‘खुवालुङ’ मौलिक विश्व सम्पदा

४ बैशाख २०७९, आईतवार मा प्रकाशित

‘खुवालुङ’ कोशी जस्तो विशाल नदीले बगाउन त के पल्टाउन पनि नसकेको एक ढुङ्गा । कत्रा–कत्रा ढुङ्गा त खोला र नदीले पल्टाउँछन् र टुक्र्याउँछन् । तर, कोशीले खुवालुङलाई हल्लाएन, पल्टाएन र टुक्र्याएन । किनकि खुवालुङ मानव इतिहासको रहस्य, मिथक, देउता र नेपालको मात्र होइन, एक विश्व सम्पदा हो ।

मोटरबोटमा बेतोडसँग बत्तिएका यात्रु तथा पर्यटकहरुको बेग धिमा भएपछि रिसाएका यात्रु, पर्यटकहरु र मोटरबोट कम्पनीहरुले खुवालुङलाई ब्लास्टिङ्ग हानेर टुक्र्याएर धुलोपिठो पारिदिन सम्बन्धित निकायलाई सुझाए । ताकी कोशीको पानीमा मोटरबोटमा बसेर बिना कुनै अवरोध चिच्याउँदै कोशीको पानीमा बेस्कन हुँइकिन पाइयोस् ।

हल्ला निकै फैलियो । मिडियाहरुमा खबर आए । मानिसहरुलाई लाग्यो हो त कोशी नदीबीचमा फगत एक ढुङ्गा । मोटरबोट ठोकिएर दुर्घटना हुने डर । ढुङ्गालाई ब्लास्टिङ्ग हानेर टुक्र्याउने अभिमत बढ्दै गयो । किनकि त्यो ढुङ्गा ‘खुवालुङ’ हो र खुवालुङ नेपालको मात्र नभएर विश्व मौलिक सम्पदा हो भनेर मानिसहरुलाई थाह थिएन । त,सम्बन्धित समुदायले खुवालुङ बचाउका लागि अभियान थाले । खुवालुङको इतिहास, सांस्कृतिक महत्वबारे उजागर गरे । तब मानिसहरुको आँखा खुल्यो । खुवालुङप्रति आस्था र सम्मान दर्शाउन थाले । विश्वभरीबाट खुवालुङ संरक्षणको आवाज बुलन्द भयो । स्थानीय, प्रदेश र संघीय सरकार पनि खुवालुङ संरक्षण हेतु तयार भए । र, भविष्यमा खुवालुङ सुरक्षित रहने निश्चित भएको छ ।

कोशीमा जब मानिसहरु जोशमा होस गुमाउँदछन् तब खुवालुङले उनीहरुलाई अनुशासित बनाउँछ । जब मोटरबोटमा बत्तिएका यात्रुहरु खुवालुङ छेउ पुग्छन् अनि सोध्छन्– ‘यो के हो ?’ मोटरबोटवाला भन्छन्– ‘खुवालुङ’ हो । यात्रुहरु भन्छन्– ‘यसलाई फोर्नु नि हेर झण्डै मोटरबोट ठोकिएको । मोटरबोटवाला भन्छन्– ‘खुवालुङ देउता हो । केही गर्न मिल्दैन ।’ अनि यात्रुहरु– ‘ए है’ भन्दै नतमस्तक हुन्छन् । आजभोलि जब मोटरबोटमा बत्तिँदै यात्रुहरु खुवालुङ छेउ पुग्छन् उनीहरु अनुशासित हुन्छन् । उनीहरु आफ्नो वेग कम गर्दछन् । यात्रु तथा पर्यटकहरु खुवालुङलाई दुईहात जोडी नमस्कार गरी सम्मान जनाउँदछन् । मनोकांक्षा पूरा हुने कामना गर्दछन् । यात्रुहरुले गर्ने यस किसिमको व्यवहार पनि खुवालुङ संरक्षणको एक पाटो हो । यस्तो कामले निकै महत्व राख्दछ । यस मानेमा यात्रु तथा पर्यटकहरु महान हुन् ।

खुवालुङ संरक्षणका धेरै अभियान हुन सक्छन् । ती मध्ये एक हो– गीत–संगीत । यसै मेसोमा खुवालुङबारे एक गीत रेकर्ड भएको छ र गीतको म्यूजिक भिडियो पनि निर्माण भइसकेको छ । गीतका शब्दहरुले खुवालुङको इतिहास र महत्व दर्शाउँदछन् । गीत यस प्रकार छ :

