पोखरा ।
मुलुकभरका जिल्लामध्ये झापा जिल्ला उत्कृष्ट जिल्लाको रुपमा सम्मानित भएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको सत्रौँ वार्षिक साधारण सभाको अवसरमा गत आर्थिक वर्षको कार्यसम्पादन, मूल्याङ्कन, संगठन विस्तार लगायतका विषयमा उत्कृष्ट बनेको नेपाल पुस्तक तथा स्टेसरी व्यवसायी महासङ्घ जिल्ला कार्य समिति झापालाई सम्मान गरिएको हो।
पोखराको होटल पौवामा शुक्रबारदेखि सुरु भएको सत्रौँ वार्षिक साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले महासंघका झापा अध्यक्ष बिनोद सापकोटालाई दोसल्ला, माला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन्।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको केन्द्रीय सत्रौँ वार्षिक साधारण सभामा महासङ्घका केन्द्रीय प्रतिनिधि, जिल्ला शाखाका अध्यक्ष सचिव लगायत ३०० बढी प्रतिनिधिको सहभागिता थियो। साधारण सभामा विभिन्न जिल्लाका कार्यसमितिहरूलाई उत्कृष्ट कार्यको लागि सम्मान गरिएको छ।
झापा जिल्लाको कार्यसमिति एकदमै सक्रिय, प्रभावकारी, संगठन निर्माणमा अब्बल भएको कारण र महासङ्घको कार्यप्रति आफ्नो उत्कृष्ट योगदान दिएको महासङ्घका केन्द्रीय अध्यक्ष शिवसागर शर्माले बताए । यस सम्मानले झापा जिल्लाको पुस्तक तथा स्टेसनरी व्यवसायलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको उनले बताए ।
महासङ्घका अध्यक्षले झापा जिल्लाको कार्यसमितिका सदस्यहरूलाई आभार व्यक्त गर्दै भने, “तपाईंहरूको अथक परिश्रम र समर्पणले महासङ्घको कार्यलाई सशक्त बनाएको छ। यस सम्मानले हामीलाई अझ बढी जिम्मेवार बनाउँछ।”
साधारण सभामा नेपालका ५७ जिल्लाका पुस्तक तथा स्टेसनरी व्यवसायीहरूको सहभागिता रहेको थियो । साधारण सभामा पुस्तक तथा स्टेसनरी व्यवसायको क्षेत्रमा नयाँ दिशा र चुनौतीहरूको बारेमा व्यवसायीहरू बीच व्यापक छलफल भएको थियो।
कार्यक्रममा व्यवसायसँग जोडिएका पुस्तक र स्टेसनरी सामग्रीको व्यापारमा नयाँ प्रविधिहरू, बजारका सम्भावना र चुनौतीका विषयमा पनि जानकारी आदान प्रदान गरिएको थियो ।
महासङ्घका केन्द्रीय अध्यक्ष शिवसागर शर्माको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटीले स्वागत मन्तव्य राखेका थिए महासचिव विष्णु पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख समेत रहेका नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी व्यवसायी महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष धनराज आचार्यले सातवटै प्रदेशको आगामी प्रदेश अधिवेशन पोखरामा गर्न सार्वजनिक रुपमा आह्वान गरे।