आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा । मान्यता छ कि माघ शुक्ल पक्षको पञ्चमी तिथिमा माता सरस्वतीको अवतरण या प्राकट्य भएको हो । हिन्दु सनातन धर्मावलम्बीहरुमा आज विद्या, बुद्धि, वाणी तथा कलाकी अधिष्ठातृ देवी माता सरस्वतीको पूजा, आराधना, बन्दना, उपबास, नाचगान गरी माताको प्राकट्य उत्सव मनाउने धार्मिक प्रचलन छ । यस वर्षको वसन्त पञ्चमी फेब्रुअरी २ तारिख अर्थात् माघ २१ गते सोमबारको दिन परेको छ ।
ज्योतिष शास्त्रका अनुसार सरस्वती पूजाको शुभ मुहुर्त सोमबार बिहानको ९ बजेर ३९ मिनेटदेखि मंगलबार बिहानको ७ बजेर ७ मिनेट सम्म रहेको छ । माता सरस्वती विद्या, बुद्धि र ज्ञानकी खानी हुनुहुन्छ । अतः हरेक विद्यार्थी या नयाँ ज्ञान आर्जन गर्न इच्छुक श्रद्धालुले माताको उपासना, आराधना र कठोर साधना समेत गर्छन् । आज हरेक शैक्षिक संस्थाहरुमा धुमधामका साथ गुरु पुरोहितको सहायतामा मूर्ति स्थापित गरी माताको विधिपूर्वक पूजा–अर्चना, मन्त्र उच्चारण, भजन, आरती गरिन्छ ।
नयाँ कार्य थालनीका लागि आजको दिन अति शुभ हुने भएकोले बालबालिकाको अक्षर आरम्भ र साना नानीहरुको नाक, कान छेड्ने पनि प्रचलन छ । मान्यता छ कि आज गरिएको हरेक शुभ कार्यमा माता सरस्वतीको आशीर्वाद प्राप्त हुन्छ । हातमा फूल–प्रसाद बोकेर रंगीचंगी वस्त्रमा प्रफुल्लित छात्रछात्राहरुको बिहानैदेखिको चहलपहलले सबैको जीवनमा छुट्टै आनन्दको अनुभूत गराउँछ ।
हिन्दु धार्मिक ग्रन्थहरुमा उल्लेख छ कि सृष्टि उत्पतीकालमा श्री बिष्णु भगवानको निर्देशन अनुसार श्री ब्रम्हाजीले पृथ्वीमा मनुष्य जातिको रचना गर्नुभयो । एक पटक ब्रह्माजी पृथ्वीलोकमा भ्रमण गर्न आउँदा ज्ञात भयो कि आफूद्वारा सिर्जना गरिएका मनुष्य र वन्यजन्तु सबै शान्त थिए । प्राणीमा बोल्ने शक्ति थिएन र कुनै हलचल समेत थिएन । त्यो देखेर ब्रम्हाजीले श्री बिष्णुजीको आदेश अनुसार आफ्नो कमन्डलुबाट पानीको केही छिटा छर्किनुभयो । त्यस जलको छिटाको अलौकिक प्रकाशको मध्यबाट एक चतुर्भुजी देवी प्रकट हुनुभयो । जसको एक हातमा पुस्तक, अर्कोमा बिणा, अर्कोमा स्पटिकको माला र अर्को आशीर्वाद दिने मुद्रामा हुनुहुन्थ्यो । स्वरकी र सुरकी धनी उहाँनै माता सरस्वती हुनुहुन्थ्यो भने प्राकट्य भएको तिथि वसन्त पञ्चमी अर्थात् आजकै दिन थियो ।
