महत्वकांक्षा

४ बैशाख २०७९, आईतवार मा प्रकाशित


मुसाहरूको बिगबिगी मच्चियो । सिकुवामा सुरुङ खनेर सिकुवा छ्यान्द्रो बनाए । जता टेक्यो उतै भ्वाङ्ग पर्ने । मुसाले गर्दा सर्पको पनि डर भयो । खाली खुट्टाले सिकुवाको भुइँ टेक्न पनि डर मर्नु भयो । गाउँले कृषक दाजुभाइहरू भन्थे– यो साल मुसा धेरै लागे । मुसा लागेको साल सहकाल हुँदैन । अनिकाल फैलन्छ । साँच्चै मुसा नपुगेको र बिगार नगरेको ठाउँ भएन । हिउँदमा छापेर राखेका नयाँ सिरक, डसना एक वर्ष पनि नभई बर्खामै काटेर ढुट्टो । ओड्न, ओछ्याउनै नहुने पारेको छ । जहाँ राखे पनि पुगेकै छ । बिगार गरेकै छ । लाउने लुगा काटेर हेरी नसक्नु बनाएको छ । खेदो गरेको छ मुसाले । जुन नयाँ लुगा छ छानी–छानी बिगार्छ । दिनभरिको कामको थकाइले लखतरान भएको बेला कहिले त रातभरि सुत्न पाइँदैन । रातभरि सिलिङमा ओल्लो छेउ र पल्लो छेउ कुद्छन् । के खोज्नु हो अँध्यारोमा । डाङ्डाङ् र डुङ्डुङ् । मान्छे नै दगुरे जस्तो । भन्नुमात्र मुसा । मुसाको पीर सानो होइन । बिगार अलिकति होइन ।

कहिले त बसेर रुनु जस्तै पार्छन् –भन्नुहुन्थ्यो आमा पनि । दिक्क सारै दिक्क लाएको थियो । धानको भकारीमा गुण बनाएर ढुक्कै बस्छन् । सिलिङ फोहर पारेर उस्तै । भान्सामा खाना खाइसक्न पाउनु छैन । भाँडा चहार्न थाल्छन् ।
मुसा नियन्त्रण नगरी भएन । उपाय के छ त ? उपाय दुई–तीन वटा थिए । कि त ओखती ल्याएर राखिदिने । कि त मुसा मार्ने साँचो ल्याएर थाप्ने । कि त बिरालो नै ल्याएर पाल्ने । अरू उपाय थिएन । मुसा फेरि यति चलाख थिए कि ओखती राखिदिएको खानेकुरा पटक्कै नखाने । ओखतीको गन्ध अघि थाह पाउने । साँचो ल्याएर पासो थापे पनि साँचोको छेउनै नपर्ने । खानेकुरा कहिलेकाहीँ चाहिँ सानातिना डुगुरे मुसाले खाइ दिने । आज त प¥यो होला मुसा पासोमा भनेर बिहान उठ्ना साथ अरू काम छोडेर गएर हे¥यो । बेलुका जस्तो थापेको साँचो उस्तै हुने । कहिले साँचो लग भएको छ । मुसा छैन । लौ यसरी पनि मुसा नियन्त्रण हुने छाँटकाँट छैन । बिरालो नै नल्याइ भएन भनेर एकदिन बुबाले कुन गाउँ पुगेर एउटा पाटे बिरालोको सानो लुरे बच्चो खोजेर ल्याउनु भएछ । बिरालो त ल्याउनु भयो । मुसा देख्दा बिरालै भाग्ला जस्तो छ भनेर बुबालाई सबैले गिज्यायौं ।

