भारतबाट अवैधरुपमा भित्राएको माछा र लोकल कुखुरा नष्ट

0
137

अर्जुनधारा ।

सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प शनिश्चरेले भारतबाट अवैधरुपमा नेपाल भित्राएको ९० केजी माछा र ५८ वटा लोकल कुखुरा नष्ट गरेको छ ।

नष्ट गरिएको माछा र लोकल कुखुराहरु सशस्त्र प्रहरी सहायक निरीक्षक सिकेन्द्रप्रसाद कुँवर नेतृत्वको मोवाइल गस्ती टोलीले मंगलबार अपरान्ह ४ बजे कनकाई नगरपालिका–७स्थित दुर्गापुर चौकबाट बरामद गरेको हो ।

मे९प ३६०७ र मे४प ४६५० नम्बरको दुई वटा मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा प्रसनि कुँवर नेतृत्वको मोवाइल गस्ती टोलीलाई देखेपछि चालकहरु भने फरार भएको बेसका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश्वरप्रसाद शाहले जानकारी दिए ।

बरामद गरिएका माछाहरुको अनुमानित बजार मूल्य ३६ हजार रुपैयाँ र लोकल कुखुराहरुको अनुमानित बजार मूल्य ३४ हजार आठ सय रुपैयाँ रहेको बताइएको छ ।

उक्त माछा र लोकल कुखुराहरु पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्रमुख मुकेशकुमार सिंह, शनिश्चरे प्रहरी चौकीका प्रहरी हवल्दार कमल अर्याल, नेपाल पत्रकार महासंघ झापाका सदस्य अमित खम्बू, स्थानीय बुद्धिलाल राजवंशीको उपस्थितिमा अर्जुनधारा–६स्थित बेस परिसरमा नष्ट गरिएको हो ।

यता नियन्त्रणमा लिइएको दुवै मोटरसाइकललाई सम्बन्धित निकायमा अनुसन्धानका लागि पठाइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here