विद्युत् विस्तारमा अनियमितताको आरोप, विरोधमा उत्रिए आठराइका स्थानीयवासी 

0
2
तेह्रथुम, 
राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारमा अनियमितता भएको आरोपसहित यहाँको आठराई गाउँपालिकाका स्थानीयवासी विरोधमा उत्रिएका छन् ।
पालिकाका विभिन्न स्थानमा २०७५ सालमा ठेक्कामार्फत राष्ट्रिय प्रसारण लाइन विस्तार भएको थियो । विद्युत् विस्तारमा श्रमदान गराइनुका साथै उपभोक्ताबाट रु पाँच हजारदेखि सात हजारसम्म रकम असुलिएको थियो ।
    ठेक्कामार्फत भएको विद्युत् विस्तारमा श्रमदान र शुल्कबारे ठेक्का सम्झौतामा उल्लेख छैन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तेह्रथुमका प्रमुख प्रतिश ढकालका अनुसार विद्युत् विस्तार ठेक्कामार्फत गरिएको हो ।
     तर विद्युत् विस्तार हुनु अगावै पालिकाभरि उपभोक्ता समिति गठन गरिएको आठराई–३ ह्वाकुका स्थानीय प्रेमकुमार तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई विद्युत् विस्तार गर्न भनेर प्रतिपरिवार रु सात हजार उठाउन लगाए । गाउँमा बिजुली आउने भो भनेर केही नसोची प्रत्येक घरले पैसा उठाएर उपभोक्ता समितिका अध्यक्षलाई बुझायौँ । पोल बोक्ने, गाड्ने काममा १५,२० दिन श्रमदान ग-यौँ ।”
   आठराई–४ इवाका मनकुमार इङनामले आफूलाई विद्युत् विस्तारका लागि पैसा तिर्नुपर्छ भनेपछि पैसा बराबरको श्रमदान गरेको बताउनुभयो । आफू बसेको टोल इवाका २८ घरले २१ दिन श्रमदान गरेको उहाँको भनाइ छ ।
उहाँका अनुसार मिटर बक्स जडानका लागि रु चार हजार सात सय उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रकुमार बानियालाई बुझाएका हुन् । गाउँलेले पछि मात्रै मिटर बक्स विद्युत् प्राधिकरणले रु दुई हजार दुई सयमा दिनेबारे थाहा पाएका थिए ।
इवा क्षेत्रका उपभोक्ता समिति अध्यक्ष बानियाले विद्युत् प्राधिकरणका कर्मचारी सन्तोष बानियाँलाई उक्त रकम बुझाएको बताउनुभयो । इवाकै रेनुका बास्तोलाले सन्तोष बानियाले श्रमदान गर्नुपर्ने र पैसा तिर्नुपर्ने बताएको सुनाउनुभयो । “श्रमदान गरियो, पैसा पनि उठाइयो, गाउँमा बिजुली ल्याइयो । अहिले बिजुली छिनछिनमा जान्छ । हामी ठगियौँ”, उहाँले भन्नुुभयो ।
आर्थिक वर्ष २०७५/७६ मा ईश्वरी निर्माण सेवा प्रालिले आठराइ क्षेत्रमा विद्युत् विस्तारको ठेक्का पाएको थियो । विद्युत् प्राधिकरण तेह्रथुमका प्रमुख प्रतिश ढकालका अनुसार आठराई क्षेत्रका विभिन्न क्षेत्रमा लाइन नम्बर तोकिएर छुट्टाछुट्टै  ठेक्का सम्झौतामा प्रालिले काम गरेको जानकारी दिनुभयो । लाइन नम्बर २ मा रु एक करोड ५३ लाख १३ हजार, लाइन नं ३ मा रु एक करोड ३१ लाख २७ हजार, लाइन नं ५ का लागि रु एक करोड तीन लाख ६४ हजार, लाइन नं ८ मा रु २१ लाख ९३ हजार गरी जम्मा रु चार करोड पाँच लाख ८७ हजार रकममा ठेक्का लगाएको थियो ।
