भद्रपुरमा ‘भाक्का पीठ उत्सव’ पुस २८ मा

0
18

भद्रपुर ।

झापाको भद्रपुरमा यही पुस २८ गते भाक्का पीठ उत्सव मनाउने भएको छ । राजवंशी समाज विकास समिति झापाले राजवंशी समुदायको मौलिक खानाहरूको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले भाक्का पीठ उत्सव गर्न लागेको हो ।

सो उत्सवमा पौराणिक खानाहरूको पेल्का, फोगो, सुकाती, खारी र सिदलको साना जस्तो खानाहरूको प्रवर्द्धन तथा संरक्षण मुख्य उद्देश्य रहेको राजवंशी समाज विकास समिति झापाका अध्यक्ष उत्तमकुमार राजवंशीले जानकारी दिए । यहाँ पहिलादेखि नै भाक्का दिवस र उत्सव मनाइँदै आइरहेको छ । तर, यसपल्ट भाक्कासँगै पिठोको परिकारलाई पनि उत्सवमा समावेश गरिएको रासविसका अध्यक्ष राजवंशीले बताए ।

छोरी माइती आएर ससुराली घर फर्किदा कोसेलीको रुपमा पिठोलाई पठाउन चलन रहँदै आएको रासविसका उपाध्यक्ष जीतलाल राजवंशीले बताए । पुस २९ गते राष्ट्रिय भक्का दिवस मनाइरहँदा २८ गते यसलाई उत्सव रुपमा मनाउने निर्णय गरिएको र यसलाई प्रत्येक वर्ष निरन्तरता दिने रासविसका राजकुमार राजवंशीले बताए ।

भद्रपुर ८ स्थित होटेल डेग्लोमा परिसरमा आयोजना गरिने उत्सवमा २५ जनाले सामूहिक रुपमा भाक्का बनाउने जनाइएको छ । ३०० केजी पिठोको भाक्का खुवाउने योजना छ । उत्सव मनाउने अन्दाजी चार लाख बढी खर्च हुने रासविसका अध्यक्ष राजवंशीले बताए ।

उत्सवमा राष्ट्रिय कलाकार टङ्क बुढाथोकी, स्थानीयसहित भारत पश्चिम बङ्गालको सिलिगुढी, दार्जिलिङ, आसामका जातीय सांस्कृतिक कलाकार टोलीको सहभागिता रहनेछ । यसको लागि तयारी धमाधम भइरहेको जनाइएको छ । पूर्वी तराईका राजवंशी, ताजपुरिया, गनगाईलगायतका आदिवासी जातिको मौलिक परिकार भाक्कालाई प्रवर्द्धन गर्नका लागि सुरु गरिएको भाक्का दिवसका अवसरमा जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरिँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here