वालिङमा सिसी क्यामेरा जडान

0
373

वालिङ, 

स्याङ्जाको वालिङ नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरेको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोग, कालिका नेटवर्क प्रालिको फाइबर तथा प्राविधिक सहयोग र वडा प्रहरी कार्यालयको सहकार्यमा वालिङ बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरिएका हुन् ।

वालिङ नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इञ्जीनियर प्रकाश अर्यालका अनुसार नगरपालिकामार्फत डिभाइस खरिद गरिएको हो भने कालिका नेटले फाइबरमार्फत सिसी क्यामेरा जडान गरेको हो । नगरपालिका मुख्य–मुख्य चोक तथा नागरिकको बढी भीडभाड हुने ठाउँलाई लक्षित गरी ११ सिसी क्यामेरा जडान गर्ने कार्य जारी छ ।

वालिङ नगरपालिकाभित्रका मुख्य गरी सिद्धार्थ राजमार्गका मुख्य–मुख्य चोक, भित्री बजारका मुख्य–मुख्य चोक गरी भकुण्डेबाट त्रियासीसम्मका चोकमा सिसी क्यामेरा जडान गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । “वालिङ बजारलाई समेट्ने गरी सिसी क्यामेरा जडान गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

वडा प्रहरी कार्यालयमा २४सै घण्टा यसबाट निरीक्षण गर्न सकिने छ । कुनै घटना घटिहाले यसैको आधारमा अनुसन्धान थाल्न र संलग्नको खोजी गर्न मद्दत पुग्ने खतिवडाले बताउनुभयो । यसअघि कुनै घटना घटेमा सङ्घसंस्था तथा व्यक्तिले राखेका सिसी क्यामेराको डाटा हेर्नुपर्ने बाध्यता थियो ।

मुख्य–मुख्य चोकमा सिसी क्यामेरा राखेर बजारलाई एकैपटक कार्यालयबाटै निरीक्षण गर्न सकिने भएपछि सम्भावित घटनामा कमी हुने र भइहालेमा पनि तत्कालै दोषीलाई नियन्त्रणमा लिन सकिने वडा प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here