नख्खु सडक अब केही दिनमै सम्पन्न हुने

१८ चैत्र २०७९, शनिबार मा प्रकाशित

काठमाडौँ, 

लामो समयसम्म सडक अलपत्र हुँदा धेरै नागरिकले दुःख पाएको नख्खु उकालोको सडक अब केही दिनमै सम्पन्न हुने भएको छ ।

पाँच वर्ष पहिले नख्खु–बुङमती सडक विस्तार सुरु भएकामा अरु खण्डमा सकिए पनि प्रवेशबिन्दुको रुपमा रहेको नख्खु उकालोमा सडक अलपत्र रहेको थियो । पछिल्लो समय खानेपानीको पाइपका कारण कालोपत्र हुन नसकेकोमा त्यो व्यवस्थापन सकाएर कालोपत्र गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

अबको केही दिनमा नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पाइपको काम सकाउने र त्यसपछि सडक कालोपत्र गरिने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो ।

नख्खु उकालोमा अहिले खानेपानीको पाइपको काम अन्तिम चरणमा रहेको छ । लिमिटेडले अहिले कनेक्सन (पाइप जोड्ने) काम गरिरहेको र अबको चारपाँच दिनमा सकाउने सूचना अधिकारी जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “उकालोको काम यो महिनाभित्र सकाउने लक्ष्य छ ।”

लिमिटेडले अहिले रात दिन खटिएर निरन्तररुपमा पाइप व्यवस्थापनको काम गरिरहेको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । पाइपको काम मसिनो हुने र थोरै काम देखिए पनि प्रत्येकलाई पाइपलाई जोडेर गर्नुपर्ने हुँदा समय लागेको हो । उहाँले भन्नुभयो, “मुख्य पाइपको काम भइसकेको छ र चार पाँच दिनमा घरघरमा कनोक्सन दिने काम हुनेछ ।”

भैँसेपाटीबाट बुङमतीको खण्डमा पनि चैतसम्म सकाउनुपर्ने उहाँको भनाइ छ । सो खण्डमा अहिले लिमिटेड, नेपाल टेलिकमलगायतका अरु निकायले पनि काम गरिरहेको हुँदा अलि ढिला हुन गएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here