ञ र तेजलाई साक्षीमा राखी आमालाई सहि छाप गर्न लगाए । लास अरुलार्ई छुन र बाँध्न समेत दिएनन्, कर्मचारीहरु आफंैले बाँधे । दागबत्ती दिनेसमेत कोही थिएन । यी र यस्ता अरुपनि संस्मरण प्रसंग उठेको बेला–बेलामा आमाले हामीलाई बताउनु भएको थियो । त्यसबेलाका प्रत्यक्षदर्शीका अनुसार लासलाई रातो कपडाले बेरिएको र लासबाट तप–तप रगत चुहिँदै थियो । मलामी नगन्य मात्रामा थिए । लासजली नसकुन्जेलसम्म पुलीसले पहरा दिएको थियो ।
वहाँ आस्थाको बन्दी हुनुहुन्थ्यो । कुनै राज्य द्रोह गर्नुभएको थिएन । फाँसीको तक्तामा झुण्ड्याएर हैन, एकैचोटमा गर्दन छेदन गरेर, बन्दुकको गोलीबाट नभई खुट्टामा नेल र हातमा हतकडी लगाएकै अवस्थामा तुर्लुङमा उत्तानो पारेर झुण्ड्याएर खुट्टाका पैतलामा चाबुकले पिटेर, हातका औंलामा पिन ठोकेर, हत्केलामा चुप्पिले घोचेर, ढाडमा काठ बाँसले च्यापेर, जीउमा पानी खन्याई सिस्नोको झ्याम्टाले हानेर, सम्बेदनशील अङ्गमा खोर्सानीको धुलो छर्केर, बन्दुकको कुन्दाले शरीरमा घोचेर, बुटको कुल्चाइले हात–पाउ छिया–छिया पारेर– शरीरमा लाठीका सुम्ला बसाई यी र यस्ता अरुपनि किसिमका क्रुर–अमानवीय यातनाकासाथ पंचायतीकालरात्रीमा सहिद श्रीप्रसाद पराजुलीको अवशान भएकोथियो । मन्त्रीपदको प्रलोभनलाई दुत्कारदै, निरंकुश व्यवस्थालाई कडा चुनौति दिंदै पदसँग सम्झौता नगरी जीवनदानको भिक्षा नमागी आफ्नो स्वाभिमानलाई बन्धक नबनाई शिर ठाडो र उच्च गरेर देश र जनताको पक्षमा हाँसी–हाँसी वहाँले मृत्युनै रोज्नु भएको थियो । संसारको कुनै पनि कानूनले अपराधी करार गर्न नमिल्ने वहाँ माथिको कारवाही कायरतापूर्वक प्रतिशोधपूर्ण कारवाही थियो । बिगतलाई फर्केर हेर्दा यो इतिहास–इतिहास नभएर कुनै दन्त्य कथा जस्तो लाग्दछ । शहीद श्रीप्रसाद पराजुली मेरा श्रद्धेय पिता हुनुहुन्छ । असोज १३ गते वहाँको जन्मदिन । जन्मदिनको अवसरमा यो लेख वहाँ तथा सम्पूर्ण आदरणीय शहीदहरुप्रति स–सम्मान सादर समर्पित गर्दै नमन गरेको छु ।
पतिवियोगको पीडासँगै हतकडीसहित प्रहरीको प्रत्यक्ष निगरानीमा जेठो छोरो प्रेमले आठौं दिनका दिनमात्र धनकुटाबाट ताप्लेजुङ्ग आइपुगेर बुबाको क्रियामा बसी काम सकिएपछि प्रहरी हिरासतमा नै पुनः धनकुटा जेल चलान गरेको हृदय विदारक दृष्यलाई मेरीआमाले कसरी सहन गरिन् होला । यस्तो पीडादायी अवस्थामा पनि विचलित नभई सम्यमतापूर्वक परिवारको बागडोर सम्हाली बडो कुशलतापूर्वक परिवारलाई सहजपूर्ण तरिकाले अबतरण गराई व्यवस्थापन गर्ने मेरी आमा धन्य हो तिम्रो त्यो दृढ इच्छा शक्ति र शाहस, सलाम छ जननी तिम्रो त्यो बहादुरीलाई । बुबाको मुहार र आकृति मलाई कहिं कतैपनि आउँदैन । जिवन–जगत बुझ्ने हुनु त के अबोध बालक हुँदाकै अवस्थामा एकदलीय तानाशाही फासिस्ट सरकारले मेरो बुबाको हत्या गरी टुहुरो बनायो । बुबाको न्यानो काखको छहारीबाट म बञ्चित भएतापनि आज मेरो शीर सगरमाथा झैं उच्च छ । सामाजिक सेवा उहाँको जीवनको अर्कोपाटो थियो । ठाउँ–ठाउँमा फलामे साँघु, चौतारा बनाएको, घोडेटो बाटो खनेको, पिउने पानी उपलव्ध गराएको, बजारको आफ्नै घरको कोठामा शारदा पुस्तकालय सञ्चालन गरेको यी केही उदाहरणहरु हुन् । समाजमा व्याप्त अन्ध विश्वास र कुरीतिहरुको विरोधी हुनुहुन्थ्यो । राजनितीलाई उच्च ओहोदा प्राप्त गर्ने बाटो र ठगी खाने भाँडो कहिल्यै बनाउनु भएन । राजनीति र सामाजिक सेवालाई एक–अर्काका परिपुरकका रुपमा परिभाषितगर्दै अगाडिको बाटो तय गर्नुभयो ।
शहीदहरुको त्याग, तपस्या र वलिदानको उच्च मूल्याङ्कन र सम्मान नभएको तीतो सत्य अनि यथार्थ हो । शहीदहरु आजपनि अपमानित अवस्थामा छन् । शहीदहरुको रगतको मूल्य बर्षमा एकपल्ट ओठे भक्तिको रुपमा श्रद्धा सुमनमा मात्र सीमित छ । शहीदहरुका आश्रित परिवारका दुःख, पीडा र वेदना काबारेमा राजनेताहरुको चिन्ता र चासोको विषयको एजेण्डा बन्न सकेको छैन । इतिहासका पाना पल्टाएर इतिहास भित्रै हराइरहेका, ओझेलमा परेका शहीदहरुको इतिहास लिपिबद्ध गर्ने जिम्मेवारी र दायित्व कसको हो ? शहीदहरुप्रति उत्तरदायी हुनु पर्दछ÷पर्दैन यसको जवाफ कसले दिने ? शहीदहरुले अमरत्व प्राप्त गरेको मूल्यको चिन्ताको आज कसैलाई पीडा छ भने शहीदका परिवारहरुलाई छ न की राजनेताहरुलाई ।