अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ स्थित सामूहिक उद्धार तथा उपकार संघको आयोजनामा छैंटौं धार्मिक अनुष्ठानको रुपमा यही जेठ ५ गतेदेखि भविष्य महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
स्थानीय ‘पितृमोक्ष भवन’को सभाहलमा हुने उक्त महायज्ञ पितृमोक्षको कामना गर्ने उद्देश्यले आयोजना गरिएको बुधबार आयोजित पत्रकार भेटघाटमा संघका अध्यक्ष जर्नादन उप्रेतीले बताए ।
महायज्ञको प्रमुख वाचक पण्डित उदयनाथ दाहाल र उपवाचक शास्त्री रघुनाथ काफ्ले रहेका छन् । महायज्ञ सम्पन्न गर्न मनोज जोशीको संयोजकत्वमा महायज्ञ मूल आयोजक समारोह समिति र विभिन्न उपसमितिहरु गठन गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।
महायज्ञ उद्घाटनको दिन शनिदेव जन्मजयन्ती परेको हुँदा पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाम परिसरमा रहेको शनि मन्दिरमा पनि विधिपूर्वक पूजाअर्चना हुने बताइएको छ ।
सोही महायज्ञबाट अखण्ड पितृमोक्ष दिप प्रज्वलन र विवाह तथा व्रतबन्धमा आवश्यक अग्निकुण्डसहितको संरचना निर्माणका लागि जमिन खरिद गर्ने लक्ष्य संस्थाको रहेको संयोजक जोशीले बताए । “त्यसको लागि भवन परिसर नजिक रहेको १८ लाख रुपैयाँ बराबरको १० धुर जमिन खरिद गर्ने प्रक्रिया शुरु गरेका छौं ।”– उनले भने ।
त्यसैगरी महायज्ञको अवसरमा संघका पूर्व पदाधिकारी तथा सदस्यहरुसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ । अध्यक्ष उप्रेतीको सभाध्यक्षमा आयोजित कार्यक्रममा संयोजक जोशी, अर्थ समितिका संयोजक विनोद दाहाल, संस्थाका सल्लाहकारद्वय शंकर सुवेदी र शेरबहादुर थापालगायतले महायज्ञको विषयमा पत्रकारहरुको प्रश्नको जवाफ दिएका थिए ।
कार्यक्रमको सञ्चालन प्रचार समितिका संयोजक चर्तुभूज काफ्लेले गरेका थिए । निम्न वर्गका परिवारलाई लक्षित गरि सामाजिक रुपमा उत्थान गर्ने उद्देश्यले वि.सं.२०५५ साल फागुन २० गतेदेखि कार्य गरेको उक्त संस्था २०६७ साल चैत २४ गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको हो ।






























