एकादशदिवसीय विराट महायज्ञको तयारी अन्तिम चरणमा

१३ मंसिर २०७९, मंगलवार मा प्रकाशित

कालीस्थान ।

अर्जुनधारा नगरपालिका–९ स्थित कालिकापीठ कालीस्थानको १८ औं बार्षिक अनुष्ठानको अवसर पारेर आयोजना गर्न लागिएको एकादशदिवसीय विराट महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

पूर्वको सिद्ध शक्तिपीठ कालिकापीठ कालीस्थानमा बार्षिक उत्सवको अवसर पारेर श्रीमद्स्कन्ध महापुराण एवं महारुद्रीसहित आगामी मंसिर १८ गतेबाट २९ गतेसम्म विराट महायज्ञ गरिन लागेको हो ।

झापाको विर्तामोडदेखि लगभग ७ किलोमिटर उत्तरपूर्व अर्जुनधारा नगरपालिका–९ कालीस्थान चोकको उत्तर–पश्चिम कोणमा सुन्दर धार्मिक तथा पर्यटकीय स्थल कालिकापीठ कालीस्थान रहेको छ । संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष पुरा गर्न अक्षयकोष बृद्धि, विश्वशान्तिको कामना, राजनैतिक स्थायित्व र महामारी प्रशमनार्थका लागि विराट महायज्ञको आयोजना गरिएको पीठका अध्यक्ष ज्योतिषाचार्य पण्डित लक्ष्मीप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

महायज्ञको तयारीका लागि प्रचार–प्रसार, गेट एवं पण्डाल निर्माण तथां महायज्ञका लागि अन्य अत्यावश्यक सामग्रीको ब्यवस्थापन अन्तिम चरणमा पुगेको पीठका उपाध्यक्ष एवं प्रचार–प्रसार समितिका संयोजक डिल्लीराम दाहालले जानकारी दिनुभयो ।

उक्त एकादशदिवसीय संगीतमय श्रीमद्स्कन्ध महापुराण स्कन्द महापुराणका ब्याख्याता प्राचीन र अर्वाचीन दर्शन शास्त्रका ब्याख्याता, प्रकाण्ड विद्वान गुरु चैतन्यकृष्णबाट संगीतमय कथा प्रवचन रहने छ भने वैदिक एवं पौराणिक ग्रन्थहरुका मर्मज्ञ विद्वान आचार्य रघुनाथ रिजालको आचार्यत्वमा विद्वत आचार्यहरुद्वारा महारुद्री महायज्ञ सञ्चालन हुने पीठका उपाध्यक्ष एवं पण्डाल–गेट–विजुली–साउण्ड सिष्टम ब्यवस्थापन संयोजक कर्णबहादुर तामाङले जानकारी दिनुभयो ।

मंसिर १८ गते समुद्घाटन हुने श्रीमद्स्कन्ध महापुराण कथा प्रवचन दैनिक विहान १० बजेदेखि ३ः३० बजेसम्म, नित्य पूजा विहान ७ बजेदेखि ९ बजेसम्म एवं रात्री जागरण साँझ ६ः३० बजेदेखि ९ बजेसम्म सञ्चालन हुने सचिव भोलानाथ पोखरेलले जानकारी दिनुभयो । यसैगरी विहान ९ बजेबाट आसुतोष भगवान शिवशक्तिको विशेष पूजा–आरधनासहित महारुद्री महायज्ञ, नित्य हवन, तुलादान, बेद पाठपारायण, धनधान्याचल पूजन, गोपूजन एवं रात्रीकालीन जागरण लगायतका कार्यक्रम रहने सहसचिव रामप्रसाद मिश्रले बताउनुभयो ।

दैनिक ३० बढी ब्राम्हण बटुकहरुद्वारा श्रीमद्स्कन्द महापुराण एवं महारुद्राभिषेक, बेद एवं पूर्वीय वैदिक धर्मग्रन्थहरुको स्तोत्र पाठ हुने महायज्ञमा कायिक, वाचिक, मानसिक, आर्थिक एवं विभिन्न रुपले सक्रिय सहयोग पु¥याइ भब्य, सभ्य र मर्यादित रुपमा सफल बनाउन सम्पूर्ण धर्मप्रेमी महानुभाव, सवै राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगी, ब्यवसायी एवं आम जनसमूदायसमक्ष अध्यक्ष पोखरेलले हार्दिक अपिल पनि गर्नुभएको छ ।

लगभग बि सं २००० साल अघिदेखि नै त्यहाँस्थित अक्षय बृक्षमुनि दैवी शक्ति रहेको बिश्वाससहित पूजा आरधना हुने गरेको बताइन्छ । उक्त शक्तिपीठको नामबाट गाउँकै नामाकरण कालीस्थान भएको पीठका कोषाध्यक्ष एवं आर्थिक ब्यवस्थापन संयोजक खडानन्द खतिवडाले जानकारी दिनुभयो ।

के छ कालिकापीठको इतिहास :

त्यसस्थानमा देवीको शक्तिपीठ छ भन्ने कुरा कसरी र कोबाट प्रमाणित भयो ? भन्ने बिषयमा एउटा किंबदन्ती कालिकापीठको स्मारिकामा उल्लेख छ – ‘तत्कालीन शनिश्चरे–६ मा रामानुज बैष्णव समूदायका भोलाइदास नामका थारु सन्तको बसोबास थियोे । उनका घरमा देश– बिदेशबाट विभिन्न साधु–सन्तहरु आउने–जाने गर्दथे । सोही क्रममा डुल्दैडुल्दै भोलाइदासकहाँ आएका एक सन्तले विशाल अक्षय बृक्षमुनि कालीको प्रतिमा भेटेर नित्य पूजा आरधना गर्नु भनेपछि त्यहाका स्थानीयले पूजा आरधना थालेको र बैशाख पुर्णिमाका दिन मेला लगाउन थालेको बताइन्छ । नाम थर र गोत्र नखुलेका ती सन्तले माटोबाट देबीको प्रतिमा बनाइ पूजा गर्न थालेपछि स्थानीयबाट पनि पूजा आरधना शुरु भएको पाइन्छ ।’

