लागूऔषध दुर्व्यसनी,साइबर क्राइम,बालविवाह नियन्त्रणसम्बन्धि अभिमुखीकरण

0
99

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

झापाको बिर्तामोड -१० सैनिकबजारमा विद्यालयस्तरका बालबालिकालाई लागूऔषध दुर्व्यसनी,साइबर क्राइम तथा बालविवाह नियन्त्रणसम्बन्धी एकदिवसीय अभिमुखीरण कार्यक्रम सम्पन्न भएको छ।

महिला तथा बालबालिका विभाग, पुल्चोकको आयोजना तथा बिर्तामोड नगरपालिका १० नम्बर वडा कार्यालय, इलाका प्रहरी कार्यालय बिर्तामोडको समन्वयमा आयोजित कार्यक्रममा स्थानीय महेन्द्रज्योति माविमा अध्ययनरत कक्षा ९ देखि ११ सम्मका विद्यार्थी सहभागी भएका थिए।

महिला तथा बालबालिका विभागकी निर्देशक रमा अधिकारी पौडेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अौचित्यसहित स्वागत महिला विकास अधिकृत निर्मला कार्कीले गरेकी थिइन् ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका (डिएसपी)प्रहरी नायव उपरीक्षक सुरज कार्कीले लागूऔषध दुर्व्यसनी र साइबर क्राइमबारे तथा बिर्तामोड नगरपालिकाका योजना अधिकृत जय तिम्सिनाले बालअधिकार तथा बालमैत्री स्थानीय शासनका विषयमा सहजीकरण गरेका थिए। त्यस्तै विभागकी निर्देशक पौडेलले बाल विवाहका असर तथा नियन्त्रण र महिला विकास अधिकृत कार्कीले बालहिंसा तथा बाल यौनदुर्व्यवहारबाट बच्ने उपायबारे जानकारी गराएका थिए।

कोष तथा लेखा नियन्त्रक कार्यालयका चन्द्रमान गुप्ताको संयोजनमा आयोजित उक्त कार्यक्रममा बिर्तामोड -१० का वडाध्यक्ष दूर्योधन गुरुङ,वडा सदस्यहरु पृथ्वी बस्नेत,धनमाया श्रेष्ठ,दीपिका सिवा,नगर शिक्षा अधिकृत जानुका रेग्मी,सामाजिक तथा सहकारी प्रमुख डिल्ली दाहाल,महेन्द्रज्योति माविका प्रधानाध्यापक जयकुमार झालगायतको आतिथ्य रहेको थियो। कार्यक्रमको सञ्चालन महिला विकास निरीक्षक सकुन्तला आचार्यले गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here