नरेन्द्र ढकाल,
झापा ।
हामी व्यक्ति हत्याका घटनाहरू सुन्छौँ, समाचारमा पढ्छौँ । नेपालमा व्यक्ति हत्याका घटना कति हुन्छन् ? यस्तो जिज्ञासा हुनु स्वभाविक हो । कोशी प्रदेशमा पछिल्ला तीन आर्थिक वर्ष र चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म प्रहरीले व्यक्ति हत्याका एक सय ९४ वटा घटना भएको जनाएको छ । जसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मात्रै रहेका छन् । सबैको तथ्याङ्क विश्लेषण गर्ने हो भने संख्या अझ धेरै हुने बताइएको छ ।
अधिकांश हत्याका घटनामा घरेलु हतियार प्रयोग भएका छन् । हत्यामा ढोका लगाउने आग्लो, बाँस, फलामको बाम्फोक, खुकुरी, फलामको हम्बर प्रयोग हुने गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले बताए ।
परिवार र आफन्तभित्रै हुने हत्याका अधिकांश घटना आवेगप्रेरित देखिएको प्रहरी वरिष्ठ उपरीक्षक दाहालका भनाइ छ । उनले भने– घरेलु हिंसा, आर्थिक समस्या, मानसिक समस्या, शंका, विवाहेत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँड÷रक्सी र लागूऔषधका कारण पनि यस्ता घटना हुने गरेको आनुसन्धानका क्रममा खुलेको छ ।
पहिले संगठित हत्या हुने गर्थे भने अहिले परिवार र आफन्तभित्रै हत्या हुने गरेका घटनाहरु बढ्दै गएको पाइएको छ । अहिले परिवार र आफन्तभित्रै हत्या हुन थालेपछि प्रारम्भिक अनुसन्धानको ‘सुई’ नै परिवारभित्रै केन्द्रित गर्ने प्रचलन जस्तै भइसकेको प्रहरी वरिष्ठ उपरीक्षक दाहालको भनाइ छ ।
उनका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ५६ वटा कर्तब्य ज्यानका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष ०७९/०८० मा ५४ वटा, आर्थिक वर्ष ०८०/०८१ मा ६९ वटा र चालू आर्थिक वर्ष ०८१/०८२ को कात्तिक ३० गतेसम्ममा १५ वटा कर्तब्य ज्यान सम्बन्धीका घटना भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कमा उल्लेख गरिएको छ । यो महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको मात्रै विवरण भएको प्रहरी कार्यालयले जनाएको छ ।
सहनशील मानिएको नेपाली समाजमा पछिल्लो केही वर्षयता भने परिवारसँगै सम्बन्धित अपराधका घटना बढ्दै गएकोले चिन्ता थपिएको छ । सञ्चारमाध्यममा बाबुले छोरा मारेको, श्रीमानले श्रीमती मारेको, नातिले हजुरबुबा मारेको जस्ता समाचार दिनहुँ आउने गरेका छन् । तर, हालसम्म यस्ता विषयमा राज्य पक्षले चासो नदिँदा समस्या झनै विकराल बन्ने खतरा रहेको विश्लेषण हुन थालेको छ ।
रिसलाई नियन्त्रण गर्न, परिवार र समाजलाई व्यवस्थापन गर्न सकियो भने पनि यस्ता घटना कम गर्न सकिने प्रहरीको बुझाइ छ । यस्ता घटना कुनै उमेर समूहमा मात्रै सीमित नरहेको जनाइएको छ । लागूऔषधको प्रयोग र मदिराको सेवन गर्ने व्यक्तिले सन्तुलन गुमाउने डर अत्यधिक रहन्छ । त्यसैले स–साना विषयमा हुने झैझगडा वा सानो विषयको विवाद पनि हत्यासम्म पुगेको थुप्रै उदाहरण रहेको प्रहरीको अनुसन्धानका क्रममा खुलेका छन् ।
पछिल्लो समय लागूऔषको प्रयोग नियन्त्रणका लागि कोशी प्रदेशका सबै जिल्लाहरुमा आमा सुरक्षा कार्यक्रम मार्फत सचेतना जगाउने उद्देश्यले कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङको निर्देशनमा यो कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । लागूऔषधकै कारण समाजमा धेरै अपराधका घटना बढ्न सक्ने भएकाले सबै सचेत बन्नु पर्ने प्रहरीको भनाइ छ । अहिले व्यक्तिले अर्काको भावना नबुझ्ने, सहयोग नगर्ने प्रवृत्ति बढेकोे छ । यो पनि मानसिक समस्याको उपज हो । जसका कारण स–साना कुरामा पनि आक्रोशित हुँदा व्यक्तिले अपराधको सहारा लिने गरेको पाइएको अनुसन्धानका क्रममा खुलेको प्रहरी प्रवक्ता समेत रहेका दाहालले बताए ।
