पशुमा कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि

0
2

चितवन,

जिल्लामा रहेका पशुपालक किसानमा कृत्रिम गर्भाधानतर्फ आकर्षण बढ्दै गएको छ । पशु सेवा कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा पशुलाई कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि भएको हो ।

कार्यालयका अधिकृत भीम भट्टका अनुसार गत आर्थिक वर्षमा ६६ हजार चार सय ७५ वटा पशु चौपायामा कृत्रिम गर्भाधान गराइएको छ । जसमा ५९ हजार नौ सय ३२ गाई, छ हजार दुई सय ८१ भैँसी, दुई सय ६२ बाख्रामा कृत्रिम गर्भाधान गराइएको छ । अघिल्लो आव २०७९/८० मा ६१ हजार आठ सय ९५ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो । सो आवमा ५६ हजार पाँच सय ९४ गाई, पाँच हजार एक सय ६९ भैँसी र एक सय ३२ बाख्रामा कृत्रिम गर्भाधान गराइएको थियो ।

उहाँका अनुसार जिल्लामा पशुपालक किसानको सङ्ख्यामा वृद्धि भएपछि कृत्रिम गर्भाधानको सङ्ख्या पनि वृद्धि भएको हो । किसानले राँगो र साँढे पाल्ने प्रचलन घट्दै जाँदा कृत्रिम गर्भाधान गराउने पशुको सङ्ख्या बढेको हो । भट्टले भन्नुभयो, “जिल्लामा भैँसीमा कृत्रिम गर्भाधान गराउनेको सङ्ख्या उलेख्य रूपमा बढ्न सकेको छैन ।” भैँसीले गर्भाधान गर्ने समय किसानलाई थाहा नहुने भएकाले भैँसीको कृत्रिम गर्भाधान कम हुने गरेको उहाँको भनाइ छ ।

गाई, भैँसीले गर्भाधानका लागि गोरु, राँगा खोजेको समयमा १२ घण्टा देखि १८ घण्टाभित्र गर्भाधान गराउनुपर्ने हुन्छ । सो समयमा भैँसीलाई गर्भाधान गराउन कठिन हुने हुँदा अहिले पनि किसानले राँगो लगाउने गरेको भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “भैँसी चरनका लागि लैजाने क्रममा राँगो लाग्ने हुँदा पनि भैँसीको सङ्ख्यामा कमी आएको हो ।” जिल्लामा हाल ९२ हजार दुई सय ५६ गाई, ७२ हजार दुई सय भैँसी र तीन लाख बाख्रा पालिएको पशु कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here