छिमेकी सहकारीको‌ नाफा एक करोड ८० लाख,२५६ को निःशुल्क आँखा परीक्षण

0
57

झापा।

छिमेकी बचत तथा ऋण सहकारी संस्थाले १ करोड ८० लाख ५२ हजार ३८५ खुद नाफा आर्जन गरेको छ ।

सोमबार संस्थाको १८औं वार्षिक साधारण सभाको अवसर पारेर गत आर्थिक वर्ष ०८० /०८१ मा आम्दामी तर्फ ११ करोड २२ लाख ६६ हजार १५८ रुपैयाँ ४७ पैसा र खर्चतर्फ ९ करोड ४२ लाख १३ हजार ७७३ रुपैयाँ ३१ पैसा को आर्थिक विवरण सार्वजनिक गरिएको हो। यो हिसाबमा सहकारीले १ करोड ८० लाख ५० हजार भन्दा माथि खुदनाफा आर्जन गरेको हो।

२०६४ सालमा २५ जना सदस्यले स्थापना गरेको यो सहकारी संस्थाको सदस्य संख्या अहिले ४ हजार ३ सय ८५ पुगेको छ । झापाको दमक, कमल गाउँपालिकाको केर्खा,‌ कन्काई नगरपालिकाको सुरुङ्गा, शिवसताक्षीको मङ्गलबारे र जनता बजारमा सहकारीको सेवा केन्द्र रहेको संस्थाका कार्यकारी प्रमुख नरप्रसाद ओली (नवीन)ले बताए ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा छिमेकी सहकारीको सेयर पुँजी १४ करोड ९९ लाख २५ हजार ९०० रहेको कार्यकारी प्रमुख ओलीले जानकारी दिएका छन्। उनका अनुसार ४३ करोड ८१ लाख ३ हजार ३८८ रुपैया ८६ पैसा निक्षेप सङ्कलन भएको संस्थाको विभिन्न कोषमा ‌ ९ करोड २ लाख ८१ हजार ६५६ रहेको छ ।

साधारण सभामा सदस्यलाई दिएको जानकारी अनुसार गएको असार मसान्तसम्ममा ६७ करोड ९७ लाख ४१ हजार २७२ रुपैयाँ लरर छ । लरर भनेको लगानीमा रहिरहेको हो । संस्थाले गत आर्थिक वर्षमा ८७ करोड ६६ लाख ७१ हजार ७१७ रुपैयाँको कुल कारोबार गरेको थियो।

१८औँ वार्षिक साधारण सभाको अवसर पारेर सार्वजनिक गरिएको प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष‌ ०८१/०८२ मा सावा तर्फ २३ करोड ५४ लाख ७९ हजार २१३ रुपैयाँ कर्जा असुली गरेको थियो भने ११ करोड ९ लाख २६ हजार ८९४ ब्याज असुली गरेको थियो।

चालु आर्थिक वर्षमा संस्थाले १२ करोड ११ लाख खुद आम्दामी गर्ने लक्ष्य राखेको छ भने ८ करोड २४ लाख ६० हजार खर्चको लक्ष्य राखेको छ। शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा, नगर उपप्रमुख नरमाया कार्की, वडा नम्बर ४ का वडा अध्यक्ष विष्णु प्रसाई, ६ नम्बर वडाका अध्यक्ष मनोज खुलाल कार्की, वडा नम्बर ८ का अध्यक्ष सन्त कुमार फेउदेन, संस्थाका अध्यक्ष मोहन मैनाली, कार्यकारी प्रमुख नवीन ओली लगायतले १८ वटा दीप प्रज्वलन गरेर १८ औँ वार्षिक साधारण सभाको उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै नगर प्रमुख थोप्राले नगरका ३० देखि ३५ हाराहारीका विभिन्न प्रकृतिका सहकारी मध्य छिमेकी सहकारी तुलनात्मक रूपमा अन्यभन्दा अब्बल रहेको बताए । उनले भने, ‘आर्थिक कारोबार, पूर्वाधार निर्माण, सेवा क्षेत्र, कुशल नेतृत्व का कारण छिमेकी बचत तथा ऋण सहकारी संस्था अन्य सहकारीको तुलनामा अब्बल छ भन्ने कुरामा मलाई दुविधा छैन।’ अरु सहकारी कस्तो हुनुपर्छ भनेर सामान्य ढङ्गले हेर्नका लागि छिमेकी सहकारी काफी भएको उनले बताए ।

