जसको संसदीय यात्रामा लाग्यो ‘ब्रेक’

१० मंसिर २०७९, शनिबार मा प्रकाशित

झापा ।

२०४८ सालबाट संसदीय राजनीतिमा नेपाली कांग्रेसको तर्फबाट सक्रिय बनेका नेपाली कांग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौलाको राजनीतिक यात्रा संकटमा परेको छ ।

पार्टीको जिल्ला सभापति हुँदै महामन्त्री समेत बनेका सिटौलाले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी समेत सम्हाल्न भ्याए । राजनीतिमा प्रभावशाली र कुटिल नेताको रुपमा पहिचान बनाएपनि २०७४ र २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पराजय व्यहोरेसँगै उनको राजनीतिक यात्रामा संकट देखिएको हो । युवा पुस्तान्तरणका कारण पनि उनको राजनीतिक यात्रा संकटमा परेको विश्लेषकहरुले बताउँदै आएका छन् ।

पाँच वर्षपछि उमेरका कारण पनि सक्रिय राजनीतिमा सहभागी हुन उनलाई निक्कै अप्ठ्यारो देखिन्छ– झापा–३का एक कांग्रेस नेताले भने – गणतन्त्र स्थापना गर्नका लागि अहम् भूमिका निर्वाह गरेका सिटौला राजावादी नेता राजेन्द्र लिङ्देनसंग दुई÷दुई पटक पराजीत बन्नुले पनि उनको क्रेज घट्दो छ ।

राष्ट्रिय राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएपनि झापा क्षेत्र नम्वर ३का मतदाताको मन जित्न नसक्दा उनी दुईपटक नै नराम्ररी पराजित हुनुप¥यो । उनको पराजयमा एमाले र राप्रपाको राजनीतिक गठबन्धन पनि बाधक बन्यो । पार्टीभित्र गुटको राजनीति गर्न खप्पिस नेताको आरोप लाग्ने गरेका सिटौलाले यस पटक भने महामन्त्री विश्वप्रकाश शर्मासंग मिलेर अगाडि बढ्ने नीति लिए पनि मतदाताले विश्वास नगर्दा उनी पराजयको शिकार बन्न पुगे । यसपटकको निर्वाचनमा उनले लिङ्देनसंगको मतान्तर भने घटाउन सफल देखिए तर निर्वाचन जित्न नसक्दा सदनको ढोका उनका लागि पाँच वर्ष बन्द भयो ।

संसदीय चुनावमा सिटौलाले ३ वटा चुनावमा मात्रै जित हात पारेका छन् । उनले २०४८, २०५६ र २०७० सालको चुनावमा जित हासिल गरेका थिए । २०५१ सालको मध्यावधि चुनावमा उनी एमालेका पुष्पराज पोखरेलसँग पराजित भए । २०५६ मा एमालेकै नारायण राजवंशीले उनलाई हराए । तर, यो चुनावमा एमालेकै झापा ४का उम्मेदवार युक्त भेटवालले केपी ओली र सिटौलाले साँठगाँठ गरेर आफूलाई हराएको आरोप लगाए । झापा ५मा भेटवाल चक्रप्रसाद बाँस्तोलासँग २६ भोटले हारेका थिए ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका सिटौला पहिलो संविधानसभाको निर्वाचनमा चाहिँ माओवादीबाटै पराजित भए । दोस्रोमा उनी चुनाव जितेर संसदमा आए । त्यसबेला उनी संविधान मस्यौदा समितिमा सभापति भएका थिए ।

यता झण्डै दुई वर्ष अघिबाट झापा क्षेत्र नम्वर २ मा निर्वाचनको तयारी शुरु गरेका नेकपा (एमाले)का नेता अग्निप्रसाद खरेल पनि यो निर्वाचनमा पराजित बने । झापा क्षेत्र नम्वर २का लागि तयारी गरेका खरेलले अन्तिम समयमा झापा १मा टिकट पाएसँगै उनी प्रतिष्पर्धाका लागि झापा १ पुगेका थिए । तर, उनी नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मासंग भारी मतान्तरले पराजित भए ।

