बिर्तामोड ।
स्वतन्त्र नागरिक समाज बिर्तामोडले बिर्ताबजार सरसफाइ गरेको छ।
स्वतन्त्र नागरिक समाजको आयोजना तथा स्वतन्त्र युवा नागरिक समाज र अनारमनी युथ क्लबको सहभागितामा बिर्तामोड – ३ बिर्ताबजारको नगरपालिका अगाडिदेखि अनारमनी पब्लिक क्याम्पस हुँदै अधुवा पुलसम्म बजार क्षेत्रको सरसफाइ गरिएको थियो।
स्वतन्त्र नागरिक समाजका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रममा किरात याक्थुङ चुम्लुङ झापाका सचिव भीममाया नेम्वाङ कन्दङवा, स्वतन्त्र नागरिक युवा समाजका अध्यक्ष केशव भण्डारी, स्वतन्त्र नागरिक समाजका सचिव रुमिला राई, कोषाध्यक्ष ससिता राई, अनारमनी युथ क्लबका सचिव चेतनाथ निरौला, शिवम सोराली मगरलगायत सदस्यको सहभागिता रहेको थियो ।
स्वतन्त्र नागरिक समाजका अध्यक्ष कन्दङ्वाले संस्थाको साप्ताहिक श्रमदान अभियान अन्तरगत हालै गठित संस्थाले पहिलो पटक आफू र आफ्नो वरिपरिको वातावरण सफा राखेर निरोगी बन्न जनचेतना जगाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए।
उनलेे संस्थाले ‘प्रकृति र संस्कृतिको रक्षा गरौं श्रमदानबाट देश बनाउने प्रण गरौं’ भन्ने नाराकासाथ शुरु गरिएको अभियानमा स्थानीय भौतिक पूर्वाधार संरक्षण, बेथिति विरुद्धका कार्यक्रमलाई निरन्तरता र व्यापकता दिंदै जाने बताए।