भारतले अर्बौ खर्चेर थप पेट्रोलियम पाइपलाइन र भण्डारण डिपो बनाइदिने

0
35

काठमाडौं ।

भारतले नेपालमा थप पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण डिपो निर्माण गरिदिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच भएको पेट्रोलियम पूर्वाधार निर्माणका चार परियोजना २६ अर्ब लागतमा पाँच वर्षभित्र सम्पन्न गर्ने सम्झौताअनुसार दुई वटा पेट्रोलियम पाइपलाइन विस्तार र दुई वटा इन्धन भण्डारण डिपो निर्माण हुने भएको हो ।

यससँगै नेपालको इन्धन भण्डारणको क्षमता वृद्धि हुनेछ । हाल एक सातामात्रै भण्डार क्षमता रहेकोमा अब थप एक महिना वृद्धि भइ ६ हप्तालाई पुग्ने इन्धन भण्डारण गर्न नेपाल सक्षम हुनेछ । सम्झौताअनुसार भारतले तीन वटा परियोजनामा १७ अर्ब खर्च र एक भण्डारण डिपोमा नेपालले ९ अर्ब रुपैयाँ लगानी गर्नेछ ।

भारतले सिलिगुडी-चारआली पेट्रोलियम पाइपलाइन, चारआलीमा इन्धन भण्डारण डिपो र अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिदिनेछ भने चितवनको पेट्रोलियम भण्डारण डिपो नेपालले आफ्नै लगानीमा साझेदारी परियोजनाअन्तर्गत बनाउने सहमति छ । विस्तार भएको पाइपलाइन १२० किलोमिटर लामो हुनेछ ।

भारतले निर्माण गरिदिने झापाको चारआलीको पेट्रोलियम डिपोको क्षमता ४२ हजार किलोलिटर, चितवनको लोथरमा बन्ने डिपो एक लाख १५० किलोलिटर क्षमताको हुनेछ । यी डिपोमा डिजेल, पेट्रोल र मटटीतेल तीन वटै इन्धन भण्डाराण गर्ने भर्टिकल ट्यांकी निर्माण हुनेछ । हाल नेपालसँग ६८ हजार किलोलिटर इन्धन भण्डारण क्षमता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here