श्वेत वस्त्रमा सजिएकी चार हात भएकी बिणा र पुस्तक धारण गरेकी यस्ती अनुपम देवी सरस्वतीले ब्रम्हाजीको अनुरोधमा आफ्नो हातमा रहेको बिणा बजाएर मधुर आवाज फैलाउनुभयो । बिणाको सुमधुर ध्वनिबाट सृष्टिमा जीवनको सञ्चार भयो । सबैलाई स्वर एवम् वाक्य शक्ति प्राप्त भयो । मनुष्य एवम् जीवजन्तुहरु एकआपसमा विचारको आदानप्रदान गर्न थाले । नदी, झरना आदि कलकल आवाज गर्दै बग्न लाग्यो । हावा पनि सर–सर गर्दै बहन लाग्यो । वातावरणमा चारैतिर मानौ मधुर संगीत गुञ्जन लाग्यो । कैयौं समयदेखि ब्याप्त सन्नाटा अन्त्य भयो । यसरी माता सरस्वतीको प्राकट्य सँगै सृष्टिमा शब्द र संगीतको ताल, सुर, लय, राग, रागिनी आदिको पादुर्भाव भएको हो । अतः माता शारदालाई वाक्य बाधिनी, बिणा बाधिनी र संगीत शास्त्रकी अधिस्ठातृ रुपमा सात प्रकारको स्वरद्वारा उनको स्मरण गरिन्छ ।
विशेषतः नेपाल र साथमा पूर्वी भारत, पश्चिम उत्तर बंगलादेश र कैयौं राष्ट्रमा वसन्त पञ्चमी महान पर्वको रुपमा मनाइन्छ । विद्यार्थी वर्गले मात्र नभइ कवि, लेखक, संगीतकार, कलाकार सबैले सरस्वतीको प्रथम बन्दना गछन् । जसले रचनात्मक ऊर्जा शक्ति उत्पन्न हुन्छ । माता सरस्वतीको बाह्र वटा नामहरु भारती, सरस्वती, शारदा, हंसबाहिनी, बागेश्वरी, जगदात्री, चन्द्रघन्टा, ब्रम्हचारिणी, बुद्धिदात्री, बरदायिनी उच्चारण गरेर बिधिपूर्वक माताको आह्वान गरिन्छ । वसन्त पञ्चमी माता सरस्वतीको जन्मोत्सव दिवस भएकोले साचो मनले प्राथना गरेमा सेतो वस्त्रमा सजिएर आफ्नो प्रिय बहान हंसमा सवार भएर माताको पृथ्वीमा आगमन हुन्छ भन्ने जनविश्वास रहेको छ ।
गोरो वर्णकी माता सरस्वतीको चारभुजा छन् । एक हातमा बिणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र अर्को हात अभय मुद्रामा सुशोभित छन् । यिनको शिरमा मुकुट, कानमा कुन्डल र गलामा मोतिको माला अति शोभनीय छन् । माताको वस्त्र र हंसको सेतो रंग सत्यगुणि प्रतिभा स्वरुपा हो । हाँस विवेक र शान्त चित्तको प्रतिक हो । कमल गतिशिलताको प्रतिक हो । कमलमा आशित माताको शान्त मुद्राले निष्पक्ष जीवन जिउने प्रेरणा दिन्छ । हातमा पुस्तक सबै विधा जान्न र सिक्ने सिख प्रदान गर्दछ । बिणाको मधुर स्वरले मनुष्य तनको रोग, शोक, सन्ताप र मनमा सञ्चित बिकार टाढा भगाउँछन् । श्वेत वस्त्र धारण गर्ने अनुपम सौन्दर्यशाली माताको अङ्ग–अङ्गबाट निस्कने उज्ज्वल प्रकाशको किरणले भक्तहरुको अज्ञानता र अन्धकार हटाइ उत्तम बिध्या, सदबुद्धी, यश, कृति, वैभव र सिद्धी प्रदान गर्दछ ।
