विशिष्ट पर्वहरुको योग कुशे औंशी

0
1

आज भाद्र कृष्ण औंशी । यस दिनलाई पिता दिवस अर्थात् बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यही दिनलाई गोकर्ण औंशी पनि भनिन्छ र आजकै दिन युवा कवि मोतीराम भट्टको जन्मजयन्ती पनि हो । वैदिक सनातन हिन्दू परम्परा अनुसार आजको दिन घर–घरमा कुश भित्र्याउनु पर्दछ । कुश पवित्रताको प्रतीक हो, जसको प्रयोग नगरी कुनै धार्मिक अनुष्ठानहरु प्रारम्भ नै गरिँदैन । वर्षभर विभिन्न अनुष्ठान, सांस्कृतिक तथा परम्परागत कर्महरुमा अनिवार्य कुश यही दिनमात्र काटिन्छ र वर्षभरीका लागि प्रयोग गर्न मिल्छ ।
बराहरुपी विष्णुले पृथ्वीको उद्धार गरेपछि यज्ञबराहका रुपमा प्रार्थना गर्दा आफ्नो शरीरको रौंलाई नै कुशका रुपमा मानेको विश्वास छ । त्यस्तै कतै समुद्र मन्थन गर्दा कुशको उत्पत्ति भएको मान्यता छ । त्यस्तै वृन्दाको श्राप पूरा गर्न भगवान विष्णुले कुशको रुप धारण गरेको कथा पनि कुशको उत्पत्तिसँग जोडिएको छ । यिनै विश्वास र मान्यताका आधारमा आजको दिन बिहानै स्नानादि कर्म सकेर, शुद्ध र सफा सेतो वस्त्र पहिरिएका व्यक्तिले धार्मिक विधान अनुसार कुशको पूजा गरेर काटेर वा उखेलेर घरमा ल्याउने गरिन्छ । त्यही कुश ब्राह्मणहरुले आफ्नो यजमान कहाँ पु¥याउने प्रचलन रहेको छ । सनातनी परम्परा अनुसार जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कार पूरा गर्न नभई नहुने कुशको हिन्दू वैदिक संस्कृतिमा अद्वितीय स्थान छ ।
आजको औंशीको अर्को महत्वपूर्ण विशेषता हो पिता दिवस । बुवाको मुख हेर्ने दिन समेत भनिने यो दिन बुवालाई नयाँ वस्त्र पहि¥याएर, मीठा वस्तु खुवाएर सम्मान गर्ने परम्परा छ । बुवाको स्वर्गबास भएकाहरुले गोकर्ण लगायत आफ्ना क्षेत्रमा रहेका तीर्थहरुमा गई श्रद्धापूर्वक श्राद्ध–तर्पण गरी पितृको स्मरण गरिन्छ । हाम्रो वैदिक परम्परा र संस्कृतिले जिवित देवता मानेका माता, पिता, गुरुहरु मध्ये आजको दिन ‘पितृ देवो भवः’ को पूर्णता बुवाहरुका मुहारमा सन्तानका तर्फबाट दिइने सन्तोष, आनन्द र भरोसाबाट मात्र हुन्छ । अतः प्रत्येक छोराछोरीलाई प्रतिकात्मक रुपमा रहेको पिता दिवसले आफ्ना मातापिताप्रति भक्तिभाव, हार्दिकता, प्रेम बढाओस् । सन्तान भएर पनि वृद्धावस्थाको जीवन असहाय भई बिताउनु नपरोस्, त्यत्ति चेतना जगाओस्, कर्तव्यबोध गराओस् ।
यही दिन नेपाली भाषाको संरक्षण, सम्बद्र्धन र उन्नयनमा अद्वितीय योगदान दिने साहित्य क्षेत्रका जाज्वल्यमान नक्षत्र मोतीराम भट्टको जन्मदिन पनि हो । काठमाडौंको भोसिको टोलमा १९२३ भाद्र २५ गते कुशेऔंशीका दिन जन्मिएका मोतीरामले अत्यन्त छोटो जीवन बाँचेर पनि नेपाली भाषा साहित्यका साधन भानुभक्त आचार्यलाई पहिलो कविका रुपमा प्रतिष्ठित गराए । स्वयम् नेपाली, हिन्दी, उर्दू, पारसी र अंग्रेजी भाषाका ज्ञाता र साहित्यिक भएर पनि रामायणको प्रकाशन गरेर भानुभक्तलाई उच्च सम्मान दिएर ‘कर्मयोगी’ भूमिका निर्वाह गरे । यिनै अनेक विशेष पर्वहरुको संयोग आजको पर्वको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here