
रुसी सेनाले युक्रेनको उत्तरी, पूर्वी र दक्षिणी क्षेत्रमा गत फेबु्रअरी २४ तारिखदेखि हवाई, जमिन र समुद्रबट आक्रमण गरेर घुसपैठ गरेका थिए । यो सबै बिजुली चम्केको गतिमा भएको थियो । त्यसपछिका दिनहरूमा भिषण सैन्य आक्रमण भएका छन् । युक्रेनका लाखौं मानिसहरूले युद्धको विभिषिका अनुभव गरेका छन् ।
युक्रेनका जनसाधारण भिक्टर होरेन्काको अनुभव यस्तो छ– ‘हामी राम्रो जीवन बिताइरहेका थियौं । तर, रुसीहरु हुण्डरीको बेगमा आए र तिनीहरूले सबै नष्ट गरिदिए । मैले २० वर्ष संघर्ष गरेर घर बनाएको थिएँ । युद्ध अघिसम्म मेरो घर सुन्दर थियो अब रुसीहरुले खण्डहर बनाइदिएका छन् ।’ मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (यूएनएचसिआर)का अनुसार युद्धमा अहिलेसम्म कम्तिमा चार हजार एक सय ८३ जना सर्वसाधारणको ज्यान गएको छ भने पाँच हजार १४ जनाभन्दा बढी घाइते भएका छन् । वास्तविक संख्या धेरै बढी हुनसक्छ ।
नागरिक, बृद्ध, जवान, बालबालिका, निर्दोष भनेर छाडिएन । जसलाई भेट्यो उसलाई गोली हानेर ढालियो । युक्रेनमा यस्तोसम्मको दृष्य देखिए कि, बाबुले युद्धमा मरेको छोरालाई आगनमा गाडे । कसैले श्रीमती, कसैले श्रीमान् र कसैले आमा बाबुको चिहान खने र गाडे । अनि कुनै आमाले गोलाबारीका बीच पनि सन्तानलाई जन्म दिइन् ।
‘मेरो छोरा ज्यादै मित्रवत थियो । उसका धेरै साथीहरु थिए । यदि कसैलाई मद्दत आवश्यक पथ्र्यो भने मेरो छोरालाई खोज्दथे । मेरो छोरो अरुको सहयोगका लागि सधैं तत्पर हुन्थ्यो ।’ –लडाइँमा ज्यान गुमाएका एक युक्रेनी सैनिकका बाबु भ्लादिमिरको भनाई ।

शरणार्थीको कारखाना भएर आयो युद्ध । महिनौंको कष्टकर पैदलयात्रा गर्दै कैयन मानिसहरु छिमेकी देशतिर शरणार्थीका रुपमा पलायन भए । हालसम्म साढे साठी लाखभन्दा बढी मानिसहरु शरणार्थी बनेर युक्रेन बाहिर भाग्न बाध्य भएका छन् । दक्षिणपूर्वी बन्दरगाह सहर मारिउपोलले सबैभन्दा बढी युद्धको मार खेपेको छ । त्यहाँ प्रसूति अस्पतालमा समेत बमबाडी गरिएको छ । मातृ तथा नवजात शिशुहरु केही नछुट्याई बम हानियो । हिपमा रगत बगाउँदै गर्भवती र सुत्केरी महिलाहरु ज्यान जोगाउन भागिरहेका देखिन्थे । नाटक घरमा पनि हवाई हमला भयो र त्यहाँ शरण लिइरहेकाहरु मध्ये एकै पटक छ सय जनाभन्दा बढीको मृत्यु भयो ।
‘सारा युक्रेनभरी नै हामी सुरक्षित छैनौ, रसियनहरु हाम्रो जे पनि नष्ट गर्न चाहन्छन् ।’ –बालक यूजिन क्रामाटोक्र्सको भनाइ । ‘हामी उभिने ठाउँ छैन, जहाँ पनि गोली, बम, मिसाइल, रकेट खसिरहेका छन्, मलाई कुनै आइडिया छैन कि कसरी युक्रेनी बोर्डर पार गरे ज्यान जोगाउने ? निश्चित भन्न सक्छु कि म कुनै पनि बेला ढल्ने छु ।’ –प्राची प्रियमबदाको भनाइ । मारिउपोलको बन्दरगाह शहर, क्रिमियन प्रायद्वीपको पुलको रूपमा स्थापित छ । यो बन्दरगाह युक्रेनको उत्पादनको प्रमुख निर्यात केन्द्र हो । यहाँस्थित युक्रेनकै सबैभन्दा ठूलो स्टील कारखानामा युक्रेनी सेनाहरु लुकेर बसेका थिए । उनीहरुका लागि गोला बारुद मात्र होइन रसदपानी केही बाँकी थिएनन् ।
