महारानीगञ्ज माविको ६७ औं वार्षिकोत्सवमा विविध कार्यक्रम

0
5

अर्जुनधारा ।

झापाको अर्जुनधारा–११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयको ६७औं वार्षिकोत्सव बुधबारदेखि शुरु भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

कार्यक्रमअन्र्तगत पहिलो दिन सदनस्तरिय खेलकुद प्रतियोगिता, दोस्रो दिन सदनस्तरिय सांस्कृतिक, साहित्यिक तथा हाजिरी जवाफ प्रतियोगिता र तेस्रो दिन विद्यालयमा जारी दोस्रो कृष्णप्रसाद डाँगी स्मृति नगरस्तरिय अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाइनल खेल हुने प्रधानाध्यापक मनबहादुर लिम्बूले जानकारी दिए ।

त्यसैगरी कार्यक्रममा विद्यालय प्राङ्गणमा निर्माण हुने मञ्च निर्माण स्थलमा भूमिपुजन गरिएको थियो । उक्त मञ्च निर्माण गर्न प्रारम्भिक चरणमा अर्जुनधारा नगरपालिकाबाट तीन लाख रुपैयाँ बजेट विनियोजन भएको बताइएको छ ।

सोही कार्यक्रममा शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष प्रेमराज इङनाम, सदस्य इन्दिरा गिरी र पूर्व शिक्षक खगेन्द्र चौहनलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा विद्यालयले प्रत्येक वर्ष प्रदान गर्ने सूर्य–देवी उत्कृष्ट शिक्षा पुरस्कार–२०८०बाट कक्षा–५का छात्र सौगात गौतमलाई पुरस्कृत गरिएको थियो । विपन्न तथा जेहेन्दार एक जना विद्यार्थीलाई सम्मान पत्रसहित नगद पुरस्कार तीन हजार एक सय राशी रहेको उक्त पुरस्कार सर्यप्रसाद+देवी भट्टराई दम्पत्ती र संस्थापक रोहीत भट्टराईले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा नगर शिक्षा, युवा तथा खेलकुद विकास शाखाकी कर्मचारी समिरा दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए । शिक्षक सूर्यप्रसाद सापकोटाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाधर चौलागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here