बिक्रम सम्वत् २०३३ सालमा तत्वबेत्ता विद्वान ब्यक्तित्व योगी नरहरीनाथको सहभागितामा ‘बृहत धार्मिक सम्मेलन’ भएपछि योगी नरहरिनाथले शस्त्र– अस्त्रहरुले सुसज्जित हुनुभएकी माता जगदम्बाले असूरहरुको बध गर्ने क्रममा कञ्चनजङ्घा हिमश्रृङ्खलाबाट चालेको पहिलो पाइलो ताप्लेजुङको पाथीभरामा, दोश्रो पाइलो कालिकापीठ कालीस्थानमा र तेस्रो पाइलो भारतको कलकत्तास्थित कालीमन्दिरमा टेक्नुभएको भनी शास्त्रीय प्रमाणसहित प्रमाणित गरिदिएपछि कालिकापीठको महत्व अझ बढेर गएको अध्यक्ष पोखरेलले बताउनुभयो । दैवी शक्ति रहेको विश्वासहित भक्तजनले कुनै पनि कुरा चिताएर कालिकापीठको दर्शन–पूजन गरेमा मनोकांक्षा पुग्ने गरेकाले पनि नेपाल–भारतका भक्तजनहरु अगाध आस्था र विश्वास राखेर आउने गरेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

२४ बर्षमा ९ करोड बढीको संरचना निर्माण :

२०५६ सालमा ज्यो.पं. लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा कालिकापीठ ब्यवस्थापन समिति गठन भएपछि समितिले जग्गादाता दलमानसिह तामाङ ( चैनपुरे बा)–ले प्रदान गर्नुभएको ११ कठ्ठा जग्गामा भौतिक निर्माण शुरु गरेको बताइएको छ । आजीवन सदस्यहरूबाट प्राप्त आर्थिक सहयोग, बार्षिक रुपमा गरिने यज्ञानुष्ठानबाट प्राप्त सहयोग, मुष्ठीदान, देश– बिदेशमा रहनुभएका दानदाताहरुबाट प्राप्त दानदातब्यबाट हालसम्म लगभग ९ करोड बढीका भौतिक संरचना निर्माण भइसकेको छ ।
हाल पीठ १७ कठ्ठा परिसरमा फैलिएको पीठमा गौशाला, पाकशाला, यज्ञशाला, छात्रबास, देवालय लगायतका भौतिक संरचना निर्माण भएका छन् भने शिवालय, नवग्रह, अरुन्धतीसहित सप्तऋषिको प्रतिमा रहेको हवन कुण्ड, देवी मन्दिर लगायतका भौतिक संरचनाहरु रहेका छन् ।

२०६३ सालबाट वैदिक ग्रन्थहरुको अध्ययन–अध्यापन समेत गराइदै आएको पीठमा पूर्वीय वैदिक संस्कार, संस्कृति र वैदिक ग्रन्थहरु रुद्री, दुर्गा सप्तसती, बेद, ब्याकरण एवं पुराणादि ग्रन्थहरुको आवास–भोजन सुविधासहित पूर्णरुपमा निःशुल्क पढाइने गरेको पीठद्वारा सञ्चालित कालिका संस्कृत विद्यापीठका प्राचार्य रघुनाथ रिजालले जानकारी दिनुभयो ।

कहाँबाट जाने कालीस्थान :

देवीको सिद्ध शक्तिपीठ कालीस्थान पुग्न विर्तामोड तथा धाइजनबाट जानुपर्ने हुन्छ । झापाको प्रमुख ब्यापारिक केन्द्र विर्तामोडबाट सालबारी झिल पुग्नुअघि विहीबारे हटियाको पश्चिमबाट उत्तरपूर्व लागेपछि कालीस्थान चोक पुगिन्छ । यसैगरी शनिश्चरे बजारबाट पनि कालीस्थान जान सकिन्छ ।

शनिश्चरे बजारबाट पूर्व जयपुर सडक हुँदै शनिश्चरे बाट करिव डेढ किलोमिटर पूर्व उत्तर जादाँ तिनकुने सडक भेटिन्छ । सोही ठाउँबाट लभगभ १ किलोमिटर पूर्व अगाडि बढेपछि कालीस्थान चोक आउँछ । त्यस चोकको उत्तरपश्चिमी कोण अर्थात ५० मिटर उत्तरमा कालिकापीठ अवस्थित छ । पीठ पुग्नको लागि मेची राजमार्ग मा पर्ने ७ नंं चोकबाट पस्चिम आउदा पनि पीठमा सहज रुपमा पुग्न सकिन्छ ।

चारआली बजारबाट उत्तर सहरेडाँगी हुँदै धाइजन चोकमा पुगेपछि त्यहाँबाट सिधा पश्चिम मोडिने सडक छ । उक्त सडक नछोडी लगभग ५/६ किलोमिटर पश्चिममा कालीस्थान चोक अवस्थित छ । उक्त सडक भएर पनि कालिकापीठ कालीस्थानमा पुग्न सकिन्छ । त्यसैगरी बुद्धशान्तिको जयपुरबाट मगरचोक–गार्गी चोकपूर्व–दक्षिण हुँदै कालीस्थान चोक पुग्न सकिन्छ भने बुधबारे बजारदेखि सातनम्बर चोक–उप्रेतीडाँडा दक्षिण हुँदै कालीस्थान आइपुग्न सकिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here