मतदाता जिम्मेवार बन्नुपर्छ

१४ बैशाख २०७९, बुधबार मा प्रकाशित

अहिले देश निर्वाचनमय भएको छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ । आइतबार र सोमबार देशभर स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । अब १३ गते मनोनयन गरिएका उम्मेदवारीका विरुद्ध दावी–विरोध गर्ने कार्यक्रम रहेको छ भने बुधबार र बिहीबार उम्मेवारीविरुद्धका दावी–विरोधको जाँचबुझका साथै मनोनयन दर्ता प्रक्रियाहरुको छानविन गरी निर्णय गरिनेछ । निर्वाचन कार्यक्रम अनुसार बैशाख १६ गते उम्मेदवारले उम्मेदवारी फिर्ता लिने र कायम रहेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । तदुपरान्त भने उममेदवारको अन्तिम टुङ्गो लाग्नेछ र उम्मेदवारहरु मतदाता समक्ष पुग्न शुरु गर्नेछन् । निर्वाचन आयोगद्वारा सार्वजनिक निर्वाचन कार्यक्रम अनुसार उम्मेदवार तथा राजनीतिक दलहरुले आचारसंहिताको पूर्णपालना गर्दै निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।

देशमा भएका सात सय त्रिपन्न वटा स्थानीय तहका लागि मतदाताहरुले आ–आफ्ना प्रतिनिधि चयन गर्न पाउने यो निर्वाचनको विशेष महत्व छ । स्थानीय तहमा प्रतिनिधित्व गर्ने विजयी उम्मेदवार जनताका आशा र भरोसा हुन्छन् । नागरिकको नजिक रहने स्थानीय सरकार गठन गर्ने काम यसकारणले पनि महत्वपूर्ण छ कि स्थानीय आवश्यकताको पहिचान गर्ने सामथ्र्य उनीहरुसँग मात्र हुन्छ । तर, दुर्भाग्य हो कि जनप्रतिनिधि मार्फत गरिने सेवाप्रवाहको काम अपेक्षा गरिए अनुसार हुन सकेको छैन । त्यसकारण प्रत्येक आवधिक निर्वाचनमा मतदाता स्वयम्ले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ । आफ्नो गाउँ–ठाउँको विकासका साथै स्थानीय आवश्यकता पूरा गर्न सक्ने सक्षम उम्मेदवारलाई विजयी गराउनु मतदाताको दायित्व हो । त्यसैले मतदातामा सामुहिकताको भावना हुनुपर्छ, मतदाता कुनै आर्थिक प्रलोभनमा फस्नु हुँदैन । प्रजातन्त्र स्वयम् जनता सर्वेसर्वा हुने व्यवस्था भएकाले जनता आफंै आफ्नो भाग्य र भविष्य निर्माण गर्ने दिशातर्फ केन्द्रीत हुनुपर्छ ।

प्रजातन्त्रको सुन्दर पक्ष भनिने निर्वाचनलाई अवसरका रुपमा उपयोग गर्नु मतदाताको मुख्य जिम्मेवारी हो । जबसम्म आम मतदातामा आफ्नो कर्तव्य र जिम्मेवारीको बोध हुँदैन तबसम्म निर्वाचन परिणाम पैसा र बल हुनेकै पोल्टोमा परिरहन्छ । यस्तो अवस्थाले न स्थानीय आवश्यकताको परिपूर्ति हुन्छ न त स्थानीयबासीको जीवनस्तरमा परिवर्तन आउँछ । निर्वाचनमा देखिने धाँधली, भय, त्रास, दवाव र प्रभावको रोग उन्मुलन गर्नका लागि निर्वाचन आयोग, सरकार हुँदै आमजनता सजग, सचेत, सक्रिय र सत्संकल्पित हुनुपर्छ । अनि मात्र निर्वाचनको निष्पक्षता, स्वतन्त्रता कायम रहन सक्छ । दुई दिनसम्म भएको मनोनयन दर्ता गर्ने क्रममा झन्डै डेढ लाखको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दल लगायत स्वतन्त्र व्यक्तिका तर्फबाट पनि उम्मेदवारी दर्ता गरिएको छ । पैंतीस हजार दुई सय एघार जनाका लागि हुने निर्वाचनमा उम्मेदवारी मनोनयन गरेका पात्रहरुबाट सत्पात्र छनौट गर्न आममतदातामा क्षमता प्राप्त भयो भने मात्र देशले विकासमा फड्को मार्ने पक्का छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here