कारक बन्दै सामाजिक सञ्जाल
अहिले प्रविधिले विश्वलाई जोडेको छ । अझ सामाजिक सञ्जाल सबैलाई जोड्ने माध्यम बनेको छ । बालबालिका झन सामाजिक सञ्जालसँग नजिकिएका छन् । सामाजिक सञ्जालको सही र गलत उपयोग छुट्याउन नसक्दा अपराधको कारक नै सामाजिक सञ्जाल बन्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।
कोशी प्रदेशका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक दाहाल भन्छन्– अध्ययन र जानकारीका लागि सामाजिक सञ्जालको सही उपयोग गर्न सकिन्छ तर, अनैतिक सम्बन्ध, गलत हर्कत, शंका लगायतका काारणले समाजिक सञ्जालकै निहुँमा हत्यासम्मका घटना भएका छन् ।
वैदेशिक रोजगारी
घरको व्यवस्था मिलाउन ठूलो संख्यामा युवा खाडी मुलुकसँगै विभिन्न देशमा छन्, अझै गइरहेका छन् । बालबालिका घरमा छाडेर विदेशिनु बाध्यता पनि हो । तर, अभिभावकको सही निर्देशन नहुँदा कतिपय ब्यक्तिहरु अपराधतर्फ प्रेरित हुने गरेको पाइएको छ ।
अभिभावकको सही निर्देशन नहुँदा कतिपय बालकालिका कुलतमा फस्ने गरेको पाइएको छ । कतिपयका आमा–बुबा नै विदेश जाने गरेकाले उसले अभिभावकको माया र स्नेह नपाउँदा कठोर मानसिकताको हुने र त्यस्ता ब्यक्ति अपराध कर्ममा लाग्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।
लागूऔषध तथा मदिरा पनि कारक
लागूऔषधको प्रयोग र मदिराको सेवन गर्ने व्यक्तिले सन्तुलन गुमाउने डर अत्यधिक हुन्छ । त्यस्ता ब्यक्ति अपराध कर्ममा प्रोत्साहित हुने गरेको पाइएको छ । स–साना विषयमा हुने झैझगडा वा सानो विषयको विवाद पनि मदिरा सेवनको कारणले हत्यासम्म भएको थुप्रै उदाहरणहरु फेला परेको कोशी प्रहरी प्रवक्ता दाहालले बताए ।
चोरी, डकैतीका साथै हत्यामा समेत मदिरा सेवन गरेका ब्यक्ति तथा लागूऔषध प्रयोगकर्ता हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्या गर्ने विषयलाई पनि यस्ता कर्ममा लाग्नेहरुले सामान्य रुपमा लिँदा समाजमा अपराधका घटना बढेको प्रहरीको निष्कर्ष रहेको छ ।
सामान्य विवादमै हत्या
प्रहरीका अनुसार घटना विश्लेषण गर्दा सामान्य विवादमै आफन्त र चिनजानकै व्यक्तिबाट हत्या हुने गरेको पाइएको छ । कोशी प्रहरीका प्रवक्ता एसएसपी दाहाल भन्छन्– कतिपय घटना सामान्य विवादमै भएको देखिन्छ । अवैध यौन सम्बन्ध र त्यसलाई लुकाउने प्रयास, सामान्य लेनदेन, झैझगडा र तनावका कारण आवेगमा आएर हत्या हुने गरेको पाइएको छ । कतिपय क्षेत्रमा सामान्य गालीमा पनि हत्याका घटना भएका छन् ।
लेनदेन विवाद र अवैध सम्बन्ध नै हत्याको मुख्य कारण हुने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ । समाज विस्तारै क्रुर हुँदैछ । मानिसहरूमा उच्च महत्वाकांक्षासँगै जिद्दी स्वभाव बढेका समाजशस्त्रीहरुको बुझाइ छ । धेरैजसो हत्याका घटना आफन्त र चिनेजानेकै व्यक्तिबाट भएको पाइएको छ ।
समाजमा हत्याका घटना नियन्त्रणका लागि जनचेतना बढाउनु पर्ने र समाजका सबै पक्ष जिम्मेवार बन्नु पर्ने प्रहरीको भनाइ छ । घटना भइसकेपछि अपराधमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेर कानूनी दायरामा ल्याउँछ तर घटना हुनै नदिन प्रहरीको एक्लो प्रयासले मात्रै केही नहुने बताइएको छ । विश्वभर नै महिला हिंसाका घटनाहरू विकराल बन्दै गइरहेका छन् ।
बलात्कार, हत्या, अपमान, घरेलु हिंसा र अन्य प्रकारका दुर्व्यवहारहरूले महिलाको जीवनलाई प्रत्यक्ष रूपमा असर पु¥याएको छ । यतिखेर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । लंै्गिक हिंसा रोक्ने सवालमा सबै पक्ष बीच साझा धारणा बनाएर अघि बढ्नुपर्ने सरोकारवालाहरुको भनाइ छ ।