‘याङ्वा रुइवा थावा नदी मिसिएको ठाउँ, खुवालुङ हो हाम्रो पुर्खा छुट्टिएको ठाउँ, यही हो खुवालुङ, यही हो खुवालुङ । घुम्दै आए खुवालुङमा बाटो बन्द थियो, मुन्दुम गाउँदा रिसियामा बाटो खुली दियो, सयौँ जँघार तर्दै जाँदा पुगे बिरानो ठाउँ, बसाएछन पौरखले किरातीको गाउँ, यही हो खुवालुङ, यही हो खुवालुङ । याङवा रुइवा तर्दै जाँदा थावा नदी तरी गए, त्यही पुर्खाको शाखा सन्तान धेरै थरिथरि भए, मुन्दुम र रिसियामा सधैँ सम्झी रहन्छौँ, खुवालुङ्लाई शीर मानी युगौँ बाँचिरहन्छौँ, यही हो खुवालुङ, यही हो खुवालुङ ।’

यसरी गीतले खुवालुङको मिथक, इतिहास कथा, र महत्वलाई उजागर गरेको छ । गीतमा स्वर जीतेन राई, पार्वती राई, राजु एन राई, रामकर राई, सुशीला राई, राई नवीन, सुरज मेवाहाङ राई, पदम थुलुङ, पूर्ण छिलिङ राई, मेनुका राई, शुखकला राई, चन्द्र राई, डिबी राई, कुशल चाम्लिङ राई, निश्चल राई, प्रेम कला राईले दिएका छन् । गीतका शब्दकार सुरज मेवाहाङ राई हुन् । संगीत जीतेन राईकै रहेको छ । गीतको एरेन्ज चाँद सिं, रेकर्ड राजेश श्रेष्ठ र मिक्सिङ किशोर थापाले गरेका छन् । गीतको भिडियो निर्देशन शालिक राई र छायांकन युवराज राईको रहेको छ । गीत निर्माणमा मनि हँछाली, रोशन चाम्लिङ, विनायो फिल्म्स र धेरैको सहयोग रहेको छ । गीतको निर्माण किरात राई सांस्कृतिक कलाकार सङ्घ केकासले गरेको हो । गीत चाँडै नै सार्वजनिक गरिने गायक जीतेन राईले बताएका छन् ।

गायक जीतेन राई किराँत संस्कृतिका एक विज्ञ अभियन्ता पनि हुन् । उनी किराँत संस्कृति, कला, भाषा, भेष, रीतिरिवाज, परम्परा, भूगोलबारे भ्रमण, अध्ययन, खोज अनुसन्धान, प्रचार प्रसार, प्रशिक्षण र संरक्षणका लागि मेहनत गर्दछन् । उनको योगदान महत्वपूर्ण छ । अभियन्ता राईका अनुसार, ‘खुवालुङ, अरुण, तमोर र सुनकोशी नदीको दोभान (त्रिवेणी)मा अबस्थित छ । त्रिवेणी, नदीहरुको मात्र होइन, सुनसरी, धनकुटा र उदयपुरको जिल्लाको त्रिवेणी या संगम पनि हो । समिपमा विश्व चर्चित बराहक्षेत्र धाम छ । खुवालुङबारे मुन्दुममा वर्णित पाइन्छ । किराँती भाषामा खुवा भनेको पानी र लुङ भनेको ढुङ्गा हो । खुवालुङ किरातको प्राचीन मिथकसँग सम्बन्धित छ । अनि खुवालुङ एक पवित्र सृष्टी हो ।

प्राचीन कालमा किराँतका पुर्खाहरु मुकुम्बुङ्ग, हर्कबुङ्ग र रिप्लबुङ्ग टाढाटाढाबाट आउँदा आउँदा कोशी नदीबीचको सोही खुवालुङ भए ठाउँमा आइपुगेछन् । उनीहरु थकित थकित भएका थिए । त्यसैले पनि होला उनीहरु दिग्भ्रमित भए । अब कता जाने के गर्ने भेउ पाएनन् । उनीहरुले अघि बढ्ने बाटो बन्द भएको पाए । आपत परेपछि उनीहरुले मुन्दुम सम्झे र मुन्दुमका मन्त्रहरु गाए । त्यसपछि उनीहरु भ्रममुक्त भए । उनीहरुको होस छ्याङ्ग भयो । उनीहरुमा जोश पनि भरियो । मुकुम्बुङ्ग जेठा, हर्कबुङ्ग माईला र रिप्लबुङ्ग कान्छा भाइहरु थिए । अब उनीहरु खुवालुङलाई आफ्नो देउता मान्दै, खुवालुङलाई साक्षी राखेर र खुवालुङलाई एक बिन्दु मानेर उनीहरु छुट्टिए । मुकुम्बुङ्ग जेठा भाई हिमालतिर लागे र तिनका सन्ताहरु कालान्तरमा भोटे कहलिए अर्थात आजका बुद्धमार्गीहरु जो छन् उनीहरु मुकुम्बुङ्गका सन्तान हुन् भन्न सकिन्छ । हर्कबुङ्ग माईला चाहिँ पहाडतिर छरिए र उनीहरुका सन्तान राई, लिम्बू, याक्खा, सुनुवार, हायु आदि भए । रिप्लबुङ्ग कान्छा चाहिँ तराई मैदानी भू–भागमा छरिए र उनका सन्ताहरु धिमाल, थारु आदिका रुपमा पैmलिए । छुट्टिएर जीवनयापन गर्न र व्यापक हुन भिन्न–भिन्न दिशातिर लागे ।