पूर्व कानूनमन्त्री तथा महान्यायाधीवक्ता समेत रहेका पार्टीका स्थायी कमिटी सदस्य खरेल झापा निर्वाचन क्षेत्र नम्वर १मा पराजित बनेसंगै उनको समेत संसद प्रवेशको यात्रा अधुरै रहेको छ । झापा १ मा एमालेको बलियो पकड रहेपनि २ पटकसम्म प्रतिनीधिसभाको निर्वाचनमा पराजय भोगेका विश्व प्रकाश शर्मालाई यसपटक त्यस क्षेत्रका मतदाताले विश्वास गर्दा खरेल नराम्ररी पराजित बनेका हुन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला पात्र मानिने खरेलको निर्वाचन क्षेत्रमा ओलीले देवराज घिमिरेलाई टिकट दिएपछि उनी झापा १मा पहिलोपटक निर्वाचन लड्न पुगेका थिए । तर, पहिलोपटक नै उनको गाँसमा ढुंगा लाग्यो ।

२०७० सालमा भएको संविधानसभा सदस्यको निर्वाचनमा कांग्रेस नेता विश्वप्रकाश शर्मालाई पराजित गर्दै झापा क्षेत्र नम्वर १ बाट रवीन कोइराला निर्वाचित भएका थिए । तर, उनै कोइराला यस पटक प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङसंग नराम्रोसंग पराजित भए । संविधान सभा सदस्य बनेका कोइराला प्रदेशसभा सदस्य पदका लागि भएको निर्वाचनमा पराजित भएसँगै उनको समेत संसदीय राजनीतिको ढोका बन्द भएको छ । कोइराला झापा क्षेत्र नम्वर १को १ बाट चुनावी प्रतिष्पर्धामा थिए ।

२०७४ सालको प्रदेशसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्वर ३को २, ४को १ र १ को १ बाट निर्वाचत सांसद यो निर्वाचनमा पराजित भएका छन् । झापा क्षेत्र नम्वर ४को १ बाट निर्वाचित सांसद झलकसिंह दर्लामी मगर प्रदेश १को कृषिमन्त्री समेत बने । तर, उनी यो निर्वाचनमा पराजित भए । लामो समयदेखि एकीकृत नेकपा माओवादीको राजनीतिमा सक्रिय रहेका उनी यो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार राधाकृष्ण खनालसँग पराजित भए ।

त्यसो त झापा क्षेत्र नम्वर ३को १मा एमाले नेता बसन्त बानियाँ अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । तर, यस पटक उनी त्यही निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार भूमिप्रसाद राजवंशीसंग पराजित भए । सो क्षेत्रमा नेकपा एमाले र राप्रपावीच चुनावी तालमेल भए पनि अन्य दुई उम्मेदवारले जित निकाल्दा बानियाँलाई मतदाताले पत्याएनन् ।

संविधानसभा सदस्य समेत रहेका पूर्णसिंह राजवंशी झापा क्षेत्र नम्वर ३मा योपटक प्रदेश सभा सदस्यमा नै पराजित भए । २०६४ सालमा भएको निर्वाचनमा झापा ३मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै संविधानसभा सदस्य बनेका नेता राजवंशी नेकपा माओवादी केन्द्रको मूलधारमा रहेर राजनीति गर्दै आएका छन् ।

उनी झापा क्षेत्र नम्वर ३ को २ बाट २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भगिरथ पोद्दारलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । तर, यसपटक उनी नेकपा (एमाले)का नेता छविलाल चुडालसंग पराजित भए । योसँगै उनको समेत संसदीय राजनीतिक यात्रा पाँच वर्षका लागि अन्त्य भएको छ ।

झापा ३बाट प्रदेशको नेतृत्व गरिसकेका बानियाँ र राजवंशीलाई प्रदेशकै निर्वाचनमा मतदाताले नपत्याउँदा नयाँ प्रतिनिधिले प्रदेशको नेतृत्व गर्ने अवसर पाएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here