फोहोर पानी पिएर बाँचेका थिए । उनीहरु रुसी सेनाबाट घेरिएका थिए । पछि युक्रेन सरकारको आदेशमा युक्रेनी बहादुर सेनाहरुले रुसी सेनासमक्ष आत्मसमर्पण गरे र रुसले अन्यत्र लगेको छ । अचम्म त यो छ कि, सैनिकहरु मात्र होइन लाखौं मानिसहरु र बालबालिकाहरु पनि रुसले अन्यत्र लगेको छ । रुसले युक्रेनको ५० मिलियन टनभन्दा बढी खाद्यान्न रुस लगेको छ । त्यसै गरी युक्रेनी सेनाहरुले युक्रेनकै ५० हजार टनभन्दा बढी खाद्यान्न आगो लगाएर नष्ट गरिदिएका छन् ।
‘मेरो छोरा ८ मार्चमा मारियो, ऊ बमबाट बच्न धेरैजसो समय बेसमेन्टमा बसिरहन्थ्यो, मेरो लागि औषधि किन्न शहर गएको ऊ घर आएन, चार दिनपछि उसको शव भेटियो, उसको कानमा गोली लागेको थियो, मेरो जीवनको साहारा खोसिदियो युद्धले ।’ नातालिया अलेक्सानड्रोभाको भनाइ । रुसी सेनाहरुले राजधानी किभदेखि केही उत्तरमा पर्ने बुचा नामक गाउँ र शहरहरुमा धेरै मानिसहरु मारे । मानव संहार नै मच्चाए । युक्रेनले रुसी सेनालाई दोष लगायो र रुसले युक्रेनी सेनालाई । सडकमा धेरै शबहरु भेटिए । कतिको हात शरीर पछाडि पारेर बाँधिएका थिए । निहत्था सर्वसाधारण माथि निर्मम गोलीबारी भएको पाइए । कतिपय स्थानमा सामुहिक चिहान भेटिए । कतिपय मानिसहरुलाई ढलको म्यानहोलमा कोचेर मारिएको पाइए । कतिपय शबहरु आधा जलेका देखिए । डढेको कालो छालाबाट हड्डीहरु बाहिर निस्किएका देखिए । बुचाका निवासी हन्ना हेरेगाले भनिन्– ‘एक व्यक्ति काठ लिन गए तब अचानक रूसीहरूले गोली चलाउन थाले । उसलाई नलीखुट्टामा हिर्काए । त्यसपछि उनीहरुले बुटले ति व्यक्तिको खुट्टा भाँचे । अनि तिनीहरुले टाउकोमा नियन्त्रित शट हाने । नागरिक जीवन र युद्धको कानूनको सबैभन्दा आधारभूत सिद्धान्तहरूको अवहेलना भयो ।’
देशको आवासीय भवन र नागरिक पूर्वाधार विनाशको नमूना बनेको छ युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा । १५ लाख मानिस बसोबास गर्ने सुन्दर शहर सुनसान भएको छ । युद्धका घाउहरु यत्रतत्र देखिन्छन् । आधाउधी मानिसहरु कता गए पत्तै छैन । खार्किभस्थित क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेग सिनेगुबोभका अनुसार रुसी सेनाले दुई हजार दुई सय २९ वटा अग्ला भवनहरूलाई क्षति गरिदिएका छन् । दुई सय २५ वटा खार्किभ क्षेत्रका घरहरु पूर्णरूपमा ध्वस्त भएका छन् । युरोपियन एक्सपर्ट एसोसिएसनकी अनुसन्धान निर्देशक मारिया एडविभाले आफ्नो सम्झनाहरु सुनाइन्– ‘त्यहाँ क्याफेहरू, बारहरू र रेस्टुरेन्टहरू थिए ।

मेरा साथीहरूका घरहरू छन्, तर उनीहरु फर्कन सक्ने कुनै ठाउँ छैन ।’ अन्य शहरहरूमा, खेरसनदेखि लिभिभ, चेर्निहाइभदेखि क्रामाटोस्र्कसम्म पनि युद्धका घाउहरु, गोलीका डोबहरु देखिन्छन् । पूर्वका शहरहरू त लडाइँको चपेटामा परे नै, पश्चिमका सहरहरू पनि रुसी बमबारीबाट जोगिएका छैनन् । रुसका बम र मिसाईहरु जहाँ पनि खसेका छन् । पछिल्लो समय रुसी मिसाईलहरु किभ फर्किरहेका छन् । पश्चिमा देशले युक्रेनलाई दिएका मिसाईलहरु भने युक्रेनको पूर्वी भागतिर खसिरहेका छन् ।