देवी सरस्वतीलाई सम्मान गर्दै शिक्षा, ज्ञान, कला, संगीत र बाणीकी देवी सरस्वतीको घर–घरमा विधिपूर्वक पूजा आराधना, साधना, उपबास र मन्त्रोउच्चारण गरिन्छ । पूजाको निमित्त माता सरस्वतीको मूर्ति घरमा ल्याइन्छ । आशनमा पहेलो कपडा ओछ्याएर मूर्तिको स्थापित गरिन्छ । देवीको आचमन गरेर दूध र जलले स्नान गरिन्छ र श्रृङ्गारको वस्त्र र सिन्दुर अर्पित गरिन्छ । माताको चरणमा गुलाल लगाएर सेतो र पहेँलो वस्त्र पहिराइन्छ । प्रसाद, फल या पहेलो फूल चढाएर आरती गरिन्छ । विद्यार्थी र साहित्यकारले पुस्तक, कलम, पेन्सिल आदिको पूजा गर्दछन् भने व्यापारीहरु आफ्नो व्यापारको हिसाब खातालाई पुज्दछन् । साहित्य र संगीत बिधाका पारखीहरु आफूले प्रयोग गर्ने बाध्यबाधन सामग्रीमा माताको आह्वान गर्दछन् । साँझमा विशेषतः खिरको भोग लगाइन्छ, सबैमा प्रसाद बाडिन्छ भजन किर्तन, पाठ, जप ध्यान र नृत्य गान गर्दै पूजा सप्पन्न गरिन्छ ।
देवी भागवतका अनुसार सरस्वतीको पूजा–आराधना त्रिदेव ब्रम्हा, बिष्णु, महेश्वरले पनि गर्नुहुन्छ । देवी पुराणमा माता सरस्वतीलाई सावित्री, गायत्री, सति, अम्बिका र लक्ष्मीको रुपमा पुजिन्छ । वैदिक कालदेखि नै देवी सरस्वतीको बन्दना, उपासना र साधना सुर असुर, देब, दैत्य, मनुष्य सबैले गर्दै आएको पाइन्छ । कला र संगीतका साधकहरुले यस दिन ब्रम्हामुहुर्तमा माता सरस्वतीको उपासना, मन्त्र उच्चारण र निल साधना गरेमा बेसुरा व्यक्तिको कन्ठमा माताको बास हुन्छ र उसलाई शब्द, वाणी, सुर, लय र तालको ज्ञान हुन्छ । महाकवि कालिदासलाई भगवती सरस्वती कै कृपाले ज्ञान, विद्या, बुद्धि र कवित्व शक्ति प्राप्त भएको थियो भन्ने विश्वास छ ।
माघ शुक्ल पक्षको पञ्चमी तिथिदेखि ऋृतु परिवर्तन हुँदै चिसो मौसमको अन्त्य र बसन्त ऋतुको शुरुवात हुन्छ । बसन्तको आगमन सँगै वातावरणमा शितलता, वृक्षहरुमा हरियाली, नवीन पालुवाहरु साथमा अनेकौं फूलहरुको मुस्कुराहटले समस्त प्राणी जगतमा आशा र उमँग भरिरहेको महशस हुन्छ । हिन्दु धर्मशास्त्र अनुसार बिहानको ३ बजेर १० मिनेटदेखि ३ बजेर १५ मिनेटसम्मको ५ मिनेटको समयमा माता सरस्वती हरेकको जिब्रोमा निवास गर्नुहुन्छ । त्यो पाँच मिनेटको समयमा गरिने नियमित साधना र तपस्याले हामीलाई प्रत्यक्ष रुपमा माता सरस्वतीको शुभ आशीर्वाद प्राप्त हुन्छ जसले हाम्रो मनोकामना पूरा भइ सिद्धी प्राप्त हुन्छ ।
सरस्वती पुजाको दिन माताको पूजा, बन्दना र उपबास गरिए जस्तै हरेक दिन माताको आराधना, जप, ध्यान, स्मरण गर्नुपर्दछ । माता सरस्वती बाणीको अधिस्ठातृ देवी हुनुहुन्छ र प्राणीको जिब्रोमा बास गर्नुहुन्छ । अतः हामिले असल, सत्य र सकारात्मक बाणीमात्र उच्चारण गर्नुपर्दछ । माता सरस्वतीले हामी सबैलाई ज्ञान, वैभव, यश, विवेक र ऊर्जा प्रदान गर्नुहोस् । वसन्त पञ्चमीको सबैमा हार्दिक शुभकामना ।