छिमेकी सहकारीले गत आर्थिक वर्षमा नेपाल सरकारलाई ५७ लाख राजस्व भुक्तान गरेको छ। शिवशताक्षी नगरपालिकामा कारोबार र आम्दामी खर्चका हिसाबले सबैभन्दा बढी राजस्व बुझाउने छिमेकी बचत तथा ऋण सहकारी संस्था सम्भवत पहिलो सहकारी हो ‌‌।

कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, ४ नम्बर वडाका अध्यक्ष विष्णु प्रसाई, ८ नम्बर वडाका अध्यक्ष सन्त कुमार फेउदिन लगायतले छिमेकी बचत तथा ऋण सहकारी संस्थाले १८औं वार्षिक साधारण सभाको वार्षिक प्रतिवेदन हेर्ने हो भने बैंक र सहकारीमा खासै भिन्नता आफूहरूले नपाएको बताए ।

सहकारीका सदस्यहरूमा प्राणघातक रोग लागे, सडक दुर्घटनामा परे, शल्यक्रिया, सदस्यको मरणरप्रान्त परिवारका सदस्यलाई प्रदान गर्दै आएको मानो चामल र आर्थिक सहायता कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन कार्यविधि निर्माण गरेर कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।

संस्थाका उपाध्यक्ष उदय प्रकाश राईले स्वागत गरेको कार्यक्रम अध्यक्ष मोहन मैनालीको अध्यक्षतामा भएको थियो। स्थानीय झिलझिले माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न १८ औँ वार्षिक साधारण सभामा ८८५ सदस्यको सहभागिता थियो। कार्यक्रमको सञ्चालन सञ्चालक समितिका सदस्य द्वय बिनोद सापकोटा र संगीता कोइराला सुवेदीले गरेका थिए ।

यसैबीच सहकारीका पाँचैवटा अन्य सेवा केन्द्रमा पनि साधारण सभा भएको थियो । यसैबीच वर्षेनी पाँचवटा विधामा सहकारीमा आबद्ध व्यक्तित्वलाई पुरस्कृत गर्दै आएका यज्ञराज ओली (गोपाल) यस वर्ष संस्थाका उपाध्यक्ष उदय प्रकाश राईलाई सम्मान गरेका छन्। उनले नगद द्वारा राईलाई सम्मान गरेका हुन् । ओलीले बर्सिनी छिमेकी बचत तथा ऋण संस्थामा आबद्ध भएका इमान्दार कर्मचारी, सेयर सदस्य, असल बचत कर्ता तथा ऋणी लाई जनही नगद ५१०० सहित पुरस्कृत गर्दै आएका थिए । राईलाई नगर प्रमुख थोप्रा, उपप्रमुख कार्की, सम्मान गर्ने व्यक्ति यज्ञराज ओलीले दोसल्ला, फुलमाला अबिर र सम्मानपत्रद्वारा सम्मान गरेका थिए।

साधारण सभाको समापन साउन १७ गते केन्द्रीय कार्यालय झिलझिलेमा हुनेछ । साथै साधारण सभामा एक दिने निःशुल्क आँखा शिविर पनि सञ्चालन गरिएको थियो। ओम साई पाथिभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा २५६ जनाले आँखाको निःशुल्क परीक्षण गराएका थिए। आँखा परीक्षण गराएकामध्ये १०० जना जेष्ठ नागरिकलाई सहकारीले निःशुल्क औषधि र चस्मा प्रदान गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here