नतालिया लुहान्स्क क्षेत्रबाट विस्थापित भइन् । उनी लडाइँबाट बच्न युक्रेनको पश्चिममा रहेको शहर लिभिभ गइन् । उनी भन्छिन्– ‘बमहरु हाम्रो वरिपरि अवतरण भइरहेका थिए । हामीले मानिसहरू भुइँमा लडिरहेका देख्यौं । मलाई अझै फेरि बच्छु जस्तो लाग्दैन ।’ युरोपेली संघले युक्रेनीहरूलाई २७ सदस्यीय राज्य क्षेत्रमा तीन वर्षसम्म बस्न र काम गर्ने अधिकार दिएको छ । तर, शरणार्थीहरुलाई दिइँदै आएको सुविधाहरु व्यापक रुपमा कटौती गरिएका छन् । युरोपमा इन्धन, खाद्य अभाव र महँगी चुलिँदोछ । तसर्थ, त्यहाँ सरकारहरुले सुविधा कटौती गरेका हुन् । यसले गर्दा युक्रेनका साथै युरोप, रुससामू लचिलो हुनुपर्ने स्थिति विकास भइरहेको छ । ‘म शिक्षिका हुँ, रुसी सेनाले मेरा स्कूलका नानीहरुको सामुहिक हत्या गरिदिए ।’ –एक शिक्षिकाको भनाइ । ‘मलाई विश्वासै लाग्दैन कि हामीले दुई महिना घाम पनि देख्न नपाई अण्डरग्राउण्डमा भोकै प्यासै बितायौं ।’ –नातालिया उस्मानोभाको भनाइ ।
गएको मे २४ सम्म, संयुक्त राष्ट्रले अनुमान गरेको छ कि २१ लाख जति युक्रेनीहरू युक्रेन फर्केका छन् । तर, लाखौंले बास, गाँससम्म भेट्टाएका छैनन् । आफ्नो घर कहाँनिर थियो त्यो सम्म पनि पत्ता लगाउन सकेका छैनन् । त्यसमाथि बम र मिसाइल आइरहेका छन् । मर्नलाई देश फर्केजस्तो भएको छ । ‘म कुनै शब्द पाउँदिन हामीले भोगेका त्रासदीको वयान गर्न, मेरो छोरा खाने पानी लिन आकाशबाट आइरहेका मिसाइलहरुको मुनिबाट दौडिरहेको थियो, जसोतसो उसले हिउँ बटुलेर ल्यायो, आगो बालेर ततायो र पानी बनाएर ख्वायो’ इरिना पेरेक्रेस्टोभाले भनिन् ।
चेर्निहाइभका ओलेक्सी सेरेडाले भने– ‘अब हामीसँग केही बाँकी छैन । जलेको घर, काला भुँइ र प्वालै प्वाल परेका घरका छत, कुच्चिएका रित्ता भाँडाहरु मात्र बाँकी छन् । सबैभन्दा पीडादायी कुरा हाम्रा कागजातहरू जलेका छन् । तिनीहरूलाई मैले स्मृतिको रूपमा राखेको थिएँ । म एक सेवानिवृत्त पायलट हुँ र मैले मेरा सबै पाइलट लगहरू त्यहाँ राखेको थिएँ । अरु कागजपत्रहरु पनि नष्ट भए । मलाई जस्तै धेरैलाई अब आफ्नो प्रपर्टी यो हो भनेर देखाउने प्रमाण जुटाउन गाह्रो छ र छिमेकछिमेक र सरकारसँग लडाइँ पर्ने सम्भावना छ । जीवनहरु सेटल हुन किनै कठीन हुनेछन् । हाम्रा नानीहरुका शिक्षा, खेलकुद र उनीहरुका अधिकारहरु र भबिष्य रुसीहरुले ध्वस्त पारिदिएका छन् ।’
युक्रेन यस्तो देखिन्छ कि मानौ कुनै युगमा यहाँ आकाशबाट लाखौं पिण्डहरु खसेर सतहहरु ध्वस्त भएका हुन् या यहाँ प्राकृतिक प्रलय आएको होस् । लाखांै युक्रेनीहरु गोली र बम लागेर हिँड्न नसक्ने गरी अपाङ्ग भएका छन्, तर पनि उनीहरु आशावादी छन् र फेरि पनि सँगसँगै बारबिक्यू खाने सपना ताजै राखेका छन् । अर्केष्ट्राका धुनमा डान्स गर्ने आशा जीवितै राखेका छन् । विभिन्न चाडमा रमाउने आशा उस्तै छन् । नानीहरुका विहेमा रमाउने आशा पनि तर कहिले ? भन्न सकिने स्थिति छैन । युक्रेनको युद्ध कथा हो यो तर थोरै मात्र । सबै कथा सुन्ने हो कथा सुन्दासुन्दै मानिसहरु हिउँ जस्तै जम्नेछन् । (एजेन्सीको सहयोगमा)


























