शिवसताक्षीमा रेडक्रसको एतिहासिक प्रथम नगर सम्मेलन सम्पन्न

0
85

झिलझिले।

आगामी दिनमा मानवीय सेवाका क्षेत्रमा अझ ससक्त र तल्लीन रहने प्रतिबद्धता जनाउँदै नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाले नगरको जुनियर तथा युवा रेडक्रसकर्मीको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।

समाजमा हुने प्राकृतिक, सामाजिक र मानवीय सेवाका विविध गतिविधिलाई अझ प्रभावकारी सञ्चालन गर्ने उद्श्यले सम्मेलनको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका सभापति गोविन्द काफ्लेले बताए ।

सम्मेलनमा शिवसताक्षीका सामुदायिक र संस्थागत गरि २३ विद्यालयका विद्यार्थी र शिक्षक नायकको सहभागिता थियो । सम्मेलनमा नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका पदाधिकारी र सदस्यको पनि सहभागिता थियो । बालबालिकाहरुलाई सानै उमेर देखि मानवीय क्षेत्रमा लाग्न प्रेरित गर्ने र उनीहरु भित्र रहेको सकरात्मक भावनाको विकास गरि नगरका प्रत्येक विद्यालयमा जुनियर/युवा रेडक्रस सर्कल गठन गर्ने सम्मेलनको मुख्य लक्ष्य रहेको छ ।

सम्मेलन पूर्व नगरका १० विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन भएको छ । समेलनले हरेक वर्ष रेडक्रस युवा सर्कललाई स्वयंसेवा दूत घोषणा गरी देशभरिका अन्य जुनियर सर्कललाई मानवीय सेवाका विषयमा बहस तथा पैरवी गर्न क्षमता अभिवृद्धि सञ्चालन गर्ने सभापति काफ्लेले बताए ।

जलवायु परिवर्तन, खानेपानी तथा सरसफाइ, अन्तर्राष्ट्रिय मानवीय कानूनमा युवाको भूमिका, विपद् व्यवस्थापन, भूकम्पीय सुरक्षा, आगलागी नियन्त्रणका विषयमा विगतका अनुभव आगामी दिनमा गर्नुपर्ने कामका बारेमा व्यावहारिक कक्षासमेत सञ्चालन भएको सभापति काफ्ले जानकारी दिएका छन् ।

सम्मेलनको प्रमुख अतिथि रहेका शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ्ग थोप्रा ले सम्मेलनको उद्घाटन गर्दै मानवीय सेवाका क्षेत्रमा युवा स्वसंसेवीको निःस्वार्थ सेवाले शिवसताक्षी रेडक्रस सोसाइटीको गरिमा उँचो भएको बताए ।

थोप्राले भने,‘ गोविन्द सरको हातमा रेडक्रसको जिम्मेवारी आएपछि धेरै मानवीय सेवाका कामहरु शिवसताक्षीमा भएका छन् । यो गरिमालाई बचाई राख्नुहोस् । खुम्चन नदिनुहोस् । नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीलाई हरतरहको सहायोगको योजना बनाएको छ ।’ नगर प्रमुख थोप्राले विपत सम्बन्धीका सवै तथ्याङक नगर संग भन्दा पनि रेडक्रस संग रहने गरेको बताए ।

कार्यक्रममा गोलोक गोवर्दन गौशालाका अध्यक्ष नन्दकिशोर भारद्धाज, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल, नगर उपप्रमुख नरमाया कार्की, नेपाली कांग्रेसका नगर सभापति अशोक बस्नेत, एमालेका नेता डिल्ली रमण खतिवडा, पर्शुराम ढुँगाना लगायतले सम्मेलनको भव्य सफताको शुभकामना व्यक्त गरेका थिए ।

शिवसताक्षी नेपाल रेडक्रस सोसाइटीका ३ सय ९६ आजिवन सदस्य छन् । सम्मेलन पछि भानु माद्यमिक विद्यालय पाराबारीका शिक्षक गणेश चौलागाईँको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी युवा उपसमिति गठन भएको छ । यो समिति ११ सदस्यीय रहेको नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाले जनाएको छ ।

सम्मेलनमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले रेडक्रस अभिमुखिकरण, उपमन्त्री प्रकाशचन्द्र खरेलले युवा रेडक्रस सर्कल संचालन विधि, कोषाध्यक्ष ओम प्रकाश गौतमले प्राथमिक उपचार ‘डेमो’ र उपशाखा सभापति गोविन्द काफ्लेले शिक्षक नायकले खेल्नुपर्ने भुमिकाका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रमको सहजिकरण सचिव बद्री खनाल र स्वागत उपसभापति निर्मला गिरीले गरेकी थिइन् । सम्मेलनमा राष्ट्रिय रमणिय आदर्श माद्यमिक विद्यालयका विद्यार्थीले सचेतना मुलक स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गोलोक गोवर्दन गौशाला, विनोद सापकोटा, इश्वरी दवाडी, खड्गवहादुर कार्की र छविलाल दवाडीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । यसैविच सताक्षी गुरुकुलमका विद्यार्थीका लागि ‘फ्रस्टएड किट बक्स’ प्रदान गरिएको थियो ।

सम्मेलनको प्रभाव सम्पन्न भएको दुई दिन पछिनै देखापरेको छ । उदाहरणको रुपमा भानु मावि लालझोडा र भानु मावि पाराबारीले विद्यालयमा युवा रेडक्रस सर्कल गठन गरेका छन् । रेडक्रस उपशाखा शिवसताक्षीका अनुसार अन्य विद्यालयले पनि गठन प्रकृयाका लागि उपशाखा सग सम्पर्क गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here