मुसा बडाबडा थिए । बिरालो सानो लुते । मरेर सानो स्वरले मान्छेको अनुहारतिर हेरेर म्याउ गरेर कराउँथ्यो । सानो सारै सानो बलैले एक गाँस भात खाने । यद्यपि बिरालो बिरालै हो । जात भनेको जातै हो कनिकाको भए पनि भातै हो । कराएको सुन्दा पनि मुसा भाग्छन् पाल्नुपर्छ –भन्नुभयो बुबाले पालियो । पछि ठूलो भएपछि त मुसा समात्छ यसले भनेर दू–खुवाएर हुर्कायौं । सबैले माया गरेर हुर्कायौं । कहिलेकाहीँ भात नखाँदा पनि किन आज बिरालोले भात खाएन भनेर सबै चिन्तित हुन्थ्यौं । ऊ पनि घरको एउटा सदस्य जस्तै भयो । उसका बारेका पनि सबै कुरा परिवारका सबैमा सेयर हुन्थे । जेसँग खान्छ । त्यसैसँग मुछेर भात दिन्थ्यौं । घिउ, दही, मही, तरकारी, दाल, मासुभन्दा पनि दूधसँग बढी मन पराउँथ्यो । यसरी खुवाएर हुर्कायौं । पछि त ठूलो ढाडे बिरालो भयो । दूधभात मात्र खाने मुसाको त खोजी खबर नै नगर्ने । मजाले दूधभात खाने अनि दिनभरि छानामा चढेर खुट्टा फालेर सुत्ने । तैपनि बिरालो भएको र नभएको मिल्दो रहेन छ ।

मुसाको चर्तिकाला केही कम भए जस्तो भयो । तर, बिरालोले मुसा मारेको भने कहिल्यै देखिएन । धेरै बिराला भए भने मुसा मार्दैनन् भनेको त सुनेको हो । बिरालोले मुसै नमार्ने भन्ने त नहुनु पर्ने । सबै चकित भयौँ । पहिले पो मुसाले नै चिर्थोलान् कि जस्तो सानो, लुरे थियो । पछि त चिनिनसक्नुको पुच्छर ढल्काउँदै, आँखा तर्दै हिँड्ने ढाडे भयो । मुसा मारेर खान्छ भनेको बिरालो पछि त दही चोरेर पो खान थाल्यो । एकदिन दूधभात नदिएको त ठेकीबाट दही झिकेर खाएछ । दहीले अघाएर छानामाथि पल्टिएर अगाडिको खुट्टाले मुख पो पुछिरहेको रहेछ । भूइँको घँसेटो टिपेर दुई–चार स्वाँट लाउनु प¥यो भनेर विचार गरेको एक स्वाँठ लाउना साथ उफ्रेर तल भूइँमा झरेको बिरालो कता गयो कता । तीन–चार दिन त घरै आएन । लौ अब बिरालो हरायो । केही हदसम्म भए पनि मुसाको अत्याचार कम जस्तो त भएको थियो । अब झन बढ्ने भयो । मुसा भन्नु मात्रै बिगार सानो छैन ।

एउटा नयाँ ब्रिफकेश थियो । बिदेशबाट आउँदा ल्याएको । भित्र महँगामहँगा लाउने लुगाहरू थिए । ती पनि विदेशबाट आउँदा ल्याएका लुगा । ब्रिफकेश नयाँ र बलियो भएकोले मुसोभित्र छिर्न सक्ला भन्ने लागेकै थिएन । ल्याएर खाटमुनि राखेको थियो । राखेदेखी हेर्न भ्याइएकै थिएन । अब हेर्नुपर्ला भन्दाभन्दै त्यतिकै रहेकोरहेकै थियो । एकदिन खोलेर यसो हेरेको त गर्नुनगर्नु गरेछ मुसाले । नयाँ लुगा काटेर ढुट्टो । त्यहीँ गुण लाएर बच्चा पो बनाएछ । त्यहीँ बस्दो रहेछ माउ मुसो पनि ढुक्कै । साना आँखा नखुलेका भुत्ला बिनाका घिन लाग्दा बच्चा ब्रिफकेशको बिर्को खोलेर एक–दुई माथिपटिका लुगा झिक्नासाथ आतिएर चिँ..चिँ.. गर्दै यता र उता दगुर्न थाले । माउ मुसो ब्रिफकेशको बिर्को खोल्नासाथ एकापटीको चेपबाट फुत्त हाम फालेर भागी हाल्यो । एक ब्रिफकेश लुगा कुनै काम लाग्ने थिएनन् । यसो ब्रिफकेश अलिकति यता बाहिर तानेर हेरेको त मुनिपटी हात छिर्ने प्वाल ! ब्रिफकेश पनि काम नलाग्ने पारेछ । एकपटक पनि नलाएका लुगा सब खत्तम । त्यतिकै लगेर फ्याँक्नुपर्ने भयो । मुसाको पनि कत्रो टेन्सन !
यसको दुई–चार दिनपछि त बिरालो झुल्क्यो । दैलाको संघारमा आएर म्याउ ग¥यो । घरका कसैको अनुहारतिर हेरेर करायो । दूधभात खाएको बिर्सेको रहेनछ । आएछ फर्केर । अरू त कसले दिन्थ्यो र दूधभात नआओस् भन्यौं ।

