मायालु डाँडामा युवायुवतीको भीड

0
183

गलेश्वर, 

‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका अवसरमा आज म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दूरीमा रहेको मायाँलुडाँडा (लभ्लीहिल) मा तन्नेरीको भीड लागेको छ ।

माया गर्ने जोडीका लागि उत्कृष्टस्थल मानिएको बेनी नगरपालिका–२ खबरामा अवस्थित मायाँलुडाँडामा आज बिहानैदेखि युवायुवतीको भीड लागेको स्थानीय चन्द्रवहादुर कार्कीले जानकारी दिनुभयो ।

“मायालुडाँडामा अघिपछिको तुलनामा केही दिनयता युवायुवतीको आगमन बढेको छ,” उहाँले भन्नुभयो,“आज यहाँ प्रेमिल माहोल देखिएको छ ।”तीन दिनयता म्याग्दी, बागलुङ, पर्वतका साथै म्याग्दी भ्रमणमा आएका विभिन्न जिल्लाका तीन सयभन्दा बढी युवायुवती यहाँ आएर रमाउनाका साथै प्रेम साटासाट गरेका लभ्लीहिल खाजा घर तथा किराना पसलका सञ्चालक नारायण कार्कीको भनाइ थियो ।

केही दिनयता लभ्लीहिलमा आउने युवायुवतीले गुलाबको फूलका साथै विभिन्न किसिमका उपहार बोकेर आउने गरेका र एकापसमा माया साटासाट गर्ने, अङ्कमाल गर्नेलगायत दृश्य देखिने गरेको अर्का स्थानीयवासी देवबहादुर घिमिरेले बताउनुभयो । पहिला खाजाका विभिन्न परिकार बोकेर आउने युवायुवतीले ‘भ्यालेन्टाइन डे’को माहोल सुरु भएपछि भने गुलाब र विभिन्न जातका फूल एकापसमा साटासाट गरेका दृश्य देखिने गरेको लम्भीहिल हरितपार्क निर्माण समितिका अध्यक्ष हरिलाल घिमिरेले जानकारी दिनुभयो ।

“विभिन्न आधुनिक पोसाकमा सजिएर वाइक, स्कुटीलगायत सवारी साधनमा यहाँ आउने युवायुवतीको सङ्ख्या पहिलेको तुलनामा केही दिनयता अधिक देखिन्छ” उहाँले भन्नुभयो “युवायुवतीको सङ्ख्या वृद्धिसँगै यहाँका कृषि उपज र फलफूलको पनि व्यापार बढेको छ ।”

लभ्लीहिलमा रेलिङ, गोलघर, खाजाघरलगायत पूर्वाधार निर्माण गरिएपछि पर्यटकको आकर्षण बढ्दै गएको हो । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो’ अहिले लभ्लीहिल बन्न पुगेको हो ।

लभ्लीहिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिस आउने गरेको स्थानीयवासीको भनाइ छ । पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लो पटक लभ्लीहिल बनेपछि समूह–समूह बनाएर दैनिकरुपमा युवा पुस्ता पुग्ने गरेका छन् । बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायत क्षेत्र देख्न सकिन्छ ।

यसैगरी म्याग्दी जिल्लाको अधिकांश भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सूर्यास्तसमेत अवलोकन गर्न पाइन्छ । बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत पनि दृष्य अवलोकन गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here