शिवसताक्षी,

विगत ५ वर्षदेखि सामाजिक गतिविधिमा क्रियाशिल संस्था गोर्खाली हर्टको ऐतिहासिका प्रथम अधिवेशन हुने भएको छ ।
शिवसताक्षी ८ मा पत्रकार सम्मेलन गरी अधिवेशनको जानकारी गराइएको हो । ०७९ असोेज १५ गते विविध कार्यक्रमका साथ अधिवेशन सम्पन्न गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको हर्टका अध्यक्ष विजय खुदाङले जानकारी दिए ।
५ वर्ष अघिदेखि फेसबुक पेज मार्फत विश्वमा छरिएर रहेका नेपालीहरुको मन जित्न सफल हर्टले यस अघि विपन्न परिवार, बाढी पीडित, क्यान्सर पीडित, उच्च शिक्षा अध्ययन गर्न आर्थिक अभावका कारण बञ्चित भएका विद्यार्थीहरुलाई सहयोग गर्दै आएको बताइएको छ । हालसम्म हर्टको फेसबुक ग्रुपमा ३५ हजार बढी सदस्यहरु जोडिसकिएको सम्मेलनमा जानकारी गराइएको थियो । ५ वर्षदेखि अनौपचारिक रुपमा सेवामा सक्रिय हर्टले ०७९ भाद्र ६ गते भने जिल्ला प्रशासन कार्यालय झापामा संस्था दर्ता गरी औपचारिक संस्था बनेको हो ।
विधान अनुसार संस्था दर्ता भएको ३ महिना भित्रमा प्रथम अधिवेशन गर्नुपर्ने प्रावधान अनुसार अधिवेशनको तयारीमा जुटेको पत्रकार सम्मेलनमा बताइइएको छ । हर्टले सामाजिक सेवामा अत्यन्तै महत्वपूर्ण रहेको रक्तदान कार्यक्रमलाई आवश्यक परेका बिरामीहरुलाई सम्बन्धित अस्पतालमै पुगेर ताजा रगत उपलब्ध गराउन रक्तदाता समुह तयार गरी सेवा गर्ने योजना रहेको बताइएको छ ।
प्रथम अधिवेशनको अवसरमा झापा हल्दिबारी गाउँपालिका अन्र्तगत जलथल निवासी ३४ वर्षिय वोनम्यारो पीडित उमेश राईलाई उपचार सहयोग उपलब्ध गराउने कार्यक्रम तय भएको गोर्खाली हर्टका महासचिव योसा थेवेले जानकारी गराएकी छन् । प्रथम अधिवशेनका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा रोशन रहने सम्मेलनमा बताइएको छ । हर्टले ३ प्रकारका सदस्यहरुलाई सदस्यता वितरण गरिरहेको छ ।
जसमा आजीवन सदस्य, विशेष सदस्य र साधारण सदस्य रहने अध्यक्ष खुदाङले बताए । अधिवेशन शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित संयुक्त भूपु शैनिक संघको सभाहलमा सम्पन्न हुने जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा हर्टका उपाध्यक्ष दिनेश लिम्बू, सदस्यहरु विनु इम्बुङ, पाल्देन तामाङ, विवेक सेन्दाङ, योमन थेवे लगायतको उपस्थित रहेको थियो ।































