बिराटनगर,
सिन्धुलीको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले ज्येष्ठ नागरिकको सम्मान र हेरचाह गर्नु नगरपालिकाको कर्तव्य रहेको बताएका छन्।
नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखाले आयोजना गरेको ज्येष्ठ नागरिक तथा स्याहारकर्ताहरुको लागि अल्जाईमर्स रोग र हेरचाह सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले जेष्ठ नागरिकहरु ज्ञान र अनुभवका खानी भएकाले उनीहरुको सम्मान र हेरचाह गर्नु नगरपालिकाको कर्तव्य भएको बताएका हुन्।
यस्ता खालका कार्यक्रमले उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक सहयोग प्रदान गर्नका लागि एक महत्वपुर्ण कदम रहेको उनले बताए।
कार्यक्रमको अवसरमा नगर प्रमुख र उप प्रमुख मन्जु देवकोटाले पदवहाली भएको तेस्रो वार्षिक उत्सवको दिन परेको भन्दै कार्यक्रममा सहभागी भएका मध्य सबैभन्दा जेष्ठ नागरिक ९२ वर्षका भिम बहादुर कार्कीबाट आशिर्वाद ग्रहण गर्दै उपस्थित सम्पुर्ण पुरुष ज्येष्ठ नागरिकहरुलाई ढाका टोपी र महिला ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।
बालबालिका तथा समाज कल्याण शाखा प्रमुख, सामाजिक विकास शाखा प्रमुख ,सिन्धुली अस्पतालका एमडिजिपि डा.प्रेरित देवकोटा, भिमान स्वास्थ्य चौकीका एविविएस डा. सुजन विक्रम ढकाल, सम्बन्धित शाखाका कर्मचारी र ७० जना भन्दा बढी ज्येष्ठ नागरिक बुबाआमाहरुको उपस्थिति रहेको थियो।