यस मिथकसँग जोडिने थुप्रै आयाम छन् । जस्तैः प्रकृति, खोलानाला, हिमाल, पहाड, तराई, वनजंगल, खेतीपाती, रीतिरिवाज, धर्म, संस्कृति र संस्कार आदि । दाजुभाइहरु छुट्टिनुको थुप्रै कथा छन् । सभ्यता निर्माण गर्न, सिङ्गो धर्ती गुल्जार पार्न, बढ्दै आउने मानवजातिका कल्याणका लागि आधार तयार पार्न र युगौं युगसम्म वंश कायम गर्न बडो दुरदर्शी, बुद्धि र जिम्मेवारीले उनीहरु छुट्टिए । आज हेर्ने हो भने ती तीन जनाका सन्तानहरु नेपाल, भारत मात्र होइन एशीया र सम्पूर्ण विश्वभर छाएका छन् र विभिन्न देशका नागरिक र शासक बनेर विश्वमा राज र कल्याण गरिरहेका छन् । सार यति नै हो ।’ किराँत संस्कृतिका अभियन्ता जीतेन राईले खुवालुङबारे बताए ।
अभियन्ता राईका विचार जस्तै, उनीहरु तीन भाई छुट्टिनुको अर्थ धेरै ठूलो देखिन्छ । उनीहरु फगत मनुष्य मात्र थिएनन् । उनीहरुमा सृष्टिको जिम्मेवारी थियो । उनीहरुमा हिमाल देखि समुद्रसम्म, महादेशदेखि महादेशसम्म मानव सभ्यता बसाउने जिम्मेवारी थियो । त्यसैले पनि होला उनीहरु आआफ्नो जिम्मेवारी लिएर छुट्टिए र बेग्ला बेग्लै भेगतिर लागे र विश्वभर पैmलिए ।

यस मिथकको सन्दन्र्भ नेपालको सन्दर्भसँग मात्र मेल खाएको जस्तो लाग्न सक्छ । तर, यसको अर्थ निकै व्यापक देखिन्छ । साथै किराँतको अर्थ पनि धेरै व्यापक छ । किराँतले केवल राई, लिम्बू समुदायलाई मात्र जनाउँदैन । नेपाली अन्य जातजाति, भारतमा रहेका र विश्वका कैयन समुदायहरु किराँत हुन् । वेदवेदाङ्ग तथा पूर्वीय दर्शनका अध्येता, ज्ञाता डा. स्वामी प्रपन्नाचार्यले किराँतको अर्थ विश्वव्यापी भएको बताएका छन् ।

खुवालुङ नेपालको एक मौलिक सम्पदा हो । तर, मिथक अनुसार खुवालुङबाट नै विश्व मानवसभ्यता प्रवाह भएको देखिन्छ । तसर्थ, खुवालुङ विश्वकै मौलिक सम्पदा हो । खुवालुङलाई एक सीमित अर्थमा नलिई विश्वस्तरीय अर्थमा लिएर व्यापक प्रचार–प्रचार गर्नुपर्दछ । परिणाम स्वरुप धेरै बाह्य पर्यटक नेपाल आउँदछन् र नेपाललाई धेरै नै आर्थिक लाभ मिल्दछ । खुवालुङ विश्वकै मौलिक र महान सम्पदा किन पनि हो भने यसरी कुनै नदीबीचमा कुनै सांस्कृतिक महत्वको ढुङ्गा या चिन्ह या देवता अन्त कतै पाइन्न । अनि जसरी मुकुम्बुङ्ग, हर्कबुङ्ग र रिप्लबुङ्गहरु खुवालुङलाई साक्षी राखी छुट्टिए, त्यसैगरी विश्वका अरु पनि छुट्टिएका होलान् । इतिहास खोजिएको छैन होला या पुरिए होलान् । आउनुहोस् ए विश्वस्तरीय अनुन्धानकर्ताहरु ! कतै तपाईहरुकै पुर्खा पनि खुवालुङ्गबाटै छुट्टिएर विश्वभर छरिएर भरिएका त होइनन् ?

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here