पाँचथर,
पाँचथरको फाल्गुनन्द गाउँपालिकाले आवश्यकता पहिचान गरेर विकास र सुधारका कामलाई अघि बढाउने तयारी गरेको छ ।
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वृजहाङ आङदेम्बेले गाउँपालिकाभित्रका आम विषयको अध्ययन गरेर विकास र सुधारका कामलाई अघि बढाइने वताउनुभयो । नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाले हालै फाल्गुनन्द गाउँपालिकाको कार्यालय घुर्वीसेपञ्चमीमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिसँगको छलफल तथा सामूहिक रिपोर्टिङका क्रममा पत्रकारहरूका सुझाव लिएपछि अध्यक्ष आङदेम्बेले विकास, सुशासन र समृद्धिका लागि आवश्यकता पहिचान गरेर गाउँपालिकाका कामलाई अगाडि बढाइ स्थानीयस्तरका अभावको पूर्ति गरिने बताउनुभयो । कृषिउपज उत्पादनमा कहलिएको फाल्गुनन्दमा पकेट क्षेत्रको निर्माण गरी कृषिउपज उत्पादन र बजारीकरणमा सहयोग गर्ने नीति लिइने उहाँको भनाइ थियो ।
गाउँपालिकाभित्रका सडक अझै पनि समस्याग्रस्त रहेको भन्दै अध्यक्ष आङदेम्बेले सातवटै वडादेखि गाउँपालिकाको प्रशासनिक केन्द्र जोड्ने सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन स्तरोन्नतिको काम थालिने जानकारी दिनुभयो । “गाउँपालिकाभित्रका अन्य मुख्य सडक स्तरोन्नति गर्ने काम थाल्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो । फाल्गुनन्द हुँदै अघि बढ्ने राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई द्रुत बनाउन स्थानीय तहहरूले सहकार्य गरी सामूहिक पहल गर्ने अध्यक्ष आङदेम्बेले बताउनुभयो ।
विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउन अनुगमनको कार्यलाई प्राथमिकता दिने र पुँजीगत खर्च बढाउन स्थानीयस्तरमा उत्पन्न हुने समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष आङदेम्बेको भनाइ छ । कतिपय विकास योजनामा स–साना विवाद आउने बित्तिकै निर्माणकार्य प्रभावित भई बजेट खर्च हुन नसकेको पाएको भन्दै उहाँले अघि बढेका सबै योजनालाई पूरा गरिने बताउनुभयो ।
सञ्चारमाध्यमले फाल्गुनन्द गाउँपालिकाभित्रका कृषि, उद्योग, पर्यटनलगायत क्षेत्रका सम्भावनाको खोजी र पहिचानका लागि सहयोग गर्नुपर्ने बताउँदै अध्यक्ष आङदेम्बेले सुशासन कायम गर्न सञ्चारमाध्यमबाट सकारात्मक सुझाव र खबरदारी आवश्यक रहेको वताउनुभयो । उहाँले गाउँपालिकाभित्र रहेका सिलौटी, सेहोनाम्लाङ, नाम्सामी केसामी, नाम्तोकलगायत पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।
फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन कायम गर्न सञ्चारमाध्यमको सहयोग आवश्यक रहेको बताउनुभयो । छलफलमा नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका अध्यक्ष गिरीराज बाँस्कोटाले सञ्चारमाध्यम र पत्रकारले सुशासन, विकास र समृद्धिका लागि सधैँ खबरदारी गर्ने भन्दै स्थानीय सञ्चारमाध्यमको सवलीकरण तथा पत्रकारको व्यावसायिक हित हुने योजनासमेत सञ्चालन गर्न गाउँपालिकालाई आग्रह गर्नुभयो ।
छलफलमा जिल्लामा क्रियाशील पत्रकारले समानुपातिकरुपमा सूचना तथा विज्ञापनको वितरण गर्न, स्थानीय सञ्चारमाध्यमको सम्वद्र्धनमा लाग्न, कृषिउपज, लघु तथा घरेलु उद्योगको विकासमार्फत रोजगारी सिर्जनामा लाग्न सुझाव दिएका थिए ।






























