बिर्तामोड।
बिर्तामोडमा १५ शय्याको बाल अस्पताल सञ्चालनमा आएको छ । बिर्तामोड–१मा जिल्लामै पहिलोपटक बाल अस्पताल सञ्चालनमा आएको हो ।
बिर्तामोड चिल्ड्रेन अस्पतालका नाममा सञ्चालनमा ल्याइएको बाल अस्पतालको उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रादेवी महतारा प्रसाई र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले संयुक्त रुपमा गरेका थिए । झापा मेडिकल हवका रुपमा परिचित भए पनि बालबालिकाका उपचारका लागि छुट्टै बाल अस्पताल नभएको अवस्थामा बिर्तामोड चिल्ड्रेन अस्पताल जिल्लाकै पहिलो चिल्डे«न अस्पताल भएको बताइएको छ ।
अत्यधिक जापानिज प्रविधिका उपकरणसहित इको र इसीजीको समेत व्यवस्थासहित २४सै घण्टा सेवा प्रवाह गर्ने उद्देश्यले छ जना विशेषज्ञ चिकित्सक र अनुभवी नर्सिङ स्टाफसहितको अस्पताल सञ्चालनमा ल्याइएको हो । लामो समयसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेज विराटनगर र वीएण्डसी अस्पताल बिर्तामोडमा चार वर्षसम्म बाल रोग विशेषज्ञका रुपमा प्रमुख भएर काम गरी सकेका बालरोग विशेषज्ञ डा. रुपक आचार्यले अस्पताल सञ्चालनमा ल्याएका हुन् ।
नवजात शिशु तथा बाल रोग विशेषज्ञ आचार्यसहित उनकी श्रीमती गाइनो फिजिसीयन डा. सुजता मैनाली आचार्यको लगानीमा अस्पताल सञ्चालनमा आएको हो । बिर्तामोडमा रहेका ठूला अस्पतालको तुलनामा सबै अत्याधुनिक उपकरणसहित बाल अस्पताल सञ्चालनमा ल्याइएको उद्घाटन समारोहमा अस्पतालका प्रबन्ध निर्देशक डा. आचार्यले बताए ।
अस्पताल उद्घाटन समारोहमा बिर्तामोड नगर प्रमुख र उपप्रमुखसहित बिर्तामोडका लब्ध प्रतिष्ठित व्यक्तिको सहभागिता रहेको थियो । सो उद्घाटन समारोहमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल मेडिकल एशोसिएशन झापाका अध्यक्ष डा. सीपी यादव, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेकपा एमाले बिर्तामोड नगरअध्यक्ष सुवास भट्टराई, जिल्ला स्वास्थ्य कार्यालय झापाका योगराज घिमिरे, बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, संघ वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, महासचिव अर्जुनकुमार मैनाली, सचिव सञ्जीव घिमिरे, अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बा लगायतको आतिथ्य रहेको थियो । अस्पतालकी अध्यक्ष लीला मैनालीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष नैनकला भट्टराईले गरेकी थिइन् ।