त्यसपछि त ठेकीको बिर्को राम्रोसँग लाएर दूधभात दिन बन्द ग¥यौं । अनि त मुसा मारेर नखाए त सुख भोक लागेपछि । एकदिन त सानो–सानो बिरालो जत्रै मुसो घिस्याएर हिँड्दै रहेछ । अँ अब चाहिँ बिरालोले मुसा मार्न थालेछ है भन्यौं घरका सबैले । खुशी प्रकट ग¥यौं । बल्ल अब चाहिँ घरमा मुसा कम हुने भए । यसै भन्यौं सबैले एकै स्वरमा । बिरालोले पनि बुझे झैं गरी हामीतिर हेरेर म्याउ ग¥यो । नभन्दै त्यसपछि त घरमा मुसा कम भए । बिरालोको बानी फेरि कस्तो थियो भने घरका मान्छेले भात खाने बेला भएको कुरा कसरी थाह पाउने कसरी ! भात खान बसेपछि जहाँबाट पनि आइपुग्ने । आएर मुखमा हेर्ने अनि नकराउने । भात खान बसेका हामी नजिक आएर ढेस्सिने । जिउले घचेट्ने । ठेल्ने माया लाग्दो गरी । हाम्रो वरिपरि घुम्ने गथ्र्यो । अनि भात दिएपछि खाएर हिँड्थ्यो । दूधसँग भात दिउञ्जेल त मुसै मारेन । दूधभातले नै अघाइहाल्दो रहेछ । अनि के मुसा मारोस् । दूधभात बन्द गरेपछि त मुसा मारेर खान थाल्यो, ढुक्कै । भात खोज्नै छाड्यो ।

आदरणीय पाठक वृन्द तपाइँ यहाँनेर पक्कै पनि अलिक गम्भीर हुनु नै भयो होला भन्ने मैले ठानेको छु । तर, यो कुनै सिद्धान्त होइन । अर्थशास्त्रले भने झैं माग र पूर्तिको नियम पनि यो होइन । व्यवहारतः यो अभावले निम्त्याउने बाध्यता हो । यो मानिसको जीवनमा पनि लागू हुन्छ । जसरी दूधभात खान पाउञ्जेल माथिको बिरालोले मुसा मारेन । उसरी मानिसले पनि केही नगरिकनै बसिबसि खान पायो भने उसले उसको जीवनमा केही प्रगति गर्दैन । भोक, अभाव र महत्वकांक्षाले नै हो मानिसलाई प्रगतिपथको लगाम लाएर डोहो¥याउने । जीवनमा दुःख–सुख र संघर्षको अनुभूति गराउने पनि यिनै तीन कुरा हुन् ।

मानिस सर्वश्रेष्ठ चेतनशील प्राणी हो । त्यसैले हामी सदैव कर्मशील हुनुपर्छ । महत्वकांक्षा आफैंमा नराम्रो कुरा होइन । मानिसलाई सपना देखाउने पनि यिनै तीन कुरा हुन् । मानिसमा भोक र अभाव नभए पनि महत्वकांक्षा हुनुपर्छ । संसारमा कसैले ठूला–ठूला प्रगति गरेका छन् । आफ्नो जीवनमा भने तिनै व्यक्तिहरूले गरेका छन् जसले जीवनभरि जस्तोसुकै बाधा, व्यवधान र अड्चनमा पनि रत्तिभर विचलित नभई संघर्ष गरिरहे । एउटा दृढ महत्वकांक्षाका साथ लक्ष्यमा पुग्नलाई लागीपरिरहे । तिनै सफल भए । समाजको जुनसुकै क्षेत्रमा तिनैले सफलता हासिल गरे । इच्छाशक्ति भएन भने मानिसले कुनै क्षेत्रमा पनि प्रगति गर्न सक्दैन । यो तपाइँ एकै ठाउँ बसिरहेर कहिँ कतै नपुगे जस्तै हो । कहिँ पुग्न त हिँड्नैपर्छ । नहिँडी त कहिँ पनि पुगिँदैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here