बिर्तामोड ।
झापाको बिर्तामोड –३ सैनिकमोडमा भाक्का दिवस मनाइएको छ ।
भाक्का दिवसको अवसरमा आयोजित भाक्का उत्सवमा सर्वसाधारणले भाक्का खाएका छन् । पूर्वेली मजदुर यातायात प्रालि र बन्दगी युवा परिवारले बिर्तामोड– ३ सैनिकमोडको विराट सहकारी भवन अगाडि आयोजना गरेको भाक्का उत्सवमा भाक्का खानेहरुको उल्लेख्य भीड लागेको थियो । आयोजकले दुई सयको सहभागिता हुने अपेक्षा गरे पनि करिब एक हजार जनाले सहभागिता जनाएका थिए ।
तराईको लोकप्रिय परिकारका रुपमा स्थापित भाक्का चिसो मौसममा खाने चलन छ । स्वादिष्ट तातो भाक्काको स्वाद लिन बिहानैदेखि भाक्का उत्सवमा सर्वसाधारणहरुको भीड लागेको थियो । स्थानीय राजवंशी महिलाहरुले सहभागीहरुलाई भाक्का बनाएर खुवाएका छन् ।
बिर्ताबजारस्थित विराट सामुदायिक सिकाई केन्द्र र हिमालय एभरेष्ट इन्सुरेन्स प्रालिको सहयोगमा आठौ राष्ट्रिय भाक्का दिवस मनाइएको पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरि बास्कोटाले जानकारी दिए । उनका अनुसार ८५ केजी चामलको पिठोबाट भाकका बनाइएको थियो ।
भाक्का उत्सवमा सर्वसाधारणलाई केराको पातमा भाक्कासंगै टमाटर र धनियाको अचार वितरण गरिएको थियो । बन्दगी युवा परिवारका अध्यक्ष धनसिंह राजवंशीको अध्यक्षता तथा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख उमानाथ ओली , नेकपा एमालेका बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई , पत्रकार इन्द्रसिंह राजवंशीले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, जनप्रतिनिधिहरु शर्मिला राजवंशी , जगतबन्धु राजवंशी , लक्ष्मी रोक्का , विराट बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक रुद्र सिटौला, जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज गणेश पौडेल, बिर्तामोड नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
प्रविण राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरि बास्कोटाले गरेका थिए ।