झापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्बराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । पार्टी कार्यक्रमको सिससिलामा केही दिनदेखि पूर्व क्षेत्रमै रहेका अध्यक्ष लिङ्देनलाई पूर्वराजा शाहले लन्चसहितको भेटघाटका लागि दमकस्थित आफ्नै चिया बगानमा आमन्त्रण गरेसंगै अध्यक्ष लिङ्देनले पूर्ब राजा शाहलाई भेटेका हुन् ।
अध्यक्ष लिङ्देन पूर्वराजा भेट्न दमकमा रहेको ‘हिमालयन टी गार्डेन’ पुगेका थिए । भेटपछि पूर्व राजा शाह र लिङ्देनले ‘लन्च मिटिङ’ गरेका छन् ।
‘लन्च मिटिङ’मा भएका कुरा सार्वजनिक गरिएको छ्रैन । पूर्व राजा शाहलाई भेटे लगत्तै अध्यक्ष लिङ्देन काठमाडौं गएका छन् ।
अध्यक्ष लिङ्देन गृह जिल्ला झापामा मंगलवार आयोजित वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि आएका थिए । यस अघि सोमवार विराटनगरमा आयोजित कार्यक्रमलाई अध्यक्ष लिङ्देनले सम्वोधन गरेका थिए ।
पूर्व राजा शाह संगको भेटमा राजसंस्था पुनःस्थापनाको विषयमा कुराकानी भएको राप्रपाका एक नेताले बताएका छन् । तर, अध्यक्ष लिङ्देनले पूर्वराजासंग सामान्य विषयमा गफगाफ भएको बताए । उनले भने – ‘विगतमा पनि धेरैपटक स्नेहपूर्ण भेटघाट भएको छ, यो नियमित भेटघाट हो’ ।