विद्युत् विस्तारका लागि उपभोक्ताबाट शुल्क वा श्रमदान गर्नुपर्नेबारे सम्झौता थिएन । सोही आवमा शशीधर निर्माण सेवा प्रालिले लाइन नं २ मा एक करोड २२ लाख ६३ हजार रकम नेपाल विद्युत् प्राधिकरणसँग ठेक्का सम्झौता गरी काम गरेको थियो । आव २०७७/७८ मा ईश्वरी निर्माण सेवा प्रालिले रु २३ लाख ८३ हजारमा ठेक्का सम्झौता गरी काम गरेको थियो । ठेक्कामार्फत विद्युत् विस्तार भएको उक्त क्षेत्रमा कहीँ पनि श्रमदान गराउने र उपभोक्ताबाट पैसा असुल्ने भनिएको थिएन ।
राज्यबाट निःशुल्क रुपमा राष्ट्रिय प्रसारण लाइन विद्युत् विस्तार भएको कुरा २०७७ सालमा मात्रै गाउँलेले थाहा पाएको आठराई –२ खाम्लालुङका अमर विसुङ्खेले बताउनुभयो । गाउँबाट विद्युत् विस्तारका लागि प्रतिपरिवार रु सात हजार रकम बुझाइएको र १८ दिन श्रम गरेको विसुङ्खेको भनाइ छ । आफू ठगिएको थाहा पाएपछि उठाइएको रकम र श्रमको ज्याला पाउनुपर्ने मागसहित आठराई सङ्घर्ष समिति गठन भएको छ । उक्त समितिले विरोधमा उत्रँदै गाउँपालिकालगायतका निकायमा उजुरी गर्न पुगेका छन् ।
आठराई गाउँपालिका–३ को सल्ले क्षेत्रमा मिटर बक्स बापत् उठाइएको अतिरिक्त रकम फिर्ता गरिएको आठराई सङ्घर्ष समितिका उपाध्यक्ष तेजकुमार इङनामले बताउनुभयो । आठराई क्षेत्रमा विद्युत् विस्तार सकिने बेलामा वडा नं–७ थोक्लुङमा ठेकेदार र फ्युुज सेवाको कर्मचारीबीचमा भएको सम्झौतापत्रमा सानो पोलको रु सात सय र ठूलो पोल गाड्दा रु एक हजार चार सयका दरले उपभोक्ता समितिलाई रकम उपलब्ध गराउने सम्झौता–पत्र सार्वजनिक भएपछि आफूहरु ठगिएको थाहा पाएको उपाध्यक्ष इङनामले बताउनुभयो ।
विद्युत् विस्तारमा गरिएको श्रमदान र उठाइएका रकमबारे ठेकेदार कम्पनीले अनभिज्ञता देखाएको छ । पेटी ठेकेदारमार्फत विद्युत् विस्तार गराएको र सबै हिसाब पेटी ठेकेदारलाई बुझाइएको ईश्वरी निर्माण सेवा प्रालिका सञ्चालक देवेन्द्र अधिकारीले बताउनुभयो ।
इवा क्षेत्रमा पेटी ठेकेदारका रुपमा काम गरेका योगेश इङनामले रु दुई हजार दुई सय पर्ने मिटरबक्स रु तीन हजार सात सय लिएकोमा मिटरबक्स जडानका लागि आवश्यक अन्य सामग्री खरिदमा लागेको बताउनुभयो । विवाद भएपछि प्रतिघर रु दुई सय फिर्ता गरिएको उहाँले बताउनुभयो ।
आठराई गाउँपालिकावासी विद्युत् विस्तारमा ठगिएपनि वास्तविक ठग पत्ता लगाउनुपर्ने अवस्था भएको सङ्घर्ष समितिका सदस्य सुमन हाङस्रोङ बताउनुहुन्छ । उहाँले भन्नुुभयो, “ठेकेदारलाई सोध्यो पेटी ठेकेदार भन्छ । पेटी ठेकेदारलाई सोध्यो प्राधिकरणको कर्मचारी भन्छ । प्राधिकरणका प्रमुखलाई सोध्यो ठेक्कामार्फत सबै काम भएको भन्छ । वास्तविक ठग को हो ? उठाइएको रकम कसले लग्यो ?”
अख्तियारले छानबिन गरी विद्युत् विस्तारका नाममा भएको अनियमितताबारे पत्ता लगाइ उपभोक्ताबाट लिइएको रकम फिर्ता गरिनुपर्ने र श्रमबापत्को रकम पाउनुपर्ने आठराई सङ्घर्ष समितिको माग छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको र उजुरीका विषयमा अनुसन्धान भइरहेकाले अहिले केही जानकारी दिन नमिल्ने आयोगका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here