निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा

0
469

पार्थ मण्डल,
झापा।

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि झापाका मतदान केन्द्रहरूमा आवश्यक निर्वाचन सामग्रीहरू पठाउन शुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रहरूमा खटाइने मतदान अधिकृतसहितको कर्मचारीको नामावली सार्वजनिक गरेसँगै सोमवारदेखि सम्बन्धित मतदान अधिकृतहरूलाई निर्वाचन सामग्री बुझाइएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी दिए ।

पहिलो दिन दमक नगरपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका, कमल गाउँपालिका र मेचीनगर नगरपालिकाको मतदान केन्द्रहरूमा मतपत्र, मतपेटिका र आवश्यक जिन्सी सामग्री पठाइएको छ । निर्वाचन सामग्री बुझेका मतदान अधिकृतसहितको कर्मचारीको टोलीले सम्बन्धित मतदान केन्द्रहरूमा पुगेर निर्वाचन सामग्री व्यवस्थापन गरिसकेको जनाइएको छ ।

मतदान केन्द्रहरूमा तोकिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई नियुक्ति–पत्र, सुविधा र खर्च पनि दिएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए । मंगलबार अर्जुनधारा, बिर्तामोड, कनकाई, भद्रपुर, बुद्धशान्ति, झापा, बाह्रदशी, हल्दिबारी र कचनकवलका मतदान केन्द्रहरूमा आवश्यक सामग्री पठाउने तयारी गरिएको उनले जानकारी दिए ।

झापामा २८६ मतदानस्थलमा ७५५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । त्यसमध्ये ५१ अति संवेदनशील, १५२ संवेदनशील र ८३ वटा सामान्य अवस्थाका मतदानस्थल रहेको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

निर्वाचन सामग्री पठाइदै

झापाका मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

उनले आवश्यक सुरक्षा प्रबन्धसँगै निर्वाचन सामग्री पठाउने काम धमाधम भइरहेको बताए । कर्मचारीलाई आवश्यक तालिम प्रदान गरेर मतदान केन्द्रहरूमा खटाइसकिएको बताउँदै उनले भने– ‘माईवारि र पारि गरेर मतपत्र पठाइँदैछ ।’ झापामा ७ लाख मतपत्र आएको उनको भनाइ छ । यस्तै, सबै पालिकाको मतगणनास्थल सुरक्षाका लागि सीसी क्यामेरा जडानको काम सम्पन्न भएको उनले बताए ।

केन्द्रहरूमा सुरक्षाकर्मी खटाइयो

झापाका सबै मतदान केन्द्रहरूमा सुरक्षाकर्मी परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए । झापाको २८६ मतदान केन्द्रहरूमा १८ सय नेपाल प्रहरी र २९ सय म्यादी प्रहरीलाई सुरक्षार्थ खटाइएको उनले बताए ।

‘स्थायी ठेगाना भन्दा बाहिरको मतदान केन्द्रहरूमा म्यादी प्रहरी पठाइएको छ’– उनले भने– ‘हरेक बुथमा तीन जना नेपाल प्रहरी र पाँच जना म्यादी प्रहरी सुरक्षा खटाइनेछ ।’ मतदान स्थलमा केन्द्र थपिएको आधारमा एक÷एक जना प्रहरी र म्यादीको संख्या बढाउँदै लैजाने उनले बताए ।

नेपाली सेना र सशस्त्र प्रहरीले मतदान केन्द्रहरूको गस्ती गर्ने उनको भनाइ छ । कतिपय सुरक्षाकर्मीहरू मतदान अधिकृत र सहायक मतदान अधिकृतसँगै मतपेटिका बुझेर मतदान केन्द्रहरू गइसकेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here